काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सत्ता, शक्ति र सरकारको निरन्तर खबरदारीमा पत्रकारिता क्षेत्र सक्रिय रहनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिताका विषयमा उठ्ने प्रश्न सुन्न र स्वीकार गर्न तयार रहेको उल्लेख गर्दै सुनेका विषयलाई सुधार गरिनेसमेत प्रतिबद्धता जनाए ।
“पत्रकारिता क्षेत्रले उठाउने विषय विश्वसनीय हुनुपर्छ, लोकतन्त्रलाई जीवन्त बनाउन संसद्ले भन्दा ठूलो काम पत्रकारले गर्न सक्छ, पत्रकारितामा लाग्ने सङ्ख्याका आधारमा दक्ष जनशक्ति छैनन्, दक्ष जनशक्तिले पनि काम गरेअनुसार श्रमको मूल्य पाउँदैनन्, राजनीतिक स्थायित्व र दलका गुटगत प्रभावले पनि पत्रकारितामा प्रभाव पारेको छ”, अध्यक्ष पोखरेलले भने ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले सिक्ने र सिकाउने क्रम निरन्तर जारी नराखे पत्रकार ‘फेज आउट’ हुने बताए । सबैको खबरदारी गर्ने पेसामा लाग्ने पत्रकार आफैँ जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
“पत्रकारिता राजनीति केन्द्रितबाट व्यक्ति केन्द्रित हुँदै जान थालेको छ, विषय केन्द्रित गराउन अझै सकिएको छैन,पत्रकारितालाई विषय केन्द्रित बनाउन महासङ्घलगायत सरोकारवाला निकायको ध्यान जानुपर्छ”, प्रा खनालले भने ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबरलाई सञ्चार माध्यमका रूपमा प्रस्तुत हुने अवसर दिन लागिएको जानकारी गराए ।
उनले युट्युबलाई सकारात्मक माध्यमका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
महासंघको पूर्व अध्यक्षसमेत रहेका सञ्चारविज्ञ डा सुरेश आचार्यले हामीले गरेको पत्रकारिताले समाजलाई केही दियो कि दिएन भनी हेर्नुपर्ने समय आएको बताए । समाजका समस्या जनसमक्ष ल्यादिए त्यो समाचार हुने भएकाले नेपाली पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । सञ्चार जगतले स्वनियमनमा पनि ध्यान दिनुपर्ने विज्ञ आचार्यको भनाइ थियो ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारिताले भित्र्याएको विकृति अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारिताका माध्यमबाट महत्त्वपूर्ण काम गर्न सकिने उनको भनाइ थियो ।
महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिता सिर्जनात्मक पेसा भए पनि प्रविधिले ‘कट पेष्ट’ को गति बढ्दा सिर्जनात्मकता मर्न थालेको बताए । समाज परिवर्तनका लागि पत्रकारिताका माध्यमबाट काम गर्न सकिने उनको भनाइ थियो ।
महासंघका महासचिव रोशन पुरीले सञ्चार माध्यममा विषयवस्तुमा लगानी हुन छोडेकाले पनि समस्या आउन थालेको देखिएको बताए । विभागका संयोजक सन्तराम विडारीले यस्ता कार्यक्रमलाई प्रदेश तहसम्म निरन्तरता दिइने बताएका थिए ।
कार्यक्रममा नेपाली पत्रकारिताको विश्वसनीयता खस्कन थालेकाले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने काम गरिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।












प्रतिक्रिया