जीवन एक - मोड अनेक

गोविन्दसिंहलाई प्रवाशमा पनि भाषा र साहित्यले छोडेन

नेपालै फर्कौं जस्तो लाग्छ तर....

प्रकाशित |
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो नयाँ स्तम्भ प्रारम्भ गरेका छौँ - सम्पादक )
 
क्यानाडा, टोरन्टोको वार्डन एभिन्यु, घर नम्बर ५९९ को मूल ढोकाबाट भित्र पस्ने बित्तिकै लाग्छ यो पक्कै पनि नेपाली कला, साहित्य र संस्कॢतिको पारखी बस्ने घर हो । बैठक कोठाको भित्तामा सजिएका नेपाल झल्काउने तेल चित्रहरु , कलात्मक नेपाली भाँडा बर्तन र बुध्द मूर्तिहरु अनि नेपाली साहित्यिक पुस्तकहरुको संगालोले त्यो स्यानो तर चिटिक्क घर कलात्मक देखिन्छ । 
 
 
हो, त्यहि सुन्दर घरमा बस्छन् गोविन्दसिंह रावत । नाटक, कथा, कविता र समसामयिक विषयमा,कलम चलाउन पोख्त गोविन्दसिंह राम्रा नाट्यकर्मी पनि हुन् । कुनैबेला नेपालमा सडक नाटकको माध्यमवाट जनचेतना जगाउने अभियन्ता मध्येका एक, उनी जीवनको यो मोडमा परदेसिएर क्यानाडावाशी भएका छन् । 
 
न्वारानमा टेकबहादुर रावत नामाकरण गरिएका गोविन्दसिंह भारतको शिलाङ्गमा  मार्च १६, १९५८ मा जन्मिए । राणा कालमा प्रजातान्त्रिक आन्दोलनको पक्षमा लाग्दा बुबा शेरसिंह रावतले मुग्लान भाग्नु पर्यो । त्यसवेला शिलाङ्ग आसाममा पर्थ्यो । त्यहि शिलाङ्गको  मोप्रेम  स्थान गोविन्दसिंहको जन्मथलो बन्यो । 
 
चुलबुले बाल्यकाल  र शैक्षिक मोड 
डा. गोविन्दसिंह रावत
आमा गङ्गादेवी रावतको कोखबाट जन्मिएका गोविन्दसिंहले बुबाको माया भने लामो समय पाउन सकेनन् । उनी स्यानो छंदै बुबाको निधन भयो ।  उनको बाल्यकाल आमा, दाई र दिदीसंग वित्यो । 
 
स्यानैदेखि उट्पट्याङ्ग र हंसमुख स्वभावका गोविन्द अरुलाई हँसाएर मनोरन्जन दिन खप्पिस थिए । उनको प्रारम्भिक शिक्षा शिलाङ्गको रायबहादुर अनुपचन्द्र हिन्दी हाइस्कुलमा भयो । स्कुले जीवनमै गोविन्दसिंहको कलाकारिताले टूसो हाल्न थालेको थियो । मन्चमा गएर आफ्नो कला प्रदर्शन गर्न धक नमान्ने उनको स्वभावले आखिर गोविन्दलाई सफल रङ्गकर्मी बनायो ।
 
वि.स २०३५ मा शिलाङ्ग कलेजबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेपछि अर्थशास्त्रमै स्नातकोत्तर गर्न उनी इस्टर्नहिल यूनिभर्सिटी भर्ना भए । तर त्यो अर्थशास्त्रले लोभ्याउन सकेन । उनलाई नेपाली भाषामै धेरै ज्ञान लिन पाउने हुटहुटी थियो । आफ्नो भाषा, संस्कॢति र साहित्यप्रतिको लगाव गोविन्दलाई नेपालसंग नजिक्याउने माध्यम बन्यो । र त्यसको सुत्रधार बने फणिन्द्र उपाध्याय । फणिन्द्रले नै उनलाई त्रिभुवन विश्वविध्यालयमा नेपालीमा स्नातकोत्तर गर्न उत्प्रेरित गरे ।  
 
त्यसपछि गोविन्दसिंहको जीवनमा  नयाँ मोड शुरु भयो । नेपाली भाषा, साहित्य र कला मात्र हैन उनलाई त्यहाँको विध्यार्थी राजनीतिले पनि आकर्षित गर्न थाल्यो । उनले २०३९ मा नेपालीमा एमए पुरा गरे । 
 
गोविन्दसिंह नेपाल आउँदा राजनीति निक्कै तातिएको थियो । २०३६ सालमा त्रिभुवन विश्वविध्यालय  भर्ना हुँदा विध्यार्थी राजनीति उत्कर्षमा हुनाले त्यसबाट अछुतो हुने संभावना थिएन । उनले पनि प्रजातान्त्रिक धारको नेविसंघसंग आबध्दता गर्दै  आन्दोलनमा सक्रियता बढाए ।  वीपी कोइरालाको नाम र उनको व्यक्तित्व गोविन्दसिंहले शिलाङ्ग हुँदै बुझ्न थालेका थिए । त्यो व्यक्तित्वको आकर्षणले  पनि नेविसंघतिर लाग्ने बाटो देखायो -उनी यसै भन्छन् ।
 
जीवनका घुम्तिहरुमा फन्को मार्दा मार्दै गोविन्दसिंह सात समुन्द्रपारी क्यानाडा पुगे । त्यहाँ पुग्दा पनि उनको अध्यनशीलता थामिएन , नेपाली हुनुको गर्व थियो,  त्रिभुवन विश्वविध्यालयको नेपाली केन्द्रीय विभागबाट २०६८ सालमा विध्यावारिधि गरे । विध्यावारिधिको विषय थियो- नेपालमा सडक नाटकको विकास प्रक्रिया ।  
 
क्यानाडा बस्न थालेपछि  यतैको सर्टिफिकेट हुँदा काम पाउन सजिलो हुनेरैछ , अनि त पढ्नै पर्यो ( गोविन्दसिंहले यसो भनिरहंदा क्यानेडियन विजिनेस कलेज , टोरन्टोबाट विजिनेस एकाउन्टिङमा स्नातक गरेको कुरा पनि बताए ।
 
काम भगवान हो 
भारतबाट नेपाल आएर विश्वविध्यालय धाउन थालेपछि खर्च धान्न पैसा चाहिने भयो । जागीरको खोजाइमा केहि समय बितेपछि जावालाखेलको अरनिको विध्यालयमा शिक्षकको काम भेट्टाए, तलब थियो छसय रुपियाँ । तर त्यो जागीरले काठमाण्डुको महङ्गी के धान्थ्यो १ प्रेम विबाह भैसकेको थियो , परिवार पनि धान्नु पर्यो । हुन त पत्नी कुशुमले पनि शिक्षिकाको जागीर शुरु गरेर भरथेग गरिन् । 
 
कामलाई भगवान ठान्ने गोविन्दसिंहले थकाइ मारेनन् बरु जापनिज  सियारियो ईलेक्ट्रिकल कम्पनीमा स्टोर किपरको जागीर शुरु गरे मासिक १२ सय तलबमा । अबभने उनलाई अलिकति सजिलो भयो । तर उनको ध्यान भने कलेजमा अध्यापन गर्नेतिर थियो । वरिष्ठ साहित्यकार तुलसी दिवसको सहयोग र सद्भावले काम गर्यो । तत्कालीन शिक्षा मन्त्री फत्तेसिंह थारुको तोक आदेशमा त्रिभुवन विश्वविध्यालयले गोविन्दसिंहलाई सहायक प्राध्यापकको नियुक्ति दिएर भक्तपुर क्याम्पस पठायो । त्यहाँ उनले इमान्दारीपुर्वक १८ वर्ष पढाए । वि।स २०४२ देखि २०५९  सम्म कतै सरुवा नमागी भक्तपुर धाए । 
 
उनको जीवनमा सबैभन्दा खुशी आएको दिन पनि जागीरसंगै जोडिएको रहेछ । कलेजको सहायक प्राध्यापक , टिचिङ अस्पतालको जापानिज प्रोजेक्टमा प्रशासक र सहकारी विकास बोर्डमा सूचना अधिकॢतको जागीर पाएको सूचना गोविन्दसिंहले एक्कैदिन पाएछन् । त्यो संयोगलाई उनी आफ्नो खुशीसंग जोड्न रुचाउछन् । 
 
अहिले उनी परदेशमा छन् । सम्पन्न विकशित मुलुक क्यानाडाको एउटा सेक्युरिटी कम्पनि(मा सुपरभाइजरको काम गर्छन् । उनलाई आफ्नो कामप्रति गर्व लाग्छ । बाँकी समयमा क्यानाडा आएका नेपालीहरुलाई अध्यागमन सम्बन्धी काममा सघाउँछन् । दोभासे गर्नेदेखि उनीहरुको डकुमेन्टहरु तयार पार्ने गर्छन् । त्यस बापत पनि उनलाई खर्चमा भरथेग हुन्छ । 
 
बिबाह भएको दश वर्षमा ससुराली
विश्वविध्यालयमा पढ्दापढ्दै कुशुम शर्मासंग प्रेम बस्यो । तर कुशुम बाहुन परिवारकि हुनाले गोविन्दसिंहले सजिलै बिबाह गरेर भित्र्याउन सकेनन् । क्षेत्रीको छोरोलाई कुनै पनि हालतमा छोरी नदिने कुशुमको परिवारको हठ थियो । त्यो हठलाई  जितेरै छोड्ने दुबैले निर्णय गरे । २४ वर्षे गोविन्द र २१ वर्षकी कुशुमले २०३९ सालमा प्रेम बिबाह गरेरै बाजी मारे । 
 
तर बाजी मारे  पनि न त गोविन्दले ससुरालीको मेजमान खान तुरुन्त पाए न कुशुमले माइतिको स्नेह । दश वर्ष कुर्नु पर्यो उनीहरुले त्यहाँ भित्रिन । अन्तत दुइजनाको अगाध प्रेमको अघाडि कसैको ढिपी चलेन , ढीलै भएपनि कुशुमले माइतिको स्नेह पाइन्  ,गोविन्दले ससुरालीको स्वागत । 
 
साहित्य र कलाकारिता यात्रा
साहित्य र कलाकारितामा शुरुदेखिनै रुची हुनाले गोविन्दसिंहलाई यो क्षेत्रमा अघाडि बढ्न खासै ठूलो संघर्ष गर्नु परेन । भक्तपुर कलेजमा पढाउन थालेपछि उनको सम्पर्क बढ्यो। पत्रकार, साहित्यकार, प्राध्यापक र रङ्गकर्मीहरुसंग उनको उठबस हुन थाल्यो । अहिलेका चर्चित नाट्यकर्मी उनका साथी अशेष मल्लसंग मिलेर सर्वनाम शुरु गरे । सडक नाटकमा सर्वनामले बजार लिन थाल्यो । मुर्दात्रासमा उठेका हातहरु  नामक सडक नाटकलाई तत्कालीन पन्चायती सरकारले रोक लगायो । तर तन्नेरी नाट्यकर्मीहरु कहाँ हार मान्थे, उनीहरुको नाटक यात्रा थामिएन । नाटक संगसंगै कविता यात्राले पनि साथ दियो। गोविन्दमा  नेपाली भाषा र साहित्यको आकर्षण कहिल्यै कम भएन । शायद त्यसैले आज पनि गोविन्दको जिन्दगीको एउटा मोडमा भाषा, साहित्य र कलाकारिताले स्टेरिङ्ग् समातेकै छ । 
 
नाटक देखाउन भनेपछि दशहात  माथि उफ्रिने गोविन्दसिंह २०४२ सालमा नाटक देखाउन काभ्रेबाट साँखु आउँदा बस दुर्घटनामा झन्डै मरेर बाँचेको अहिले पनि सिरिङ्ग हुँदै सम्झिन्छन् । त्यो खतरनाक दुर्घटनामा उनीसंगै अशेष मल्ल , किशोर पहाडी र झापाका अर्जुन तिम्सिना थिए ।  
 
२०४६ सालमा मुलुकमा प्रजातन्त्र बहाली भएपछि गोविन्दको कलाकारिताले अझै फक्रिने मौका पायो । रेडियो नेपालमा दिन प्रतिदिन र गिती गन्थन जस्ता कार्यक्रमहरु संचालन गर्न भ्याएका उनले टेलिभिजनको पर्दामा समेत आफ्नो अभिनय क्षमता देखाए । क्यानाडा आएपछि पनि उनलाई रेडियोमा बोल्ने ह्याङ्गओभरले छोडेन । टोरन्टोको पहिलो नेपाली रेडियो नमस्ते रेडियोको संस्थापक भएर कार्यक्रम प्रस्तोता पनि भए । 
 
किन तान्यो क्यानाडाले ?
 
नेपालमा माओवादी विद्रोह उत्कर्षमा  थियो । प्रत्येक दिन बम , बारुद र बन्दुकको आतंकले जनजीवन त्रसित देख्थे गोविन्द । छोरीहरु इन्डियन मोडेल स्कुलमा पढ्थे । एकदिन त्यो स्कुलको बस माओवादीले आगो लगाएर खरानी बनाएको घटनाले उनलाई आफ्नो सन्तानको सुरक्षाको चिन्ताले सताउन थाल्यो । कुनैबेला पनि अप्रिय घटना हुनसक्ने, आफूले कल्पना नगरेको समाचार आउन सक्ने त्रासले गोविन्दको मन र मस्तिष्क सधैं खल्बलिन्थ्यो । 
 
यस्तै त्रासै त्रसमा एकदिन राइजिङ्ग नेपालमा क्यानडामा आप्रवाशी सुविधा  सम्बन्धी विज्ञापन देखें ।  Imigration to Canada-2002  भन्ने सो विज्ञापनले मेरो दिमागलाई गतिलो खुराक दियो । इमेल मार्फत तुरुन्त सम्पर्क गरें । छोरीहरुको सुरक्षा मेरो मुख्य चासो थियो । उनीहरुकैलागि मैले यस्तो आँट गरेको थिएँ । शायद मैले क्यानाडा भोग्नु पर्ने थियो । मैले भीसा पाएँ । गोविन्दसिंहले यसो भनिरहंदा मैले लाखौं विदेशिएका नेपालीहरुलाई सम्झेँ । 
 
त्यसो त उनलाई अमेरिकाको डिभी पनि परेछ । तर क्यानाडाको सामाजिक सुरक्षा व्यवस्था र अन्य सुविधाहरु बुझेपछि अमेरिकी मोह त्यागेर मइ २७,२००२ मा टोरन्टो बसांइ सरे । दुईटी छोरी र श्रीमति संगै लिएर आएपनि आफू भने नेपाल नै फर्किने सोच थियो । कलेजको जागीर थियो , कलाकारिता र साहित्य उतै थियो । परिवारको व्यवस्था गरेर गोविन्द एक महिनामै नेपाल फर्के । त्यहाँ पुगेर फेरि मन अशान्त हुन थाल्यो । दुइतिर छुट्टिएर बस्नु पर्दाको पीडाले हरेक दिन’ उनलाई पोल्न थाल्यो । पाँच महिना मै उनी क्यानाडा फर्के । २००५ मा आमालाई पनि क्यानाडा ल्याएपछि भने उनको स्यानो संसार प्रवाश मै रमाएको छ ।  
 
यहाँ पनि उनलाई आफ्नो भाषा, संस्कॢति र समुदायले सधैं तान्ने गर्छ । क्यानाडा आएपछि उनको नाटक कर्म कम भएपनि लेखनमा भने निक्कै सक्रियता बढेको छ । कहिले काही त लाग्थ्यो किन यता आएर यस्तो काममा समय खेर फालेको होला ? तर लेखन र अरु सामुदायिक कामले त्यस्तो सोचलाई पछाडि धकेल्यो  गोविन्दसिंह चित्त बुझाउँछन् । 
 
नेपाली समुदायमा अंग्रेजीको बढी नै आसक्ति देख्दा उनलाई पिरोल्छ । अझै यतै जन्मेका बालबालिकाकालाई  बाबुआमाले आफ्नो भाषा सिकाउन अल्छी गरेकोमा उनलाई खपिनसक्नु हुन्छ । मातॢ भाषा यसरी अपहेलित भएको देखेपछि गोविन्दसिंहले टोरन्टोमा एउटा अभियान नै चलाए ।  घरमा नेपालीमा बोल्ने बानी बसालौं , भाषा रहे हाम्रो अस्तित्व रहन्छ-  यो नारा उनले आफ्नो अनलाइन पत्रिका खबर सम्प्रेषण मार्फत प्रचार त गरेकै छन् , नेपाली समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा यसलाई प्रमुखता दिन्छन् । 
 
सन् २००६ देखि टोरन्टोमा नेपाली भाषा स्कुल संचालनमा छ, नेपाल र क्यानाडा दुबैलाई चिनाउने पाठ्यक्रम समेत तयार भैसकेको छ । यस्तो सत्कार्यमा गोविन्दसिंहको सक्रियता नहुने कुरै भएन । हरेक वर्ष वॢहत नेपाली भेलाको आयोजना हुन्छ हिमालय फेस्टीवलको नामले । नेपाल चिनाउने त्यो मेलाको संस्थापक संयोजक भएर उनले सहयोग पुर्याएका छन् । नेपाली साहित्य समाज, क्यानाडाको संस्थापक, हाल अध्यक्ष छन् उनी । गैर आवासीय नेपाली संघ, क्यानाडाको संस्थापक मध्येका एक गोविन्द नेपाली टोपी ईभेन्टका संस्थापक संयोजक पनि हुन् । 
 
तर नेपाली राजनीति जोडिएर स्थापना भएका कुनैपनि सस्थामा आबध्द छैनन् । नेपाली राजनीतिको चरम विकॢति परदेशमा पनि देखेपछि उनलाई वितॢष्णा हुन्छ । 
परदेशमा हाम्रो पहिचान नेपाली हो । अरु जात, क्षेत्र र नेपाली राजनीतिक दलमा विभाजित भएर जग हसाँउनु छैन-
स्पष्ट छन् उनी आफ्नो विचारमा । 
 
आमा साक्षात भगवान 
आफ्नी ९८ वर्षीया आमा संग
आफ्नी ९८ वर्षीयाआमालाई गोविन्दसिंह साक्षात भगवान मान्छन् । आमाको ममता र आशीर्वादले नै  परदेशमा आफ्नो स्यानो परिवार खुशी र सुरक्षित भएको ठान्छन् उनी । श्रीमति कुशुम र छोरीहरु नेहा र दॢष्टि अनि आमासंगै टोरन्टोमा रमाइरहेका गोविन्दसिंह धार्मिक पनि छन् । आमाको सेवा ठूलो धर्म हो भन्ने मान्यता राख्छन् उनी, त्यसैले उनको परिवार आमाको सेवामा अलिकति पनि कमी नहोस् भनेर सतर्क देखिन्छन् । 
 
प्रकाशित कॢतिहरु 
 
डा. गोविन्दसिंह रावतले साहित्यिक सन्तान पनि जन्माएका छन् । नेपाली समाजमा व्याप्त विकॢति र  विसंगतिमाथि चोटिलो प्रहार उनको लेखनका विशेषता हुन् । पुर्वान्चल भारतको नेपाली कविता, प्रजनन् स्वास्थ्य तथा विकास विषयक सडक नाटक आलेखको सङ्गालो र नाटक सङ्ग्रह नेता उनका प्रकाशित पुस्तकहरु हुन् । 
 
त्यस्तै विश्व रंगमन्चमा सडक नाटक परम्परा नामक अनुसन्धान र गङ्गा कथा संग्रहका लेखक गोविन्दसिंह कुनैबेला मेन्डलियनका शौखिन थिए । तर आजभोली मेन्डलियनको तारसंग टाढा भएका छन् । उनलाई लेखन नै प्यारो लाग्छ । उनको बारेमा अरुले पनि अनुसन्धान शुरु गरेका छन् । वि सं २०७२ मा त्रिभुवन विश्वविध्यालय, नेपाली विभागमा अध्ययनरत् पूर्ण कुमारी रोकाले गोविन्दसिंहको जिवनी, व्यक्तित्व र कॢतित्वका बारेमा शोधपत्र नै तयार गरेकी छन् । 
 
नेपाल फर्कने मन त छ तर.....
  
दुईटी छोरी र श्रीमति संगै
 
गोविन्दसिंहको जीवनमा संयोगले निक्कै अर्थ राख्दोरैछ । १९८१ मा शिलाङ्ग छोड्दा विश्वकर्मा पूजाको दिन थियो, नेपाल छोडेर २००२ मा क्यानाडा आउँदा बुध्द जयन्ती । 
 
पन्ध्र वर्ष बिताइसके क्यानाडामा । परिवार सबै यतै छन् । आर्थिक अवस्था भरपर्दो नै छ । तर पनि कुनैबेला नेपाल नै फर्कौं जस्तो लाग्छ उनलाई । नेपालको जस्तो माया अरुको कसरी लाग्छ र ? गोविन्द आफैं प्रश्न गर्छन् । तर उताको अस्थिरता र यताबाट फर्किनेहरुप्रति उताकाले हेर्ने दॢष्टिकोण सम्झिदा भने असमन्जसमा पर्छन् उनी । अझै अमेरिका र क्यानाडाबाट फर्कनेहरुप्रति त नेपालमा अधिकांशको हेराइ नै बेग्लै हुन्छ भन्ने गोविन्दको बुझाई छ ।
 
नेपालसंग हरेकपल्ट जोडिन मन छ । स्थिरता र उपयुक्त वातावरण भैदिए को बस्छ परदेशमा? गोविन्दसिंह रावतको मनको व्यथा त बुझ्न सकिन्छ तर नेपाल फर्किने साइत भने कहिले जुर्ने हो , स्वयम् उनलाई पनि थाहा छैन । 
 
Email:tbaral09@gmail.com
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया