मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कांग्रेसीजनको नाममा

कांग्रेसीजनको नाममा


अमेरिकाका कांग्रेसीजनहरु, कांग्रेसी मित्रहरू, जय नेपाल! 
 
अमेरिकामा नेपाली जनसम्पर्क समिति नामक गैर सरकारी भात्री संगठनको संचालन गर्नु भएको छ | मज्जाले राजनीति गर्नु भएको छ, बैचारिक राजनीति गर्न पाउनु तपाईहरुको नैसर्गिक अधिकार हो त्यसमा कसैको बिमति छैन | "बहुजन हिताय अनि बहुजन सुखाय" को मियोमा स्थापना भएको बी.पी. कोइरालाको समाजवादीधारको वकालत अनि पक्षपोषण तपाईहरुले गर्न सक्नु भयो कि भएन त्यो आम मानिसले मुल्यांकन गर्ने बिषय हो | ती सब गर्न नसके पनि अमेरिकामा गुटबन्दी संस्कारको आरम्भ अनि बिकास गर्नमा तपाईहरुको ठुलो योगदान छ अनि आफ्नो गुटको मन्त्री अनि नेताहरुको पालन पोषणमा पनि तपाईहरुको बिशेष रुचि र योगदान छ | तपाईहरुको सङ्गठन अमेरिका भरीकै सबभन्दा धेरै च्याप्टर भएको सङ्गठन पनि हो | यी यावत यथार्थहरुलाई हामी सबैले स्वीकार्नै पर्छ |
 
अब तपाईहरु सामु एउटा यक्ष प्रश्न तेर्सिन्छ यी यावत प्रत्युत्पादक कामहरू बाहेक अमेरिकी प्रवासी समाजको सेवा अनि विकासमा के के गर्नु भएको छ ? हरेक हप्ता तपाईका नेताहरू न्युयोर्कको ज्याक्सन हाईट्सको डबलीमा ओर्लिन्छन् I अनि गुट अनुसार भागबण्डामा परेकालाई एयरपोर्ट लिन जान पनि मारामार हुन्छ | यहाँ ओर्लने तपाईका हरेक कांग्रेसी नेता यति विशिष्ट अनि दिग्गज हुन्छ उनीहरूका लागि ज्याक्सन हाईट्सको भूँईतल्लामा बिषयगत अन्तरक्रिया नगरी हुँदै हुन्न |
 
एकताका यही अमेरिकी भूमिमा काँग्रेसको भारतीय निकटताको बस्त्र फालेर तपाईहरु भारत विरोधी जुलुस अनि नारामा पनि उन्मुक्त रमाउनु भयो | हामीले पत्याएको बहाना गर्‍यौँ अनि भन्यौं ओहो..नेपाली काँग्रेसले भारतसँगको पुरानो नाता तोडेछ!  
 
अहिले मातृभूमि नेपाल लोकमानको बिरुध्दमा जागेको छ | पार्टीहरूको "गिभ एण्ड टेक" को दहीचिउरे कुरो छाडी दिउँ आम मानिस अनि जागरुक शिक्षित तन्नेरी पुस्ता दण्डहिनताको बिरुध्दमा आगो ओकल्दै छ तर तपाईँको माउ पार्टी मुकदर्शक मात्र बनेको छैन रमिते बनेको छ | मानौं संसदको सबभन्दा ठुलो दलको कुनै नैतिक जिम्मेवारी नै छैन | अझ त्यो भन्दा पर अनि डरलाग्दो गरी यहाँ अमेरिकामा बसेर "भारतीय बिस्तारबाद मुर्दाबाद" भन्दै तपाईहरुले यस पटक गाली गरेको भारतले तपाईका आदरणीय सभापति शेर बहादुर देउबासम्म सौदाबाजीका प्याकेज पुर्याएका तथ्यगत अनि अधिकारिक खबरले पिडामा दु:खेको देशलाई थप आहत बनाएको छ | 
 
माओबादीसंगको सौदाबाजीमा लुटतन्त्र मनाउन प्रधानमन्त्री पदको पालो पर्खिएर बसेको तपाईका सभापतिको लागि दण्डहिनता बिरुध्दको यो एतिहासिक अवसर "कागलाई बेल पाक्यो हर्ष न बिस्मत" भएको छ | उताको आदेश र परिपत्रको भरमा काम तामेली गर्ने जनसम्पर्कको कार्यकर्ताको स्तर अनि हैसियत भन्दा पर तपाईहरुले सोंचेको अनि काम गरेको हामीले कहिल्यै अनुभूत गर्न पाएनौं | संविधानका हरेक मर्म माथि प्रहार हुँदा हरेक पहर अनि हरेक पल तपाईहरु निरपेक्ष अनि रमिते बन्नु भएको छ | नेता अनि मन्त्री आउँदा दस काम छाडेर तिनको सेवा सत्कारमा हाँजिर हुने तपाईहरुलाई लोकमान प्रकरणले छुंदैन | लोकतन्त्र, समावेशिता अनि दण्डहिनताको बिरुध्दमा एक शब्द बोल्ने अनि लेख्न आवश्यक ठान्नु हुन्न | त्यसैले मैले लेख्न मन नलागी नलागी अप्ठेरो मान्दै एउटा सत्य लेख्ने गरेको छु, तपाईहरु एक्काईसौं शताब्दीको यो स्वाधीन युगका "आधुनिक दासहरु" हुनुभएको छ |  यस्तो दासता जो आफ्नो रुचिमा स्वीकार गर्ने गरिन्छ |
 
कांग्रेसीजनहरु, ताकत अनि साहस छ भने अब उप्रान्त तपाईका ऐरे-गैरे नेता कार्यकर्ता आउँदा खदा, माला, भोज-भतेर, मान-सम्मानले होइन बिषयगत तर्क बितर्कले घेराबन्दी गर्नुस ताकी तिनले आफूले गरेका कर्तुतहरुको अनुभूति गर्ने अवसर पाउन | आजैबाट यो दाशताबाट मुक्त हुनुहोस अनि आफ्नो चेतना अनि ढुकढुकीको स्वाधीन बोली बोल्नुहोस | नेताको आदेश पर्खनु भन्दा तपाईँको प्रभाव अनि ताकत छ भने सौदाबाजीको चास्नीमा डुब्न लागेका आफ्ना सभापतिलाई दबाब दिनुस | यो त  मनको आदेश बोल्ने बेला पो हो त कांग्रेसीजन | बर्षौं पार्टीको दास हुनु भो त्यसमा आफ्नै स्वार्थ अनि बाध्यताहरु थिए होला अहिले बेलामा बोल्ने एक बोलीले त्यो पापहरु पखालिने छ | नेपाली अनि सारा विश्व समुदायको सांस्कृतिक अनि धार्मिक चाडपर्वहरुको यो अवसरमा उताको माउ पार्टीको आदेश अनि परिपत्रहरुमा आफ्नो चेतना अनि स्वाधीनतालाई तिलान्जली दिएर आधुनिक दास बन्न बाध्य भएकाहरुलाई स्वाधीन अनि स्वतन्त्र बन्ने साहस अनि सद्बुध्दी प्राप्त होस् भनी अन्तरमनबाट कामना गर्दछु |