मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अख्तियारको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

अख्तियारको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन् । आइतबार चितवन क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा शुद्धीकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरु दर्जनौँ काण्डमा मुछिएकाले उनीहरुको नैतिकता धर्मराएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै उनले भने, ‘उहाँले नयाँ अनुहारको ढोङ्ग फुक्नु भएको थियो । जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो । तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्गो भएको छ । जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको षडयन्त्र विफल भएको छ ।’

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धुमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरको भनाइ थियो ।
‘चितवनका जनता सचेत हुनुहुन्छ । उहाँ अब भ्रममा पर्नुहुने छैन । आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन्’, उनले भने, ‘नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ । उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन् ।’

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौँको बार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रष्ट भएको महरले बताए । भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरुक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उनले चिन्ता व्यक्त गरे ।

उनले भने, ‘उपनिर्वाचनको लागि हामी चितवनका टोल–टोलमा छौँ । किन फेरि उपनिर्वाचन हुँदैछ ? भन्ने प्रश्नले हामीलाई घेरेको छ । फोहर सफा गर्न राजनीतिमा आएका हौँ भन्ने नयाँ स्वेतबस्त्रधारीहरू यति चाँडै कुरुप बन्दा उपनिर्वाचनमा आउनुपरेको हो । तपाईंहरूले यो कुरालाई बुझेर फोहर थुपार्नेहरूको विकल्प खोज्न तयार हुनुहोला ।’

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उमेदवार छन् ।