विचार / ब्लग

मानव बेचबिखन परिभाषा अनि बास्तविकता

प्रकाशित |

मानव बेचबिखन भन्नाले महिला, पुरुष र बालबालिकाहरुको किनबेच गर्नु भन्ने बुझिन्छ । मानव बेचविखन देश भित्र, नाका तथा देश बाहिर हुने गर्दछ । मानव बेचबिखनमा पैसाको लागि मानवको शोषण गरिन्छ । मानव बेचबिखन एक आपराधिक कार्य हो । नियम कानुन बाहेक पनि दुबई,कतार,श्रीलंका,भारत मलेशिया लगायतमा नेपालबाट मानव तश्करी भएका प्रमाणहरु भेटिएका थिए । बिना अनुमति शोषण गर्ने उद्देश्यले देशभित्रै तथा देशबाहिर मानिसको ओसारपसार गर्नु पनि मानव बेचबिखन हो ।

झण्डै १७ वर्षजति अगाडि म सामाजिक कार्यकर्ताको हैसियतले एउटा गैरसरकारी संस्थामा काम गर्थे । मेरो काम भनेको एच.आई.भि र एड्स तथा यौनरोग सम्बन्धी लक्षित समुदायलाई सचेत गराउनु हुन्थ्यो । त्यस अवधीमा मैले विशेष गरेर किशोरी तथा महिलाहरुको जोखिमपूर्ण यौन व्यवहार तथा त्यसैलाई आम्दानी तथा फेसनेवल रहर मेटाउने माध्यमको बारेमा नजिकबाट नियाल्ने मौका पाए । अहिले पनि ती रेष्टुरेन्टमा काम गर्ने तर रेष्टुरेन्ट मालिकको कठपुतली जस्तै भएका महिलाहरुको दुख वेदना झलझली सम्झना आईरहन्छ । विरगञ्ज तथा हाईवेका भट्टीहरुमा काम गर्ने महिला तथा किशोरीहरु अहिले कुन अवस्थामा होलान् भन्ने लागिरहन्छ । विरगञ्ज क्षेत्रमा अधिकांश ती रेष्टुरेन्टका मालिकहरु उता वोर्डर पारिका हुने अनि काम गर्ने वेटर भनिएकाहरु नेपालका पहाडी क्षेत्र, विस्थापित परिवारका सदस्य,पारिवारिक विछोड र विखण्डन भएकाहरु नै धेरै हुने गर्थे ।

सायद वर्तमानमा पनि यसरी मनोरञ्जन क्षेत्र भनेर यस्ता रेष्टुरेन्ट र डान्स बारहरुमा थुप्रै महिला तथा किशोरीहरु कार्यरत छन् । मैले उनीहरुसंग प्रत्यक्ष काम नगरेको पनि धेरै भईसक्यो । तरपनि डेढ दशक अघि र अहिले पनि परिस्थितिमा खासै परिवर्तन भएको छैन। रेष्टुरेन्ट तथा भट्टी संचालकले कामदार महिलाहरुमा पनि अलि बाहिरी आवरण सुन्दर देखिनेलाई आफ्नो गर्लफ्रेन्ड तथा श्रिमती नै भनेर राख्ने र अन्य युवतीहरुलाई ग्राहकहरुले जे भने त्यही गर्न लगाउॅथे। त्यहाँ कामदारको रुचि ईच्छा भन्दा पनि मालिककोे व्यापारको मात्र मतलव हुने गर्दथ्यो । एउटै रेष्टुरेन्टमा आमा छोरी नै काम गर्ने र दुवै यौन दुर्व्यवहारमा परिसकेका घटना पनि कति हुन्थ्यो । अनि ती कामदार महिलामध्ये अधिकांशको जीवनमा कुनैपनि आर्थिक, सामाजिक परिवर्तन आएको पनि देखिंदैनथ्यो । धेरै संघसंस्थाहरुले यस समस्यामा काम गरिरहेका छन् र सायद समयक्रमसंगै चेतना पलाउनेछ ।

लाग्छ व्यवस्थापन विनाको, सचेतना विनाको, सीप र दक्षता विना संलग्न भएका र बनाईएका जोखिमपूर्ण व्यवसाय तथा पेशाले महिलाहरुको उन्नति प्रगति तथा सही मूल्याकंन हुनै सक्दैन् । त्यसैले मानव बेचविखनको परिभाषामा यस्ता कुरालाई समावेश गरिएको हुनुपर्छ ।

मानव बेचबिखनका बिभिन्न स्वरुपहरु छन् जसमा जवर्जस्ती श्रममा लगाउनु पनि हो। यो मानव बेचबिखनको सामान्य प्रक्रियाजस्तै भईसकेको छ । कुनै पनि ब्यक्तिको ईच्छा विपरित बलजफ्ती श्रममा लगाउने कार्य यस अन्तर्गत पर्दछ । उदाहरणको रुपमा बंधुवा मजदुर राख्ने , बालबालिकालाई ईट्टा भट्टामा काममा लगाउने आदि यसमा पर्दछ ।

यौन शोषणको लागि बेचबिखन गर्नु अर्को मानव बेचबिखनको रुप हो । यौन शोषण गर्ने उद्देश्यले कुनै पनि महिला या पुरुषलाई होटलमा या अन्य कुनै पनि स्थानमा ओसार पसार गरिन्छ भने या उनीहरुलाई जवर्जस्ती धम्क्याएर यौनकार्य गराइन्छ भने त्यो पनि मानव बेचबिखनभित्र पर्दछ ।

१८ वर्ष मुनिका बालबालिकालाई श्रमको लागि भर्ना गर्ने, उनीहरुलाई भरिया, सुसाईड बम बोक्न लगाउने, हातहतियार बोक्न लगाउने जस्ता निकृष्ट कार्य पनि मानव बेचबिखनको एउटा रुप हो ।

हुनत मानव अंगको बेचबिखन अवैधानिक कार्य हो तर पनि नेपाल लगायतका बिकासोन्मुख देशमा अवैधानिक रुपमा किड्नी लगायतका अंगहरु बेचबिखन गर्ने कार्य भईरहेको छ । यी क्रियाकलापहरु पनि मानव बेचबिखन अन्तर्गत नै पर्दछ ।

कुनै पनि व्यक्तिको अनुमति बेगर गरिएको विवाह पनि मानव बेचबिखनमै पर्दछ । जवर्जस्ती विवाह शोषणको एउटा रुप हो ।एक तथ्यांक अनुसार करिव १.९ मिलियन घरेलु कामदारहरु एशिया महादेशमा निम्न ज्याला वा ज्याला नपाउने खालको घरेलु श्रममा सहभागी छन् । यो पनि मानव बेचबिखनको एउटा स्वरुप हो ।शरीरिक रुपले अशक्त बालबालिका तथा अन्य ब्यक्तिलाई जवर्जस्ती माग्न लगाई एजेन्टको काम गर्नु पनि मानव बेचविखन हो ।

नेपालमा मानव बेचबिखन विशेष गरेर नेपालभित्रै र एशियाका विभिन्न मुलुक र मध्यपूर्वका देशहरुमा ललाई-फकाई गरेर हुने गरेको पाईन्छ । विशेष गरेर नेपाली महिला, पुरुष तथा बालबालिकाहरु श्रमको लागि यौन उद्योगको लागि बेचबिखन हुने गरेका छन् । नेपालभित्रै विशेष गरेर गाउँबाट शहरमा आएका किशोरी तथा महिलाहरु क्याविन , डान्स रेष्टुरेन्ट, मसाज पार्लर तथा अन्य पर्यटकीय श्रेत्रमा यौनजन्य क्रियाकलापको लागि प्रयोग हुने गरेका छन् ।नेपालमा श्रमको बेचबिखन पनि सामान्य जस्तै भैसकेको छ । उदाहरणको लागि गलैंचा उद्योग, ईट्टा भट्टा, होटलहरुमा पनि कुनै दलाल मार्फत काममा लगाईने गरेको छ ।

नेपालकै कैयौं महिला तथा किशोरीहरु नेपाल भारतको सीमाक्षेत्र हुँदै भारतका विभिन्न स्थानमा यौनजन्य क्रियाकलापका लागि बेचबिखन हुने गरेका छन् । अनुमानित आँकडा अनुसार प्रत्येक वर्ष ५ देखि १० हजार नेपाली महिलाहरु भारतमा बेचिने गर्छन् । अर्को तथ्यांक अनुसार १ देखि २ लाख सम्म बेचिएका महिलाहरु भारतमा रहेका छन् । पीडितहरु यौनजन्य उद्देश्य र सर्कसमा पनि बेचिने गरेका छन् । कृषि तथा मजदुरीका लागि बेचिने गर्दछन् ।

सन् १९५० को सन्धिले नेपालीलाई भारत जान तथा भारतीयलाई नेपाल आउन निर्वाध छुट छ । भारत नेपाली तथा बंगलादेशी महिलाहरु भारत तथा पाकिस्तानमा बेचबिखन हुनको लागि ट्रान्जिट क्षेत्र जस्तो भएको छ ।

विशेष गरेर बेचबिखनमा पर्ने पीडितहरु भनेका महिला तथा किशोरीहरु हुन् । निरक्षरता तथा शिक्षाको कमी, निम्न सामाजिक, आर्थिक तथा साँस्कृतिक अवस्था, उच्च गरिवीमा रहेका र निम्न स्तरको जीवनयापन गरिरहेका महिला तथा किशोरीहरु नै बेचबिखनमा परिरहेका छन् ।

प्रभावितहरु नेपालका सवैजसो क्षेत्रका भएपनि विशेष गरेर सुदुर पश्चिम क्षेत्र, दलित, प्राकृतिक प्रकोप भएका क्षेत्र आदिका महिला तथा किशोरीहरु अझ उच्च जोखिममा रहेका छन् ।

नेपाल मानव विकास तथ्यांकका ( २००४) का अनुसार लगभग २० प्रतिशत किशोरी जो ईण्डियामा बेचिएका छन , उनीहरु १६ वर्ष मुनिका छन् ।

धेरै जसो प्रभावितहरु राम्रो काम पाउने आशामा फकाईएर भारत दुबई तथा खाडी मुलुकहरुमा बेचिएका छन् । अर्को कारण भनेको झुटो विवाह, परिवारलाई ऋण लगानी गरेर सो परिवारको छोरी चेली किन्ने आदि । महिलाहरु वास्तवमा परिवारको बस्तुजस्ता लाग्छन् किनकि उनीहरुलाई सम्पति झैं किन्ने र बेच्ने गरिन्छ ।

किनबेच गर्नेहरु विशेषतः स्थानीय र प्राय एउटै गाउँठाउँको हुने गरेका छन् । उनीहरु परिचित, नातेदार, छिमेकी, साथी वा आफ्नै अभिभावक पनि हुन सक्दछन् । मानव बेचबिखनमा महिला तथा पुरुष दुवै संलग्न हुन सक्दछन् ।  एउटा दलालको अर्को दलालसंग समन्वय, चिनजान हुनसक्छ र तिनीहरुले छरछिमेक, राजनैतिक जानपहिचान आदि पनि प्रयोग गर्ने गरेको पाइन्छ।

नेपालमा २६ वर्षदेखि ३५ वर्ष उमेर समुहका बेचविखनकर्ताको संख्या उल्लेख्य मात्रामा देखिन्छ। र, ९५ प्रतिशत विवाहित हुने गर्दछन् ।

मानव बेचबिखनको कारक तत्व विशेषत आर्थिक , सांस्कृतिक मानवीय, प्राकृतिक समस्याहरु नै रहेका छन् ।विशेषतः बेचविखनमा परेका महिला तथा किशोरीहरुको मुख्य समस्या भनेको स्वास्थ्यमा समस्या लगायत समाजमा पुनस्र्थापना गर्न कठिनाई रहेको छ ।

हाम्रो समाजमा मानव बेचबिखनमा परेका पीडितलाई हेर्ने दृष्टिकोण नै नकारात्मक छ त्यसको कारणले पनि पीडितले आफना समस्या खुलेर भन्न नसक्ने र न्यायका लागि आवाज उठाउन नसक्ने हुन्छन् ।  मानव बेचबिखनमा परेको व्यक्ति यौन शोषणमा परेको हुन्छ र यो भनेको निन्दनीय कार्य हो भन्ने आम मानिसहरुको सोचाई रहेको छ, जसले अपराधीलाई उन्मुक्ती दिईराखेको हुन्छ भने पीडितले आफ्ना समस्याहरु राखीराखेका हुँदैनन् । अझ यौनजन्य क्रियाकलाप बाहेककका मानिसका ईच्छा विपरित लगाईएका कार्यहरु, मजदुरीका लागि बेचिएकाहरु पनि मानव बेचविखनमा पर्छन् भन्ने त धेरैलाई जानकारी नै छैन।  

विश्वमा धेरै राष्टहरु मानव बेचबिखन रोकथाम कार्यक्रममा सहभागी भएका छन् । यसलाई विश्वव्यापी बनाईनु पर्छ किन पनि भनिएको हो भने मानव बेचविखनको समस्याले अन्तरराष्ट्रिय मापदण्डलाई नै पार गरेको छ । विभिन्न राष्ट्रले भिन्न खालका रोकथामका रणनीतिहरु अप्नाएका छन् ।

मानव बेचबिखन कसरी रोकथाम गर्ने ?

• मानव बेचबिखनको सूचकहरु सबैले जानकारी राख्ने जसले गर्दा सम्भावित पीडितबारे थाहा पाउन सकिन्छ।

• व्यापारी, कानुनविद, कर्मचारी, स्वास्थ्य सेवा प्रदायक, पत्रकार सबैलाई मानव बेचबिखन सम्बन्धी जानकारी तथा सचेतना गराउनुपर्दछ ।

• विद्यालय तथा स्वास्थ्यसंस्थाहरुले पनि मानव बेचबिखनबारे रोकथामका कार्यक्रमहरु सञ्चालन गर्ने।

• मानव बेचबिखनमा आधारित सिनेमाहरु हेरेर, देखाएर पनि  यसको रोकथाममा सघाउ पुर्याउन सकिन्छ ।

• रेडियो/टेलिभिजन कार्यक्रम आदिबाट पनि मानव बेचबखन विरुद्ध सचेतना जगाउन सकिन्छ ।

• स्थानीय, धार्मिक, राजनैतिक समूहहरुसंग पनि मानव बेचबिखनबारे अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ ।

• बेचबिखनमा परेका प्रभावितहरुलाई कामका अवसरहरु जुटाएर पनि मानव बेचबिखनको जोखिम कम गर्न सघाउ पुर्याउँछ ।

• मानव बेचबिखनमा परेका पीडितलाई न्याय दिलाउने तथा दोषी व्यक्ति वा संस्थालाई कारवाहीको दायरामा ल्याउने

• मानव बेचबिखन विरुद्धका कानुनी प्रावधान र सजायका बारेमा सर्वसाधारण तथा वैदेशिक रोजगारीमा जाने महिला तथा पुरुषलाई जानकारी गराउने ।

बोक्सी, छाउपडी, देउकी लगायतका समाजमा व्याप्त अन्धविश्वासजन्य क्रियाकलापहरुले पनि मानव बेचबिखनका क्रियाकलापहरुलाई सहयोग पुगिरहेको पाइन्छ। सचेत नागरिक, संघसंस्था सरकारी निकाय, अन्तरराष्ट्रिय संघ-संस्थाहरु एकजुट भएर यस्ता निन्दनीय कार्य विरुद्ध लाग्नुपर्ने आजको टड्कारो आवश्यकता भईसकेको छ ।

(नेपालमा आज मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको चौधौं राष्ट्रिय दिवस-२०७७ हो। सोही सन्दर्भ पारेर सामाजिक कारेयमा अग्रसर शर्माले यो आलेख तयार पार्नु भएको हो। -सम्पादक)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया