काठमाडौँ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद्हरुले भिभिआइपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको बैठकको शून्य समयमा सांसद् रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए ।
सांसद् पन्तले राष्ट्रपतिको सवारीको पटकपटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् । उनले भने, “म आफैँ पनि एक घन्टा सवारी जाममा परे । जनताले आक्रोश पोख्न थालेपछि म सांसद् हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एक पटकको होइन”, उनले भने, “यो काम सुरक्षा संयन्त्रको हो । सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्र अनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ ।”
सांसद् मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिइन् । सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाइन् ।
भिभिआइपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद् रामहरि खतिवडाले भनाइ व्यक्त गरे ।
प्रतिक्रिया