मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित

जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित


टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसद्मा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसद्मा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् ।  

किसानको छोरा सुगा अहिले ७१ वर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका थिए ।  

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उनले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताएका छन् । “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उनले भने । 

उनले आफूले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाइँमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उनले व्यक्त गरे । उनको मन्त्रीपरिषद्मा पूर्वअर्थमन्त्री तारो असो र विदेश मन्त्री तोशिमित्सु मोतेगी दोहोरिने संभावना छ ।

सुगाले यसअघि लिएको मन्त्रीपरिषद्को मुख्य सचिवको जिम्मेबारी भने तत्कालिन स्वास्थ्य मन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ ।  

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रुपमा रहेका सुगालाई यसअघि गत सोमबार उनको पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो । 

सुगाले आबे नेतृत्वको सरकार रहेका बेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।  

गत सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उनले ३७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिस्पर्धा गरेका पूर्वविदेशमन्त्री फुमिओ किसिदाले ८९ र पूर्वरक्षामन्त्री सिगेरु इसिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए ।  

निवर्तमान प्रधानमन्त्री आबेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए । उनी सुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउँदै पद त्याग गरेका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरि प्रधानमन्त्रीमा निर्वाचत भएका थिए । त्यसपछि केही दिन अगाडिसम्म उनी लगातार प्रधानमन्त्री भएका थिए ।  

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहेका ६५ वर्षीय आवेले आफ्नो कार्यकाल अझै झण्डै एक वर्ष बाँकी रहेकै बेलामा राजीनामा दिएका हुन् । उनले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उनीसँगै काम गरेका थिए ।  

जापानमा अहिले पनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उनको प्रभाव अत्यधिक धेरै भएको छ ।