लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
कतारको लुसाइल रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाका लागि मेस्सीले १ र जुलियनले २ गोल गरे । मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत र जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरेर टीमलाई जित दिलाएका हुन् ।
यो खेलसंगै मेसीले यसअघि लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसंग बराबरी गरे । यसबाहेक मेसीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । विश्वकपमा ११ गोल पुर्याएका मेसीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।
कतारको लुसैल रंगशालामा सम्पन्न खेलमा मेसी र युलियन आल्भारेज चम्किए । अर्जेन्टिनाको जितमा आल्भारेजले दुई गोल गर्दा मेसीले एक गोलसंगै दुई असिस्ट गरे ।
अर्जेन्टिना सन् २०१४ पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । ब्राजिलमा सम्पन्न उक्त विश्वकपको फाइनलमा जर्मनीसंग १–० ले पराजित भएपछि अर्जेन्टिनाले उपविजेतामा चिन्त बुझाएको थियो ।
क्रोएसियालाई हराएसंगै अर्जेन्टिनाले अब उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासंग खेल्नेछ ।
अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले ८-८ गोल गरेका छन् ।
प्रतिक्रिया