साहित्य सिर्जना

धर्तीसँगै काँपेको मेरो कोमल मुटु

प्रकाशित |
जीवनको यो मोडसम्म आइपुग्दा मैले पनि केही कम्पनको अनुभव गरेकी र देखेकी थिएँ । कहिलेकाहीँ म आफैँलाई पनि कामज्वरो आउँथ्यो । म सानै हुँदा गाउँघरमा बिरामीको उपचार गराउन धामी–झाँक्री लगाउँथे र तिनी ‘हेर मनुवा’ भन्दै काँपेको पनि देखेकी थिएँ । तर, मैले जीवनमा पहिलोपल्ट आफ्नैसामु धर्ती यसरी काँपेको देखेकी हुँ । ओहो १ आफ्नै घरअगाडि उभिएर आफ्नै यतिञ्जेलसम्मको थोपाथोपा पसिनाको कमाइ एउटा सिङ्गै घर यसरी थर्किरहेको देख्दा मेरो मुटु लगलगी काँपिरहेको थियो । म पानीपानी भएकी थिएँ ।
 
यो घटना २०७२ साल वैशाख महिनाको १२ गते दिनको ठीक ११ बजेर ५६ मिनेट जाँदाको हो । बिदाको दिन परेकाले म बिस्तारामा पल्टेर राधा पौडेलद्वारा लिखित ‘खलङ्गामा हमला’ नामक पुस्तक पढिरहेकी थिएँ । अचानक म पल्टेको बिस्तारा पूरै हल्लियो । म हतारहतार राहुल र साहिल दुई छोराको साथमा तल झरेँ । बाटोमा पूरै टोलभरिका मानिस जम्मा भइसकेका थिए । त्रासले मुटु थरथरी काँप्यो । खुट्टा गलेर फतक्क भए । आफू उभिएको जमिन भासिँदै गएजस्तो भयो । चारैतिर त्राहिनाम–त्राहिनामको आवाज गुञ्जिरहेको थियो । मैले पनि भगवान्को नाम जप्न पुगेछु ।
 
अप्ठ्यारो पर्दा ज्यानको माया सबैलाई हुँदोरहेछ । घर बेस्सरी काँपिरह्यो । अब घर ढल्ने भो भनेर घरभन्दा बढी मेरो मुटु काँप्यो । करिब ५४ सेकेन्डपछि बल्ल बिस्तारै कम्पन घट्दै गयो, अनि लामो उच्छवास निकालेर भुइँमा थुचुक्क बसेँ । एकैछिन आफूलाई नै महसुस गर्न बिर्सिएँ मैले, आफैँ छु वा छैनजस्तो । भूकम्प रोकिएपछि पनि कल्पनाले नै काँप्न थाल्यो, मेरो मुटु । हुन पनि एकपटक होइन, दुईपटक होइन– कयौँपटक काँप्यो धर्ती त्यसैदिन मात्र ।
 
ओहो ! केही समय त्यति डरलाग्दो अवस्था भए पनि त्यसले त्यति ठूलो राष्ट्रिय विपत्ति निम्त्याउला भनेर मैले कल्पनासम्म पनि गरेकी थिइनँ । जब बिस्तारै देशका ऐतिहासिक, धार्मिक, पुराता¤िवक धरोहरसँगै कयौँ घर ध्वस्त भएको खबर समाचारमा आउन थाल्यो, तब सबै जना ‘अब के–के हुने हो रु’ भनेर त्रसित हुँदै गए ।
 
सबैभन्दा पहिले त रणबहादुर शाहकी कान्छी रानी ललितत्रिपुरासुन्दरीले आफूलाई सति जानबाट बचाएको हुनाले भीमसेन थापाप्रति कृतज्ञता व्यक्त गर्दै उनकै नाममा निर्माण गरेको धरहरा (भीमसेन स्तम्भ) ढलेको र त्यसमा चढ्दै गरेका करिब ४०/५० जना मानिस पुरिएको समाचारले म स्तब्ध भएँ । त्यसपछि काठमाडौँलगायत गोर्खा, सिन्धुपाल्चोक, धादिङ आदिमा थुप्रै घर भत्किएको र त्यसमा पुरिएर हजारौँ मानिसको मृत्यु भएको हृदयविदारक समाचारले मेरो मन थामिन सकेन । गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७।८ रेक्टर स्केलको भूकम्प गएको कुरा सनसनी पूर्ण रुपमा चारैतिर फिँजियो ।
 
ओहो ! प्रकृतिले हामीलाई कहिल्यै नपुरिने घाउ दिएर गयो । देशमा भएको विद्रुप अवस्थाको वर्णन गरी साध्य भएन । संसारमा सबैभन्दा ठूलो क्षति मानिने मानवीय क्षति यस भूकम्पले प्रशस्तै गरायो । थुप्रै मानिसहरु एउटै चिहान बन्न पुगे । कति अङ्गभङ्ग र घाइते भए । कतिका सिंदूर पुछिए, कतिका काख रित्तिए भने कतिका टेक्ने लठ्ठी नै भाँचिए ।
 
समाचार सुन्दै गएँ, गोर्खाकी पार्वती परियार बिहे गरेको तीन दिनमै विधवा बनिन् । त्यसदिन उनको दुल्हन फर्काउन जाने दिन थियो । त्यसैका तयारीका लागि सेलरोटी, कुराउनी आदि पकाएर ठिक्क पारेपछि संयोगवश उनी बाहिर र श्रीमान् घरभित्र भएको अवस्थामा घरमा पुरिएर श्रीमान्को मृत्यु भयो । सिउँदोको सिंदूर फेरिन नपाउँदै खलखल्ती पखालियो । यो खबरले म विक्षुब्ध बनेँ । हे भगवान् ! तिमी साँच्चै रहेनछौ ।
 
हुन त, नित्सेले उहिले नै ईश्वरको मृत्यु भएको घोषणा गरिसकेका हुन्, तैपनि एकछिन त हृदयमा बचेखुचेको ईश्वरप्रतिको आस्थाभाव त्यसैत्यसै बिलाएर गयो । ईश्वरप्रति आस्था मानेर बनाइएका कयौँ देवल स्वयम् भत्किएका थिए । गोर्खाको मनकामना मन्दिर जुन सबैको आस्था र विश्वासको प्रतीक बनेको थियो, त्यो पनि ९ देखि १२ इन्च पश्चिमतर्फ ढल्किसकेको खबर समाचारमा आएको थियो । त्यस्तै, ऐतिहासिक मह¤व बोकेको गोर्खा दरबार पनि क्षतिग्रस्त बनेर कुनैबेला ढल्न सक्ने अवस्थामा पुगेको खबर सुनिन थालियो । नेपालको अस्तित्व जगेर्ना गर्ने यस्ता धरोहर नै ध्वस्त भएपछि नेपाली हुनुको पनि के अस्तित्व रह्यो र ?
 
मानिसभन्दा प्रकृति बलियो हुने भएर नै होला, संसारमाथि नै विजय हासिल गरेको मानिसले प्रकृतिसँग हार खानुप¥यो । त्यस्तै, यो भयावह अवस्थालाई मै हुँ भन्ने कसैले पनि रोक्न सकेन । भूकम्प गएपछि त मसँग बोल्ने आवाज पनि थिएन, न त खुट्टामा हिँड्ने सामथ्र्य नै थियो । त्यसैत्यसै थरथर काँपिरहेकी थिएँ । यही सन्त्रास, यही निःश्वासभित्र पनि समय आफ्नो गतिमा हिँडिरह्यो । दिनको भोक त त्यसै ट¥यो, रातको मीठो निद्रा पनि दिएन यो भूकम्पले । एक सातासम्म त खुला आकाशमुनि गुज्रिरहे दिन । त्यसपछि त मेरो मन यसो भन्न बाध्य भयो– ‘धन्य प्रकृति १ तँ धन्न ५४ सेकेन्डमा नै थामिइस्, अझै केही समय बढेकी भए यो नेपाल
 
आमाको के गति हुँदो हो ?
भुइँचालो रोकिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा जुटे । विभिन्न देशबाट पनि नेपाललाई शक्ति र स्रोतको सहयोग मिल्यो । म साधुवाद टक्र्याउन चाहन्छु सशस्त्र प्रहरी लक्ष्मण बस्नेतसहितको टोलीलाई, जसले ज्यानको समेत पर्वाह नगरी अहोरात्र खटिएर घन्टौँपछि पनि भवनले पुरिएर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका १६ वर्षीय पेमा लामा र ऋषिलाई सकुशल बाहिर निकाल्न सफल भए । त्यस्तै, उनकै सशक्त परिश्रमले ४ महिने शिशुले समेत पुनर्जीवन पायो । १०१ वर्षे वृद्ध पनि बाँचे । त्यसैगरी, गोंगबु बसपार्कस्थित जनसेवा लजबाट २४ वर्षीय कृष्णकुमारी खड्कालाई १२८ घन्टापछि जीवितै उद्धार गरियो । यस्तै–यस्तै अरु थुप्रै मानिसले पुनर्जीवन पाउन सफल भए ।
 
भूकम्प गएको केही दिनसम्म त्यसका पराकम्पन जाँदै गरेको भए पनि पीडितबाहेक अन्यको जनजीवन सामान्य बन्दै गएको थियो । मन पनि भूकम्पको सन्त्रासबाट केही थामिएको थियो । पीडितलाई राहत सामग्री पु¥याउन विभिन्न सङ्घसंस्थालगायत थुप्रै मानिस व्यक्तिगत रुपमा पनि लागेका थिए । पीडितका घाउमा केही मलमपट्टी लाइँदै पनि थियो । यस्तैमा फेरि वैशाख २९ गते दिनको ठीक ११ बजेर ५० मिनेट जाँदा फेरि दोलखाको सुनखानीलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर स्केलको भूकम्प गयो । यो खबरले केही थान्को लागेको मेरो मन पुनः त्रासले भरियो । फेरि यसमा पनि करिब ६० जनाको ज्यान गयो र ११–१२ सयजति घाइते भए । चर्केका केही घर भत्किए । यस भूकम्पले चितवनमा दारेचोक, दाहाखानी, चण्डीभञ्ज्याङ, लोथर आदि केही पहाडी भेग पुनः प्रभावित बन्न पुगे । वैशाख १२ गते गएको भूकम्पमा पनि यिनै भेग बढी प्रभावित बनेका थिए । त्यतिबेला पनि चितवनमा करिब ८ जनाको मृत्यु भएको थियो । २९ गते गएको भूकम्पले चितवनमा २२ जना घाइते र ७० भन्दा बढी घर भत्किएका थिए ।
 
नेपालका लागि विसं १९९० सालपछिको ठूलो भूकम्प थियो यो । सन् १९६० मा चिलीमा आएको ९।५ रेक्टर स्केलको भूकम्पलाई अहिलेसम्मकै विश्वको ठूलो भूकम्प मानिन्छ । यसपछि यस्तै ठूला विनाशकारी भूकम्प हाइटी र इन्डोनेसियामा पनि गएका थिए । नेपालले भने ९० सालपछि करिब ८० वर्षसम्म यस्ता भूकम्प बेहोर्नु परेको थिएन ।
 
हो, यतिबेला नेपाल आमाले निकै ठूलो सास्ती पाइन् । नेपालमा करिब ८,७०० भन्दा बढी जनाले ज्यान गुमाए भने करिब २३ हजारजति घाइते बन्न पुगे । तिनै हजारौँहजार शवसँगै जलेर भष्मीभूत भएको थियो, मेरो मन पनि । अहिले नेपाल आमा आफ्ना सन्ततिको रगतले रगताम्य बनिरहेकी छिन् । आफ्नो काख रित्तिँदाको पीडा उनले पनि भोगिरहेकी छिन् । अहिलेसम्म उनका आँखा ओभाएका छैनन् । उनी आफैँमा स्तब्ध बनेकी छिन् ।
 
खै, अब नेपाल आमालाई एक टुक्रा खुसी दिन उनका सन्तानले सक्छन् कि सक्दैनन् ! उनकै नाममा आएको भेटी उनैलाई चढाउँछन् कि चढाउँदैनन् ! यदि चढाएनन् भने यो आकाश, यो धर्ती अनि ती दिवंगत आत्माले धिक्कार्ने छन् । मैले सुनेको छु, हाइटीमा भूकम्प आएपछि राहत कोषमा थुप्रै पैसा जम्मा भयो, तर त्यहाँको राजनीतिक अस्थिरता र कमजोर सरकारी व्यवस्थापनका कारण अझै पनि थुप्रै भूकम्पपीडित सडक र पालमुनि नै जीवन गुजार्न विवश छन् । कामना गरौँ, नेपालमा त्यो अवस्था नआओस् । पीडितले सहज रुपमा बाँच्न पाऊन् ।
 
साँच्चै भन्नुपर्दा देश यतिबेला भक्कानिएर रोइरहेको छ । खडेरीमा एकझर पानीको पनि निकै महिमा हुन्छ । घाइते अवस्थामा छटपटाइरहेको यो देशलाई सानै मलमपट्टीले पनि ठूलो गुन लगाउन सक्छ । सम्पत्ति नै ठूलो होइन रहेछ भन्ने पाठ पनि यस भूकम्पले सिकाएर गयो । मलाई यतिबेला महाकवि देवकोटाको ‘हातको मैला सुनको थैला के गर्नु धनले’ भन्ने भनाइ सम्झना आइरहेको छ । ‘एकले थुकी सुकी, सयले थुकी नदी’ भनेझैँ सबैले यथाशक्य सहयोग गरेमा पक्कै पनि नेपाल आमाको मुहार फेरिने छ ।
 
मानव शरीर नश्वर छ । यो भौतिक शरीरलाई सबैले एक न एक दिन पुरानो कपडा फेरेझैँ फेर्नुपर्छ । तथापि, आफन्त गुमाउँदाको पीडा कति गम्भीर र असह्य हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । दुःखको यस घडीमा म भूकम्पमा परी देह गुमाउनुभएका सबैसबै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेजनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
 
– शान्ति शर्मा

– शान्ति शर्मा -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया