मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

महेन्द्रनारायण निधि प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान : प्रधानमन्त्री

महेन्द्रनारायण निधि प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताएका छन् ।

निधिको १०१औँ जन्मजयन्तीका अवसर पारेर महेन्द्रनारायण निधि प्रतिष्ठानले प्रधानामन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले विचार, निष्ठा, संस्कृति, अनुशासन र पद्धति सिकाइराख्ने प्रेरणाको अनन्त स्रोतका रूपमा निधि रहेको बताए ।

“राजनीतिमा कहिलेकाहीँ केही व्यक्ति ठूलो पदमा पुग्न पनि सक्छन्, योग्यता र क्षमता भए पनि कोही त्यस्तो पदमा नपुग्न सक्छन्, तर समाजले त्यस्ता व्यक्तिलाई सम्मान गरिरहेकै हुन्छ । पदमा पुगेको व्यक्तिहरू पनि निधिजस्ता व्यक्तित्वका अगाडि झुकेकै हुन्छन्”, उनले भने । विपी कोइराला, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईलगायत नेताले पनि निधिको निष्ठा, संस्कार, समर्पणलाई अनुसरण गर्दै आएको जनाउँदै उनले सबैले निधिलाई सम्मान गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित नभएका निधिको सादगी जीवन सबैका निम्ति प्रेरणादायी रहेको बताए । नयाँ पुस्ताले निधिबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले निधिको मूल्य, मान्यताप्रतिको समर्पण सबैले अनुसरण गर्नुपर्ने बताए ।

गणतन्त्र, सङ्घीयता, समावेशीताको रक्षा गर्दै जनतालाई सुशासन दिनुपर्ने अहिलेको कार्यभार रहेको जनाउँदै उनले वर्तमान अवस्थामा जनता र राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताए । “परिवर्तनलाई उल्ट्याउने प्रयत्न भइरहेको छ, लोकतन्त्रप्रति प्रतिबद्ध शक्ति यस सन्दर्भमा गम्भीर बन्नुपर्छ”, उनले भने, “नेपाली समाजको विविधतालाई विभिन्न तहमा प्रतिविम्बित गर्नुपर्छ, सहभागितामूलक र समावेशी प्रतिनिधित्वलाई अगाडि बढाउनुपर्छ ।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निधि लोकतन्त्रवादी, अहिंसावादी, गान्धीवादी र राष्ट्रवादी नेताका रूपमा रहेको बताए । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेसको विशिष्ट स्थान रहेको उल्लेख गर्दै जनकपुर लोकतन्त्रको केन्द्रमा रहेको बताए । “जनकपुर तराई–मधेसलाई प्रभाव पार्ने स्थानका रूपमा थियो, निधिले मधेसमा लोकतन्त्रमय वातावरण बनाउनुभयो”, उनले भने ।

कांग्रेस नेता विमलेन्द्र निधिले शान्तिपूर्ण आन्दोलनको बाटो अँगाल्नु भनेर निधिले बारम्बार आवाज उठाउँदै आएको बताए । शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्र, सङ्घीयता, समावेशीतालगायत उपलब्धि प्राप्त भएको स्मरण गर्दै उनले सबैले राजनीतिमा शान्तिपूर्ण मार्ग अँगाल्नुपर्ने बताए । परिवर्तनका लागि सशस्त्र सङ्घर्षमा उत्रिएका कांग्रेस र कम्युनिस्ट निधिको विचारअनुसार नै शान्तिपूर्ण राजनीतिमा अवतरण भएको उनले दाबी गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत्सिंह भण्डारीले उच्च आदर्श र मूल्यको नेताका रूपमा निधि रहेको बताए । “सही ढङ्गले राजनीति परिचालन गर्न सकेनौँ भने हामी त्यतिबेला जनताको अगाडि उभिने अवस्थामा हुनेछैनौँ”, उनले भने, “जनताले परिवर्तनको ठूलो अपेक्षा गरेका छन्, आजका दिनमा जनआकाङ्क्षा पूरा गर्ने सङ्कल्प गर्नुपर्छ ।”

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले प्रतिष्ठानले निधिको स्मृतिमा अस्पताल र नर्सिङ क्याम्पस सञ्चालनमा ल्याएको बताए । प्रतिष्ठानले निधिका गान्धीवादी विचारलाई प्रवर्द्धन गर्दै आएको उनको भनाइ छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष भानुभक्त ढकालले निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रेरणादायी व्यक्तित्व रहेको बताए । उनले निधिले अपनाएको जीवन पद्धतिमा हिँड्न सबैले सङ्कल्प गर्नुपर्ने बताए ।