विचार / ब्लग

दीपेन्द्रको छिपाइएको छवी बाहिर ल्याउने कृति

प्रकाशित |
‘महानिशा’ सुरु गर्दा लागेको थियो यो कुनै जासुसी उपन्यास होला कि । आवरणमा देखिएको श्रीपेचले गर्दा थोरै तथ्यमा, धेरै कथ्य हालेर लेखिएको दरबारिया कहानी हुनुपर्छ कि भन्ने पनि नलागेको होइन । 
 
नवयुवराज दीपेन्द्र जन्मको सबैभन्दा पहिलो सन्दर्भलाई सिध्याउन मुस्किलले पाँच मिनेटमात्र लाग्यो मलाई । र पढिसक्दा मेरो मनले भन्यो–लेखकले भन्नलाई उपन्यास भनेपनि यो एउटा इतिहास हो । 
 
असार दोस्रो साताभन्दा अगाडी नवयुवराज पैदा भएमा कुलवंशका लागि नै घातक हुने ज्योतिषीहरुले भनेका सन्दर्भ पढेपछि यो पुस्तकलाई नसिध्याई अरु कुनै अध्ययन वा लेखनमा हात राख्न मनै लागेन । ज्योतिषीहरुले भने अनुसारको समयभन्दा पछि जन्माउनका लागि दरबारले प्रयास नगरेका होइन । तर युवराज्ञी ऐश्वर्यलाई व्यथाले च्याप्यो । उनको ज्यानै खतरामा पर्ने संभावना भएपछि तत्कालिन राजा महेन्द्रकी बहिनी अर्थात त्रिभुवनपुत्री डा. दिव्येश्वरी शाहको हप्काई भेटेपछि राजा महेन्द्र र युवराज बीरेन्द्र दुबै चुप लागे । परिणाम दरबार, ज्योतिषी कसैले पनि नचाहेको समयमा नवयुवराज दीपेन्द्र पैदा भए ।
 
यो सबै तथ्यका जीवित साक्षी रत्न राज्यलक्ष्मी अहिले पनि छिन् । 
 
‘कुल घातक’ भनेर नजन्मिदै ज्योतिषीले भनेका नवयुवराज दीपेन्द्रनै शाह वंशको एउटा हाँगोलाई नामोनिसान मेट्ने दागका रुपमा हजारौं वर्षसम्मको इतिहासमा नाम दर्ज गराए । कोतपर्व र भण्डारखाल जस्ता ठूला पर्वहरु दरवार हत्याकाण्डले सानो तुल्याइदियो । बीरेन्द्रको वंशनाशले नेपालबाट राजतन्त्रनै समाप्त हुनपुग्यो । 
 
पत्रकारको लेखन र साहित्यकारको लेखनबीच स्पष्ट रुपमा भेद देखिन्छ । तथ्यमै रहेर लेख्ने बानी परेका कारण पत्रकारले लेखेका कृतिहरुमा साहित्यीक शैली ज्यादै कम हुन्छन् । जे भएको हो ठ्याक्कै कतिपनि वनावटी शैली नराखी, क्लिष्ट शव्द नलेखी सिधै वर्णन गरिएका हुन्छन् । साहित्यकारको शैलीमा बिहानको नास्ताको प्रसंग निकाल्दा पूर्बमा घाम झुल्किएदेखि वर्णन हुन्छन् ।
 
देवप्रकाश त्रिपाठी आफैंमा तीन दशकभन्दा पनि लामो समय पत्रकारितामा बिताएका व्यक्ति भएकाले यो ‘महानिशा’ उपन्यास नभएर दीपेन्द्रको उत्थानदेखि लिएर पतनसम्म भित्र लुकेर रहेका पाटोलाई बाहिर ल्याउने कृति हो भन्ने मेरो ठम्याई छ । केही पात्रहरुको नाम सिधै लेखिएको छैन । महानिशा पढ्दै गर्दा २०५८ को राजदरबार हत्याकाण्डलाई सुन्ने, जान्ने जो कोहीले ती छद्मनाम राखिएका पात्र को थिइन् भनेर सहजै अनुमान लगाउन सक्छन् । 
 
युवराज दीपेन्द्रको स्वभाव, आनीबानीलाई यथार्थ रुपमा यो कृतिले ल्याएको छ । बुढानिलकण्ठ स्कुल पढ्दानै युवती, सुरासुन्दरी, गाँजाको लतदेखि लिएर दरबारका पशुपन्छीलाई निर्दयीपुर्ण रुपमा हत्या गर्ने, बेलायतको कलेजबाट रेस्टीकेटमा पर्ने, राजा सुरेन्द्रको जस्तै सन्की स्वभावका कारण भरखरै मात्र स्वर्गीय भएका जर्नेल कुलबहादुर खड्काका छोरा अर्थात तत्कालिन क्याप्टेन प्रविण खड्कालाइ पुस माघको जाडोमा फेवातालमा फाल हाल्न लगाउने, एकै पटक दुई केटी बिहे गरेर भित्राउन चाहने, बहिनी र ज्वाईलाई लात्तीले हान्ने, सेनाको तालिम गर्ने क्रममा हिँड्दा गाउँमा पसेर छ्याङ पिउने जस्ता स्वभावले दरबार हत्याकाण्ड अरु कसैले गराएको हुँदै होइन भन्ने कुरालाई महानिशाले पनि छर्लङ्ग बनाएको छ । 
 
बर्दिया निकुञ्जमा भ्रमणका समयमा नदीमा भुरा माछा समात्न लगाएर तिनलाई जवरजस्ती इञ्जेक्सन हाल्नका लागि शाही चिकित्सक डा. सच्चेकुमार पहाडीलाई बाध्य बनाउने तिनै दीपेन्द्र थिए । 
 
किताब पढिसक्दा इतिहासमा बर्णित पागल सुरेन्द्रबिक्रम शाहभन्दा कुनै पनि कोणबाट दीपेन्द्र सही र सद्धे रहेनछन् भन्ने जान्न पाठकहरु सफल हुन्छन् । 
 
राजा महेन्द्र एक हप्ता थप बाँचिदिएको भए २०२८ सालमै दलमाथिको प्रतिवन्ध फुकुवा भएर देश बहुदलीय प्रजातन्त्रमा त्यतिखेरै प्रवेश गर्ने भन्ने कुरालाई पनि यो पुस्तकमा उल्लेख गरिएको छ । तत्कालिन कानुनमन्त्री शम्भुप्रसाद ज्ञवालीबाट संविधान संशोधनको मस्यौदा तयार भैसकेको तर राजा महेन्द्रको भरतपुरको दियालोबंगलामा अप्रत्याशीत निधनले मात्र रोकिएको तथ्यलाई समेत महानिशामार्फत त्रिपाठीले सार्वजनिक गरेका छन् । 
 
अर्को तथ्य चाँही दरबार हत्याकाण्डमा वंशै सखाप नभएको भए बीरेन्द्रले पनि बामदेवलाई प्रधानमन्त्री बनाएर माओवादीलाई मुलधारमा ल्याउने अभियान थाल्ने संकेत दिएका थिए । 
 
नेपालको राजनीतिमा ठूला दरबारियाकाण्डहरु यात सुरा, यात सुन्दरीका कारणले सिर्जित छन् । कोतपर्व सुन्दरी रानी राज्यलक्ष्मीका कारण सिर्जना भएको थियो । त्यसले १०४ वर्षसम्म राणाहरुको दाशतामा नेपाललाई पुर्यायो । २०५८ को दरबार हत्याकाण्ड युवराज दीपेन्द्रको सुन्दरी र सुरा दुबैको मिश्रण थियो । 
 
पारिवारिक भोजमा मदिरा, त्यसमा पनि जब महिलाहरु ज्यादा मदिराप्रेमी हुन थाल्छन् त्यो कुल परिवारको आयु लामो हुँदैन । 
 
सोख सयलले मानिसलाई कृयटीभ होइन, सत्यानाश पार्छ भन्ने दृष्टान्त हेर्न दीपेन्द्र र पारसलाई हेरे पुग्छ । रक्सीमा लठ्ठीने र शक्ति आफूमा निहित राख्न खोज्ने रानी ऐश्वर्यको तानाशाही स्वभाव पनि वंश विनासमा कारक रहेको तथ्य महानिशाले बाहिर ल्याइदिएको छ ।
 
महानिशालाई टेक्सससम्म पठाइदिनुहुने जर्जियामा बस्दै आउनुभएका दाइ नारायण बोहोरा महाधन्यवादको पात्र हुनुहुन्छ । दुई दिन लगाएर यो किताब पढ्दा दरबारका बारेमा नसुनेका, थाहा नपाएका धेरै तथ्यहरु जान्ने मौका पनि मिल्यो ।
 
हिमालयखबर

हिमालयखबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया