विचार / ब्लग

भातृसंस्था कि कलहका बीउ ?

प्रकाशित |
सुन्दा जति अप्ठेरो लाग्छ । तर यथार्थतामा निकै नजिक नेपालीमा एउटा उखान छ–‘हगे हग, मुतिस् भने चाँहि काट्छु ।’ माफ गर्नुहोला, उखानको शव्द सम्पादन गर्दा मिठास नआउने हुँदा मैले जनजिब्रोलाइ हु–बहु उतार्न धृष्टता गरेँ । 
 
अहिले अमेरिकामा दर्ता भएका केही नेपाली, अझै विशेषगरि नेपालको राजनीतिलाइ बोक्ने नेपालीहरुको संस्थाको हविगत यही उखानसँगमिल्दोजुल्दो छ । सामाजीक संस्था, त्यो पनि करमुक्त । कर छुट पाउनेगरि अमेरिकी सरकारको निकायमा दर्ता भएको नेपाली संस्थाको नाम हो–‘जनसम्पर्क समिति अमेरिका ।’ तर वास्तविकता चाँहि जनसम्पर्क समिति अमेरिका सामाजीक संस्था हुँदै होइन । यो नेपालको एउटा राजनीतिक दल नेपाली कांग्रेसको भातृ संस्था हो । कसैले भातृसंस्थाका रुपमा स्विकार्लान्, कसैले शूभेच्छुक संस्थाका रुपमा लेलान् त कसैले फाइभ–ओ–वान–सी मा दर्ता भएकोले शुद्ध सामाजीक संस्थाका रुमपा पनि लिन्छन् । जस्लाई जे अनुकुल पर्छ त्यसै अनुसार यो संस्थालाई व्याख्या, विश्लेषण र परिभाषा गर्ने अनौठो चलन र संस्कार अमेरिकाको नेपाली समुदायमा देखिन्छ । तर कसैबाट नछिपेको यथार्थता के हो भने जनसम्पर्क समिति शुद्ध नेपाली कांग्रेसको प्रवासी भातृसंगठन हो । विपी कोइरालाले पञ्चायती व्यबस्थालाई उखेल्नका लागि भारतमा रहेका शूभेच्छुक, कार्यकर्ताहरुलाई गोलवन्द गर्न गठन गरेको शुद्ध राजनीतिक उद्वेश्य प्रेरित संस्था हो जनसम्पर्क समिति । तर अहिले संसारभर फिँजिएको छ ।
 
जनसम्पर्क समिति अमेरिकाको अधिवेशन भएको पाँच वर्ष नाघिसकेको छ । विधानतः (कांग्रेसको विधान अनुसार पनि र अमेरिकी संस्थाको विधान अनुरुप पनि) यो संस्थाको अधिवेशन हरेक दुई वर्षमा हुनुपर्थ्यो । यसो हुन सकेको भए २०१६ मा र २०१८ मा गरि दुई पटक अधिवेशनहरु भैसक्थे । तेस्रो नेतृत्वले यतिखेर संस्था हाँकिरहेको हुन्थ्यो । तर भएनन् । किन भएनन् भने घरि माउ पार्टीको निर्देशन अनुसार भएन, घरि यहीको रँडाको (भुकम्प पीडितको रकम) लाई लिएर हुन सकेन । 
 
आउँदो अप्रिलमा अधिवेशन गर्ने निर्णय खेस्रालाई माइन्युटमा सार्न नभ्याउँदै भोलीपल्टदेखि उग्रता सुरु भएको छ । सभापति आनन्द विष्ट लगायतको बहुमत टीम अधिवेशन गर्ने तयारीमा जुटेको छ भने पूर्ब अध्यक्ष विष्णु सुवेदी लगायतको अर्को समुह चाँही भएभरको राजनीतिक पहुँच लगाउँदै अधिवेशनको प्रकृया बदल्न बल गर्दैछ । सामाजीक सञ्जालमा एक अर्काको उछितो काढ्दै एकले अर्काको हुर्मत लिन केही बाँकी राखेका छैनन् दुबै पक्षले ।
 
जनसम्पर्क समितिले आउँदो डेढ महिनाभित्र सबै च्याप्टर अधिवेशन गर्ने भनेर निर्णय पनि गरेको छ । तर जनसम्पर्कका ‘सदाबहार प्रतिपक्ष’ का रुपमा परिचित केही पात्रहरुले वर्तमान अध्यक्ष विष्टलाई सुरुमै उठान गरिएको उखान जस्तै हविगतमा पुर्याउने प्रयास गरिरहेका छन् । 
 
विगत तीन वर्षदेखि घरि ‘अधिवेशन गर्न सकेन यो नेतृत्वले’ भन्दै बारम्वार कुरा उठाउने, कांग्रेस केन्द्रिय कार्यालयमा उजुरी गर्ने, यहाँ नेताहरु आउँदा सधैँभरि त्यही विषयलाई मुद्धा बनाइरहनेहरूनै अहिले अधिवेशन रोक्न जोड गरिरहेका छन् । कांग्रेसको भातृ संगठनहरुको प्रवासको परिदृश्य जति रोचक छ त्यत्तिकै घोचक पनि छ । तमासा देखाइराखेका छन् यिनले । सित्तैमा मनोरञ्जन पनि दिइरहेका छन् । नेपालको राजनीतिबाट न्यास्रेकाहरुलाई व्यस्तता पनि थपिदिएका छन् । 
 
संस्थापन (विष्ट) पक्षले संस्थाको अधिवेशन अमेरिकी कानुन अनुसार दर्ता भएको संस्था भएकोले त्यसै अनुसार गर्ने र नेपालबाट प्रतिनिधि पठाउनका लागि माउपार्टीलाई आग्रह गरेको छ । संस्थापन पक्षले जनसम्पर्क समितिलाई ‘अर्ध–भातृसंस्था’ का रुपमा लिएको छ । अर्थात यसको सदस्य हुन जो कोही नेपालीमुलका व्यक्तिहरु योग्य हुन्छन् र अधिवेशन फाइभ–ओ–वान–सी अनुसार गर्ने तयारी गरेको छ । त्यसलाई कांग्रेसले मान्यता दिनका खातिर कांग्रेस केन्द्रिय कार्यालयबाट प्रतिनिधिको माग यो पक्षले गरेको छ । 
 
तर अर्को पक्षले भने अमेरिकाको नागरिकता लिएकाहरु, कांग्रेसको कृयाशील सदस्यता नभएका व्यक्तिहरु जनसम्पर्क समितिको सदस्य हुन नमिल्ने, अमेरिकाबाट प्रतिनिधि भएर जान पनि नेपाली नागरिकमात्रले पाउने भन्दै त्यसै अनुसारमात्र अधिवेशन गर्नुपर्ने भनिरहेका छन् । उनीहरुको माग अमेरिकाबाट जनसम्पर्कको सदस्यता जथाभावी वितरण गर्नुनै नेपालको संविधान विरुद्ध हुने र कांग्रेसको कृयाशील सदस्यता पाएकाहरुले मात्र जनसम्पर्कको अधिवेशनमा सहभागीता जनाउन पाउने तर्क राखिरहेका छन् । 
 
संस्थापन पक्ष अधिवेशन गर्ने तयारीमा छ । अर्को पक्ष पनि अधिवेशन हुनुपर्छ भनिरहेको छ । तर दुबैका प्रकृया र विधिमा आकाश–जमिनको अन्तर छ । यही विवादले अहिले अमेरिकामा रहेको नेपाली कांग्रेसको भातृसंगठन भताभुङ्ग र लथालिङ्ग अवस्थामा छ । 
 
जनसम्पर्क समिति अमेरिकामा एउटै छ । तर जति भावनात्मक रुपमा कहिल्यै एक छैन । यहाँका हरेक संस्थाका चुनावमा जनसम्पर्कका उम्मेदवारहरु एउटै हुँदैनन् । आफूलाई ‘नेता हुँ’ भन्ने पिच्छेका उम्मेदवार देखिन्छन् । गएको एनआरएनए अमेरिकाको चुनावमा मज्जैले देखिएको मात्र थिएन, एकअर्कामाथि जाइलाग्ने पनि जनसम्पर्कभित्रकै थिए । एउटा भनाई छ–जनसम्पर्क समिति अमेरिकाभित्र ‘सदावहार गाईजात्रा’ देख्न पाइन्छ । 
 
एकले अर्कालाई खुइल्याउने, ताछ्ने प्रवृत्ति व्यापक छ । अमेरिकाको नेपाली समुदायमा सधैभरि सधैँभरि कलह र मनोमालिन्यताको बीउका रुपमा जनसम्पर्क समिति सुपरिचित छ । 
 
अब लागौँ अर्को कलहको बीउ तर्फ ।
 
तत्कालिन एमालेले नेपाल बाहिर रहेका नेपालीहरुलाई संगठित गरिराख्ने भन्दै प्रवासी मञ्च गठन गर्यो । एमाले पनि के कम र ? उसलाई पनि एकातिर कांग्रेसको देखासिकी गर्नु थियो भने अर्कातिर प्रवासमा रहेका नेपालीलाई संगठनका नाममा दुहुनो गाई बनाउने अवसर जुराउनु थियो । तत् तत् देशमा पुग्दा माला र खादा बोकेर विमानस्थल पुग्ने जमात खडा गर्नुपर्ने आवश्यकता नेताहरुले महसुस गरे । 
 
युरोप, अमेरिका, अष्ट्रेलिया, खाडी मुलुक, मध्यपूर्ब, पूर्बी एसिया सबैतिर एमालेले पनि प्रवासी मञ्चका नाममा संगठन जन्मायो । अमेरिकामा त झन नजन्मिने कुरै भएन । कम्युनिष्ट पार्टीको सदस्यता त्याग्नुपर्ने, हुन नपाइने नियम रहेको अमेरिकामा एमालेले कांग्रेसलाई पछ्याउँदै भातृसंस्थाको हैसियतमा प्रवासी मञ्चलाई जन्मायो । एमालेका हरेक महाधिवेशनमा प्रवासी मञ्चलाई प्रतिनिधिको कोटा समेत दिँदै आएको तथ्य पनि कसैबाट छिपेको छैन ।
 
कांग्रेस र एमालेको सिको गर्दै अमेरिकाले आतंककारी घोषणा गरेको माओवादीले पनि भित्री रुपमा, अतिनै गोप्य ढंगले जनप्रगतिशिल मञ्च स्थापना गरिसकेको रहेछ । एमाले र माओवादीको एकीकरणपछि गत वर्ष यो तथ्य खुलेको हो । यही मेसोमा राप्रपा पनि अघि बढ्यो । तराईका दलहरु पनि के कम र ? 
 
अहिले अमेरिकामा कसैले ‘हाम्रा साथीहरु’ भनेर कुरा थाल्यो भने उसको नेपालको राजनीतिक आवद्दता बुझेर उसले साथीहरु भनेको त्यही दलका यहाँका कार्यकर्ता हुन् भनेर बुझ्नुपर्ने जरुरी भैसक्यो । अमेरिकाको भूमिमा बसेर यहाँको चुनावको चासो छैन, आफू बसेको सिटीमा के भैरहेको छ भनेर चासो छैन । छोराछोरीका स्कुल कसरी चलेका छन् जानकारी छैन । चासो छ त केवलनेपालको राजनीतिक दलको र यहाँस्थित तिनका भातृसंस्थाका । 
 
तत्कालिन एमाले निकटको प्रवासी मञ्चले पनि आफूलाई अमेरिकी कानुन अनुसार फाइभ–ओ–वान–सी अनुसार दर्ता गरेको छ । तर अमेरिकामा बस्ने सारा नेपालीलाई ज्ञान छ, यो एमालेको भातृसंस्था हो भनेर । तत्कालिन एमाले र माओवादीको एकीकरणपछि बनेको नेकपाले यहाँका प्रवासी संगठनलाई पनि एकीकरण गर्यो । 
 
प्रवासमा भातृ संगठननै नराख्ने भनेर सो पार्टीका प्रवक्ताले पत्रकार सम्मेलनमा भनेको ६ महिना पछि बितेको छैन । दुई साता अघि नेकपाको केन्द्रिय कार्यालय काठमाडौंले प्रवासमा रहेका संस्थाहरुलाई फेरि व्युँताउने घोषणा गर्यो । यो घोषणापछि अन्य देशमा केही भएको छैन । तर अमेरिकामा भने कलह थपिएको छ । 
 
नेकपाले मान्यता दिएको र संस्था व्युँतिएको खुशीयाली एक पक्षमा छ । अर्को पक्ष भने हामी भातृसंस्था होइनौँ भन्दै फाइभ–ओ–वान–सी अनुसारकै पुरानो संस्थालाई व्युँताउँछौ भनेर संस्था अघि बढाउन लागेका छन् । 
 
दोस्रो पक्षले नेकपाको भातृसंस्था प्रवासी नेपाली एकता मञ्च नभएको दावी पनि गरिरहेको छ । यो पक्षले प्रवासी नेपाली एकता मञ्च अमेरिकामा दर्ता भएको सामाजीक संस्थामात्र भएको पनि तर्क राख्दै आएको छ । उदेकलाग्दो भित्री पक्ष चाँही यो हो कि–यही पक्षका नेताका रुपमा चिनिएकाहरुनै यतिखेर नेपालमा नेकपाका नेताहरुलाई फोन गरेर ‘मिलाइदिन’ र ‘आफूलाई आधिकारिक संस्थाको मान्यता दिलाइदिन’ रातभरि फोनमा व्यस्त छन् । 
 
जे जसरी दर्ता भएपनि । जे नाम दिएपनि । जो जो यसमा सकृय भएपनि प्रवासी मञ्च पहिले एमालेको र अहिले नेकपाको प्रवासी भातृ संस्था नै हो । अमेरिकामा बसेका र नेपालको राजनीतिलाई सामान्य चासो दिने हरकोहीबाट नछिपेको तथ्य हो यो । ‘भातृसंस्था होइनौ हामी’ भनेर कसैले भन्दैमा कसैले पत्याउनेवाला पनि छैन । किनकी यसमा सकृयहरुको नेपालदेखिको आवद्दता, तिनका परिवारका सदस्यहरुको राजनीतिक पद र पहुँच, नेपालबाट नेकपाका नेताहरु अमेरिका आउँदा देखिने व्यस्तताले नै यो तथ्यलाई प्रमाणित गर्दै आएको छ ।
 
आतंककारी विन लादेन कहाँ लुकेर बसेको छ भन्ने कुरा पत्ता लगाउने अमेरिकाको गुप्तचर एजेन्सी, सद्दाम हुसेन कुन सुरुङ्गभित्र थियो भन्ने तथ्य पत्ता लगाउने अमेरिकी एजेन्सी, रसियादेखि लिएर सारा युरोप, अष्ट्रेलियाका हरेक सूचना लिएर बसेको अमेरिका, प्रवासी नेपाली एकता मञ्च भन्ने नाम गरेको संस्था नेकपाको भातृसंस्था हो भन्ने तथ्यबाट बेखबर छ भनेर दुनियाले पत्याइदिनुपर्ने ? संसारको सूचना बोकेर बसेको अमेरिकी सरकार आफ्नै मुलुकभित्र भएका गतिविधि, संस्थाहरुका बारेमा पक्कै बेखबर छैन । आफ्नो भूमि, नागरिक अधिकार, अमेरिकी संविधानमा कुनै आघात नपुगेसम्म अमेरिकाले यस्ता झिनामसिना कुरामा चासो नदिएको मात्र हो । 
 
नेकपाको भातृसंस्था होइनौ पनि भन्ने । अनि नेकपाकै महाधिवेशनमा जान लुछाचुँडी गर्ने । यो भन्दा द्वैध चरित्र खोज्न अन्त जानु पर्दैन । सबैलाई थाहा छ–प्रवासी मञ्चका नेता, कार्यकर्ताको राजनीतिक पहुँच कतिसम्म, कस्को कोसँग छ भन्ने कुरा । 
 
अहिलेको यो संस्थाभित्रको कलह भातृसंस्था हौ र होइनौ भन्ने भन्दा पनि पद पाउने र नपाउनेका बीचको भन्ने तथ्य छर्लङ्गै भैसकेको छ । पद पाउनेले नपाउनेलाई पेल्ने उचित अवसर यही हो भन्ने र नपाउनेले संस्थाको नाम कव्जा गरेको देखाउनु जग हसाउँनुमात्र हो । अमेरिकाको नेपाली समुदायमा कलह थप्नुमात्र हो । दोस्रो समूहको कृयाशीलता एकाध महिना त होला । तर भोली नेकपाले मान्यता नदिनासाथ दोस्रो समुह मरिच चाउरिए जस्तै हविगतमा पुग्नेछ । अनि पहिलो समूह भने युद्ध जितेजस्तो मनोभाव लिएर कसैलाई नटेर्ने निश्चित छ । 
 
यसले फाइदा कस्लाई पुग्ला ? के अमेरिकाको नेपाली कम्युनिटीलाई यसबाट कुनै उपलव्धि मिल्नेछ ? जनसम्पर्कका अध्यक्ष विष्टज्यूसँग सोध्न चाहन्छु–तपाइका छोराछोरी जनसम्पर्कमा कृयाशील छन् ? तपाइले फोनमा गर्ने संस्थागत वातचितलाइ चासो पूर्ण ढंगले सुन्ने गरेका छन् ? अवश्य छैनन् । 
 
अनि प्रवासी मञ्चका संस्थापक सञ्जय थापासँग जिज्ञासा राख्छु–तपाइका हुर्किएका छोराछोरीले प्रवासी मञ्चको नेतृत्व गर्नेतिर चासो देखाउँछन् ? संस्थाको गतिविधीमा तपाइकै जस्तो सकृयता उहाँहरूदेखाउनुहुन्छ या झिँजो मान्नुहुन्छ ? अवश्य पनि उहाँहरूले तपाइका गतिविधिहरूलाइ चाख मानेर ग्रहण गरेजस्तो महसुस गरेको संकेत देखिदैन । 
 
भनाई छ–हलेदो हो भन्ने जानिसकेपछि कोट्याउनु जाति हुन्न । नेपालको राजनीतिक दलको भातृसंस्था नखोल्नु थियो । तर खोलिहाल्नुभयो । खोलिसकेपछि एउटै आस्था बोकेर हिँड्ने तपाईहरु त मिल्न सक्नुहुन्न । तपाइहरुले नेपाली समुदायको हितमा अघि बढिरहेका छौ भनेका कुरा यहाँका दाजुभाई–दिदीबहिनीले पत्याइदिनुपर्ने ? छद्म नाममा भएपनि तपाइहरु आफूचाँही संस्थामा बस्नैपर्ने । अनि तपाईहरुले पारदर्शी रहेको कुरा भनिरहँदा अमेरिकाका नेपालीले थपडी मारिरहनुपर्ने ? महाधिवेशनमा जान उतैबाट नाम राख्न दवाव दिलाउने । अनि एमाले होइनौ भनेर तपाइहरूले भन्दा यहाँका नेपालीले विश्वास मानिदिनुपर्ने ? 
 
घिउ खानुनै छ भने हाकाहाकी खानु जायज ठहरिन्छ । तर कम्बल ओढेर खाँदा त्यसबाट राम्रो सन्देश जादैन । 
 
नेपाली कांग्रेस सभापति आदरणीय शेरबहादुर देउवाज्यू, नेकपा अध्यक्षद्वय आदरणीय केपी शर्मा ओली तथा पुष्पकमल दाहालज्यू । तपाइहरुका यी प्रवासका संस्थामा आवद्द कार्यकर्ताहरु आफैँमा त मिल्न सक्दैनन् । विधान अनुसार हिँड्दैनन् । प्रजातान्त्रिक प्रकृयामा विश्वास राख्दैनन् भने किन संस्था राख्न दिइरहनुहुन्छ ? हुनतः तपाइहरु आफैले टीका लगाएर नेतृत्व थोपरेकै कारणले पनि विवाद बढेको तथ्यलाई भुल्न पनि कहाँ सकिन्छ र ? यसर्थ नेपालीको भलो चाहनुहुन्छ भने विदेशमा भातृसंस्थाहरु खोल्ने क्रमलाई पूर्णविराम लगाइदिनुस् । भोली नेपालमा भारतको कांग्रेस आइले भातृसंस्था खोल्यो भने नेपालले स्विकार गर्छ ? बिजेपीले नेपाल च्याप्टर खडा गर्यो भने नेपालका लागिसैह्य हुन्छ ? या अमेरिकाको रिपब्लिकन पार्टीले सम्पर्क समिति खोल्यो भने सरकारले मान्यता दिन्छ ? 
 
देउवाज्यू, ओलीज्यू तथा दाहालज्यू । अमेरिकामा नेपाली–नेपालीबीचमा कलहको बीउ बनेका तपाइहरुका भातृसंस्थालाई आजैदेखि प्रतिवन्ध लगाइदिनुस् । पञ्चायतकालमा निश्चित उद्वेश्यका खातिर जन्माइएका यी संस्थाको अहिले कुनै पनि सान्दर्भिकता छैन । यो नै नेपाल देश र नेपालीको सर्वोपरी हितमा हुनेछ । यिनले समुदायको हित होइन, विग्रह र कलहमात्र थपेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया