चितवन । चितवनमा जारी तेस्रो चरणको निषेधाज्ञा भदौ १५ गतेदेखि हटाउन उद्योगी व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि वैकल्पिक उपायको प्रयोग गरी उद्योग तथा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
उद्योगी व्यवसायीहरुको विभिन्न १६ वटा संस्थाले आइतबार प्रजिअ नारायणप्रसाद भट्टराईलाई संयुक्त ज्ञापन पत्र बुझाएर निषेधाज्ञा हटाउन सुझाव दिएका हुन् । निरन्तरको निषेधाज्ञाका कारण रोगले भन्दा पनि भोक र व्यावसायिक तनावले असामान्य अवस्था सिर्जना हुन सक्नेतर्फ निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् ।
निरन्तरको लकडाउनका कारण अर्काे भयावह स्थिति आउन नदिन निषेधाज्ञाको विकल्प खोज्नुपर्ने उनीहरुले सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरु आधा कर्मचारी राखेर बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने, ई–बैंकिङलाई प्रोत्साहन गर्नुपर्ने, उद्योग वा व्यवसायले जारी गरेको परिचयपत्रका आधारमा कामदारले पूर्ण स्वास्थ्य सतर्कता अपनाएर दुईपाङ्ग्रे सवारीमा एक जना र चारपाङ्ग्रेमा चालकसहित दुई जनामात्रै चढ्न पाउनुपर्ने व्यवस्था बनाउन उद्योगी व्यवसायीहरुले सुझाव दिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए ।
होटल तथा रेस्टुरेन्टबाट टेक अवे तथा होम डेलिभरी सेवामात्रै दिने गरी सञ्चालन गर्न र ठूला होटललाई सशुल्क क्वारेन्टिन तथा आइसोलेसनको रुपमा प्रयोग गर्न सकिने व्यवस्था मिलाउन, भीडभाड नहुने गरी पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर निर्माणजन्य उद्योग व्यवसाय सञ्चालनको व्यवस्था गर्न सुझाव दिइएको छ ।
शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक शिक्षण विधिबाट विद्यार्थीहरुलाई पढाउने व्यवस्थालाई औपचारिक मान्यता दिन र विद्यार्थी भर्ना गरी मासिक शुल्क उठाउन अनुमति दिन आग्रह गरिएको प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले बताए । निषेधाज्ञा हटाइएको एक हप्तापछि परिस्थितिको समीक्षा गर्दै तोकिएको मापदण्ड र न्यून क्षमतामा मात्रै सञ्चालन गर्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन उद्योगी व्यवसायीहरुले आग्रह गरेका छन् ।












प्रतिक्रिया