मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोभिड–१९ महामारीबीच बुधबारदेखि पर्यटकीय बस सेवा सुरु हुने

कोभिड–१९ महामारीबीच बुधबारदेखि पर्यटकीय बस सेवा सुरु हुने


काठमाडौँ । देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणको महामारीका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा सुरु गर्ने भएको छ । 

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बस सेवा प्रालिले कात्तिक १९ गते बुधबारदेखि औपचारिक रुपमा देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस सेवा सञ्चालन गर्न लागेको हो । 

प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ । उक्त बस सेवा काठमाडौँको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् । 

पछिल्लो समय विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै ८ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा सुरु गर्न लागिएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले बताए । 

“रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्न लागेका छौँ,”–उनी भन्छन् । देश दर्शन बस सेवा प्रालिले मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक आचार्यको भनाइ छ । 

आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई माक्सको अनिवार्य व्यवस्था गर्ने, बसभित्र सेनिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले जानकारी दिए ।  

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगित गरिएको थियो । देश दर्शन बस सेवा प्रालिले शुभारम्भको एक साताका लागि काठमाडौँदेखि देशका विभिन्न स्थानमा जानका लागि भाडादरमा ५० प्रतिशत छूट र काठमाडौँ भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छूटको व्यवस्था गरेको बजार व्यवस्थापक लोहनी बताउँछन् ।  

अहिले काठमाडौँदेखि मुख्य पर्यटकीय स्थललाई लक्षित गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । 

पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायीहरु बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ । 

कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चारहजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका थिए ।