ह्युस्टन (टेक्सास)- नेपाल अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टरले एक समारोहको आयोजना गरी शनिबार बुद्ध जयन्ती मनायो । बुद्धको मुर्तिमा माल्यार्पण र दिप प्रज्वलित सहित विदेशमा रहेर पनि आफ्नो भाषा , संस्कृति र साहित्यलाई जगेर्ना गर्न पाउँदा निकै खुशी देखिएका थिए ह्युस्टवासी नेपालीहरू ।
कार्यक्रममा तीनजना बाल प्रतिभाहरुको प्रस्तुति निकै रोचक थियो । अमेरिकामै जन्मे हुर्केका साना बाबुहरु प्रोमिथस त्रिपाठीले गीत , इप्सित आचार्यले बुद्धको जिवनी र सार्थक बरालले कविता वाचन गरेका थिए ।
प्रमुख अतिथिको आसनबाट पत्रकार तारा बरालले मन शुद्ध, स्वच्छ, शान्त र सकारात्मक राख भन्ने बुद्धको मूल सन्देश आत्मसात गर्न पर्ने वताए । उनले अमेरिकामा जन्मेका छोराछोरीहरुलाई आफ्नो भाषा , संस्कृति र सभ्यता बुझाउन पनि अनुरोध गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा राजेन्द्र श्रेष्ठ र विलोल पोखरेलले बुद्धको जिवनीको विविध पक्षमाथि प्रकाश पारेका थिए । त्यस्तै गरी संस्थाकी सल्लाहाकार बिटु केसीले मुक्तक सुनाउँदै बुद्धलाई सही मानेमा अनुशरण गर्ने हो भने झूट नबोल्ने प्रयत्न गर्नुपर्ने बताएकी थिइन् ।
एनएएचका उपाध्यक्ष द्रोण गौतमले सबैलाई बुध्द जयन्तीको शुभकामना दिएका थिए । संस्थाकी उपाध्यक्ष मुना पौडेलले लुम्बिनीका मन्दिरहरुबारे जानकारी गराउँदै सबैलाई स्वागत गरेकी थिइन् ।
आइएनएलएस ह्युस्टन च्याप्टरका अध्यक्ष सतिश त्रिपाठीले सभापतिको आसनबाट यथाशिघ्र बालबालिकाहरुको लागि नेपाली स्कुल संचालन गर्ने जानकारी दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । साथै उनले गजल पनि सुनाए।
ह्युस्टनको अर्थर स्टोरी पार्कमा सम्पन्न भएको कार्यक्रमको संचालन आइएनएलएस ह्युस्टन च्याप्टरका महासचिव मोदनाथ सदा र सचिव निलहरी आचार्यले गरेका थिए । उनीहरुले कार्यक्रममा कविता पनि सुनाएका थिए ।
प्रतिक्रिया