छुटाउनु भयो कि?

सेतो भुङ्ग्रो

कथा

प्रकाशित |

‘मानिसहरु किन यतिसम्म निर्दयी हुन्छन् ? भगवान् पनि कति अन्यायी छन् । कसैलाई जन्माएर मिल्काउन दिन्छन् । हामीले चाहिँ ऊ जुनीमा के पाप गरेका थियौँ र यतिका वर्षसम्म पनि एउटा नानी नदिएका होलान् ?’ अनलाइनको एउटा समाचार पढेपछि प्रार्थनाले लोग्नेको ध्यान आफूतिर खिचिन् । 

मोबाइलमा ट्विटर हेर्दै कफी पिउँदै गरेका बद्रीले पत्नीतिर हेर्दै सोधे–‘हैन कहाँ के भएछ र फेरि ?’

‘हेरिस्योस् न ! बच्चा जन्माएर कुन चाहिँ पापिनीले फालिछ । धन्न मान्छेहरुले भेटेर उद्धार गरेछन्’ समाचार पढेर सुनाइन् । ‘यस्ता पापिस्टलाई त भगवान्ले पनि किन दिनु परेको नि सन्तान ?’ उनले निश्कर्ष थियो ।

‘यस्तै हो बाबै, यस्तै । यो संसारमा सबैलाई सबै कुराले कहाँ भरिपूर्ण छ र ? कुनै न कुनै कुराको अभाव भगवानले  गराईदिँदा रहेछन्’ कफी सुरूप्प पार्दै बद्रीले गह्रौँगरी मुख खोले । 

‘मैले यसै हिजोदेखि त्यति ठूलो निर्णय गरेकी होइन् । मलाई हजुरको रगतको अंश भए पनि काखमा खेलाउने रहर छ । मेरो र हजुरको रगत मिसिएर पैदा नभए पनि तपाईंकै रगतको अंशलाई प्यारो ठानेर काखमा लुटुपुटु पार्ने धोको छ‘ उनले आफ्नो अडानलाई पुष्टि गर्ने दलिल पेस गर्ने अवसर उनी किन छाड्थिन् र  । 

गएको वैशाखमा ठ्याक्कै १५ वर्ष पुग्यो उनीहरुको बिहे भएको । इन्जिनियरिङ पृष्ठभूमिका बद्री र भौतिकशास्त्रकी शिक्षिका प्रार्थनाको विवाह पारिवारिक सहमतिमै भयो । झापाकी प्रार्थना र धनकुटाका बद्री दुवैले काठमाडौँबाटै अध्ययन पूरा गरे । पढाइपछि दुवै जना आफ्नो काममा लाग्दै गर्दा दुवैका पारिवारिक सल्लाहमा परम्परागत रुपमै बिहे भएको थियो । 

-०-

‘काठमाडौंमा एउटा झुपडी नबनाइ त बच्चा नजन्माउने है’ उनीहरुबीच सहमति बन्यो । प्रार्थना बिहानदेखि साँझसम्म सरकारी क्याम्पस, केही प्लस–टु कलेजमा पढाउँछिन् । बद्री दिउँसो सरकारी अफिसमा काम सिध्याएर साँझ एउटा कन्सल्टेन्सीमा डिजाइनिङको काम पनि गर्थे । केही वर्ष यस्तै गरी दुःख गर्न शरीरले साथ दियो भने त पाँच वर्षभित्र काठमाडौँमा चिटिक्क परेको घर बनाउने योजना उनीहरुको थियो ।

जबसम्म एउटा घर ठड्याउन सकिँदैन काठमाडौँले आफ्नो ठान्दैन, यो धेरैको अनुभव हो । स्थानीय निकायले डेरावाललाई गन्दैनन् । उनीहरूले त्यस्तै महसुस गरेका छन् । साथीभाइ, आफन्त, सहकर्मीहरुले नै ‘ए तपाईंहरु डेरामा पो हो ?’ भनेर सोधिने प्रश्नले जिज्ञासाभन्दा पनि गिज्याएको, हेपेको जस्तो महसुस दुवैको छ । मानौँ कि काठमाडौँमा घर हुनेले चाहिँ आफूलाई मङ्गलग्रहवासी ठान्छन् ।

तीन वर्षसम्म मेहनत गरेर रिङरोडभित्रै चार आना जग्गा किन्न उनीहरु सफल पनि भए । फुर्सदको समयमा कस्तो घर बनाउने, मुलढोका कता फर्काउनेदेखि लिएर कोठाहरुको डिजाइन गर्न थाले बद्री । आफैँ आर्किटेक्चर इन्जिनियर भएको हुँदा कम्प्युटरमा घरको डिजाइन गर्दै, प्रार्थनालाई देखाउँदै, नयाँ डिजाइन गर्दै सेभ गर्न थाले ।

‘छोराछोरी दुवैलाई अलग्गै डिजाइनको कोठा हुनुपर्छ । डिजाइन मिलेन यो’ सुझावअनुसार उनी घरको डिजाइन गर्थे । 

घरको योजना गर्दागर्दै डिभी पर्यो । सहकर्मी सबैले ख्यालख्यालमा अफिसकै कम्प्युटरबाट डिभी भरेकोमा बद्रीलाई पर्यो । गाउँमा दसैँमा खोलिने कुखुरा उपहारको चिठ्ठासमेत नजितेका बद्रीले आफूलाई अमेरिका जाने डिभी पर्ला भनेर सोचेका पनि थिएनन् । 

‘बूढी अब हामी अमेरिका गएरै बच्चा जन्माउने’ बद्रीले योजना सुनाए–‘एक वर्षभित्र त अमेरिका गइहालिन्छ ।’ 

‘बच्चा हुर्काउन त अमेरिकामा निकै गाह्रो छ भन्छन् । माइती नजिकैको दिदीको बच्चा जन्मिँदा परारसाल यहाँबाट आमालाई बोलाएका थिए’ प्रार्थनाले संशय मान्दै भनिन् । माइती नजिकैकी ती आमा एक वर्षसम्म अमेरिका बसेर नाती हेरेर फर्किएकी थिइन् । बच्चालाई १४ वर्षसम्म त घरमा एक्लै पनि छोड्न कानुनी रुपमा मिल्दैन । केही भइहाल्यो भने बाउआमा नै जेल जाने खबर उनले पढेकी पनि थिइन् । 

‘होइन, तिमी जेसुकै भन् अमेरिका गएरै बच्चा जन्माउने हो हामी । उता जन्मिएकाले मात्र राष्ट्रपति हुन पाउँछन् रे । कतै हाम्रा छोराछोरी पनि राष्ट्रपति भैहाल्छन् कि ? छोराछोरीले राष्ट्रपति हुन पाउने अधिकार हामीले किन रोक्ने ?’ बद्रीले ठट्टा गरे ।  

बेलाबखतमा ठट्टा गर्ने रसीक आदत थियो बद्रीरामको । अफिसमा पनि साथीहरुलाई हँसाइरहने खुबी थियो उनमा । सिधै स्विकार गर्न नसकेपनि लोग्नेको प्रस्ताव एक हिसाबले सही जस्तो पनि लाग्ने प्रार्थनालाई पनि । 

अमेरिका गएको केही समयपछि गर्भ रह्यो भने पनि त एक वर्षमा त बच्चा पैदा भैहाल्छ । मनमनै अबको दुई वर्षभित्र बच्चा जन्माउने योजना उनी बनाउँछिन् । घडेरीलाई बलियो पर्खालले घेरेर उनीहरु अमेरिका हानिन्छन् ।

इन्जिनियरिङ क्याम्पस पुल्चोकको सहपाठी साथी केही वर्षदेखि क्यालिफोर्नियाको सानहोजेमा बस्दै आएको थियो । उसकै सल्लाह अनि भरोसामा बद्री र प्रार्थना तुलनात्मक रुपमा महँगो भए पनि क्यालिफोर्निया रोज्छन् ।

सानफ्रान्सिस्को एअरपोर्टमा लिन साथी आइसकेको थियो । इमिग्रेसन, व्यागेजको सबै प्रक्रिया पूरा भएर उनीहरु निस्किँदा साथी फूलको बुके लिएर उनीहरुको स्वागतमा थियो । 

‘अब तँ पनि दुःख गर्न आइपुगिस् बद्री’ प्रशान्तले जिस्क्याउँदै भन्यो । 

उनीहरु हाइवे–१०१ हुँदै बे–एरियाको पूर्वतिर अघि बढे । ‘अमेरिकामा जित्नका लागि सबै चिज छ । हार्नका लागि केही छैन बद्री । यो देश तँ हामी जस्तै आप्रवासीले बनाएका हुन् । १६औँ शताव्दीमा युरोपबाट आउन सुरू भएको आप्रवासनको क्रम २१ औं शताव्दीमा पनि जारी छ’ प्रशान्तले अमेरिकाका बारेमा हल्का जानकारी दिँदै गयो । 

‘प्रशान्ते गाडी अलि स्लो गर्न मिल्दैन । डर लाग्यो मलाई’ बद्रीरामले गाडीको स्पिड घटाउन अनुरोध गर्यो । 

‘छि.., के एकार लगाएर प्रशान्ते भनिबक्स्या हजुरले ?’ प्रार्थनाले आपत्ति जनाइहालिन् ।

‘भाउजू, यो त हामीबीचको आत्मीय सम्बोधन हो नि ! थाहा छ भाउजू, हामी कलेज पढ्दाताका कसैलाई पनि सग्लो नामले बोलाउथेनौँ । है बद्री ?’ प्रशान्तले थप्यो–‘थाहा छ भाउजू, हामीमध्ये कसैले कुनै बेला झुक्किएर एकले अर्कालाई तिमी वा तपाईंले सम्बोधन गर्यो भने त्यसले यति गाली सहनुपथ्र्यो हाम्रो कि बयान गरिसाध्यै छैन ।’

तीनैजना गललल्ल हाँसे । 

‘हेर, बद्री मैले यहाँ ५५ माइल प्रतिघन्टाको गतिमा ड्राइभ गरेको छु । यो भन्दा बढी चलाउनुपर्छ । कम स्पिडमा चलायो भने टिकट पाइन्छ’ कम स्पिडमा चलाउँदा पनि पुलिसले जरिवाना लिने कुरा बद्रीले पहिलो पटक सुन्दैछ । बढी स्पिडमा चलाउँदा पो दुर्घटना होला भन्ने कारणले टिकट । कम स्पिडमा चलाउँदा त जरिवाना लगाउनु नपर्ने हो भन्ने उसको सोचाई थियो ।

‘भाउजू, आजदेखि तपाईंहरु क्यालिफोर्नियावासी हुनुभयो’ प्रशान्तले दम्पतीलाई फुर्क्याउँदै ड्राइभ गर्दैछ । क्यालिफोर्निया अमेरिकाकै सबैभन्दा उदार राज्य भएको, आर्थिकरुपमा पनि अरु धेरै राज्यहरुको भन्दा धनी रहेको, सूचना प्रविधिमा संसारलाई नियन्त्रण गर्ने ब्राण्डहरु क्यालिफोर्नियाकै रहेको जानकारी दिँदै पूर्वतिर अघि बढ्दैछ ।

‘ए, ल भुसुक्कै भुलेछु तपाईंहरुलाई फेसबुकको अफिस जाने बाटो देखाउन’ फेसबुकको कुराले बद्री र प्रार्थना दुवैको ध्यान तानियो । यहीँ पालोआल्टोमा फेसबुकको अफिस छ । हाइवेबाट गुगल, एप्पलका अफिसका एक्जिट लिने ठाउँ देखायो प्रशान्तले । ‘यतातिर छ नि भाउजू स्ट्याण्डफोर्ड युनिभर्सिटी’ दायाँतिर देखाउँदै गर्दै प्रशान्तले भन्यो । 

डबल बेडरुम भएको अपार्टमेन्टमा प्रशान्तले एउटा बेडरुम बद्रीराम र प्रार्थनाका लागि छाडिदियो । खासमा प्रशान्तले बद्रीका बूढाबूढी आउने कन्फर्म भएपछि दुई महिना अघिमात्र यो अपार्टमेन्ट लिएर सरेको हो । प्रशान्त अझै सिङ्गल छ । एउटी भियतनामी केटीसँग उसको चक्कर छ । 

वरिपरिको वातावरण, सपिङमल जाने, प्रशान्त महासागरको किनार, गोल्डेनगेटदेखि लिएर लेकटाहो घुमघाम गर्दै उनीहरुले दुई महिना बिताए । के कसो पर्छ भनेर नेपालबाटै १५ हजार डलर लिएर आएका छन् । खर्च गर्न गाह्रो थिएन । 

‘बद्री यहाँ आर्किटेक्चर इन्जिनियरको भन्दा पनि सूचना प्रविधिको क्षेत्रमा निकै राम्रो तलब सुविधा पाइन्छ । अब आर्किटेक्लचरई केही समय स्थगित गरेर सूचना प्रविधि पढ्न थाल’ प्रशान्तले सुझाव दियो । दुई महिनाको बसाईंको क्रममा बद्रीले पनि इन्टरनेटमा रिसर्च गर्दै आएको छ । सिलिकनभ्यालीमा तालिम दिएर काम सूचना प्रविधिको क्षेत्रमा काम खोजिदिने थुप्रै कन्सल्टेन्सीहरु छन् । बद्री पनि तीन महिना तालिम लिएर काम गर्न थाल्यो । उसले गाडीमै जान आउन सकिने लिभरमोरमा काम पायो । 

प्रार्थनाले पनि लोग्नेकै बाटो पहिल्याउँदै तालिम लिन थालिन् । उनी लोग्नेभन्दा पनि स्मार्ट थिइन् । जस्ले गर्दा उनले प्रशान्तकै कम्पनीमा काम पाइन । अब दम्पतीको अमेरिकी सुखी र सम्पन्न सपना पुरा हुन सुरू भयो । 

सपनाको अर्को खुट्किलो पूरा गर्न अब उनीहरुलाई सन्तान चाहिएको छ । ‘तिमीहरुसँगै एकै महिना बिहे भएको आशाले छोरी जन्माई नि !’ अघिल्लो साता आमाले झापाबाट फोन गरेर प्रार्थनालाई सुनाउनुभएको थियो । सीधै जन्माओ भन्न नसके पनि अप्रत्यक्षरुपमा नाति–नातिना हेर्ने चाहनाको संकेतका रुपमा पनि प्रार्थनाले आमाको कुरालाई बुझेकी थिइन् । उता बद्रीको घरबाट पनि आमाले फोन गरेर त्यस्तै कुरा गर्नुहुन्थ्यो । 

‘केही खाने गरेको छ कि लगाउने गरेकी छ्यौ ? अब सबै बन्द गर । मलाई पहिलो त नाति नै चाहियो’ सासुले एक दिन अलि कडैसँग भन्नुभएको वाक्य प्रार्थनाको मस्तिष्कमा घुमिरहेको छ । 

दुवै जना बिहान ७ बजे अपार्टमेन्टबाट निस्कन्थे । प्रशान्तसमेत गर्दा तीनजना सँगै निस्कथे । साँझ ६ नबज्दै सबैजना जम्मा भैसक्थे । जीवन रमाइलो, खुशी र सुखीसाथ बितिरहेको छ । 

बद्रीले सन्तान जन्मिन नदिनका लागि प्रयोग गर्दै आएको साधन बन्द गर्छन् । त्यसयता प्रार्थनाले हरेक महिना रक्तश्राव रोकिएको अनुभव गर्न चाहेको दशक बितिसक्यो । कहाँमात्र देखाएनन् उनीहरुले आफ्नो स्वास्थ ? तर बद्रीकै शरीरको आन्तरिक समस्याले पूरा नहुने डाक्टरहरुले बताएपछि मन बुझाउन बाध्य छन् । 

-०-

लगभग ५ वर्ष बे–एरियाको बसाईपछि बद्री–प्रार्थना टेक्सस सर्छन् । कार्यरत कम्पनीको कर्पोरेट मुख्यालयनै टेक्सस सर्ने भएपछि उनीहरु सँगै सरे । 

वर्षमा चार महिना टेक्ससको हावापानी उधुम गर्मी भए पनि बाँकी ८ महिना औसत नै हुन्छ । घर किनेर स्थायी बसोबास गर्न चाहने, व्यवसाय गर्न लालायितका लागि टेक्सस उपयुक्त रहेको अनुभव धेरैको छ । 

अफिसको समयभन्दा बाहेक उनीहरु सामुदायिक गतिविधिमा व्यस्त हुन थाले । शनिबार र आइतबार दम्पती दुवैको फुर्सदले उनीहरुलाई समुदायसँग नजिक मात्र बनाएन चाँडै नेपाली समुदायमा घुलमिल पनि भए । मिलनसार, भलादमी दुवैको स्वभाव थियो । सबैको दुःखमा साथ दिने, चासो राख्ने कारणले उनीहरु सबैका प्रिय पनि बने । 

ड्यालसको नेपाली समुदाय ठूलो भएकोले उनीहरुलाई बेबीसावरदेखि लिएर जन्मदिन, ग्राजुएसन, विवाह, व्रतबन्ध, तीज, दसैँतिहार, फागुलगायतका गतिविधिमा दम्पतीको उपस्थिति हुन्छ ।

‘बच्चाबच्ची ठूलै भए होलान् ?’, ‘बाबु नानी कति छन् ?’ जस्ता सोधाइ उनीहरुले हरेक जमघटमा सामना गर्नुपर्छ । जुन प्रश्नहरु नआइदेओस्, मानिसहरुले नसोधिदिऊन् भन्ने उनीहरुको चाहना हुन्छ । तर, प्रश्न आएपछि उत्तर पनि दिनै पर्यो । 

‘हाम्रो बच्चा छैन’ प्रार्थना मनलाई निकै भारी बनाए पनि हँसिलो मुख बनाएर जवाफ दिने गर्छिन् ।

समाजमा थरिथरिका मानिसहरु छन् । अधिकांश मानिसहरु त्यति जवाफपछि थप प्रश्न त गर्दैनथे । तर मानिसहरुको पृष्ठभूमि, सोचाइ, शिक्षाको स्तर, अमेरिकाको वातावरण नबुझेकाहरु भने हत्तु पार्थे । 

‘किन नभएको ?’, 

‘नपाउने इच्छा गर्नुभएको कि ?’

‘तपाईंको कारणले कि श्रीमानको कारणले नभएको ?’ 

‘आ... बच्चा हुनुभन्दा त नहुनु नै निको । आनन्द हुन्छ । बच्चा हुर्काउन, बढाउन कम्ता गाह्रो छैन यो देशमा । सानो हुँदा मर्ला भन्ने डर, ठूलो भएपछि मार्ला, प्याट्ट पिटियो भने पनि जेल पठाउलान् भन्ने डर ।’

‘अमेरिकामा छोराछोरी भएर कसको चाहिँ बाउआमाले सुख पाएका छन् र ? बाउआमालाई छाडेर कुन राज्यमा पुग्ने हुन् छोराछोरी ?’

‘छोराछोरी जे भए पनि दुईवटा त चाहिन्छन् हो नानी ।’

हरेक पार्टीमा यस्तैयस्तै प्रतिक्रिया, नमागिएको सुझाव प्रार्थनाले टन्न पाउँछिन् । मानिसका अर्ति उपदेश सुन्दासुन्दा उनका कान टट्टाइसकेको छ । सारा दुनियालाई आफ्नो कथाव्यबथा सुनाउँदै हिँड्ने कुरा पनि भएन । उनी ती सबैलाई सहज रुपमा लिन्छिन् । नसहेर पो के गर्न सकिन्छ र ? सुख साट्न सकिए पनि दुःख लिन आँट गरेर आउने यो संसारमा कोही भेटिँदैनन् । त्यसमाथि सन्तानको जायजन्म नहुँदा त्यसबाट हुने मानसिक पीडा, समाजका चासो, चियोचर्चा र निन्दाले सिर्जना हुने तनाव भोग्नेलाई मात्र अवगत हुन्छ ।

साथीहरुका घरमा जाँदा उनीहरुका बच्चाहरुका कोठामा देखिने दृश्यले प्रार्थनाको मन कल्पिन्थ्यो । 

‘ल हेर त प्रार्थना, यी बच्चाहरु कति छाडा भएका ? सुतेको बेडसमेत मिलाउँदैनन् । बेडमै किताब, कापी, कम्प्युटर, ट्याबलेट भद्रगोल छ । यिनले कहिले बेड मिलाउनुपर्छ भनेर जान्ने होलान् ?’ अस्तिको शनिबार साधनाको घर जाँदा उसले छोरीलाई गाली गरेको सुनेकी थिइन् । 

साधनाको मात्र होइन । धेरैको घरमा जाँदा बच्चाहरुका बारेमा बाउआमाले गुनासो गरेको उनले सुन्दै आएकी छिन् । 

मनमनै उनी पनि त्यस्तै कल्पना गर्छिन् । बच्चाहरुले लिभिङरुम, बेडरुम भद्रगोल बनाएको, जताततै सामान असरल्ल पारिदिएको, समयमै घरमा आएन भनेर कराउनु परेको तन्द्रामा उनी बेलाबखत डुब्छिन् । उनको घरमा भने राखेको सामान महिनौसम्म पनि जहीँको तहीँ अडिन्छन् । घर बाहिर र भित्र बच्चाबच्चीले फोहोर गरिदिउन् । सामान ठाउँमा नभइदेओस् । छोराछोरीले दिक्क बनाए भनेर साथीहरुका अघिल्तिर गुनासो पोख्न पाइयोस् । 

उनी चाहन्छिन्– साथीहरुले जस्तैगरी आफूले पनि छोराछोरीले लगाएका दिक्दारीका बारेमा समस्या शेयर गर्न पाइयोस्, घरभित्रका सामानहरु उनीहरुले असरल्ल बनाइदिउन् । ट्वाबलेट, आइप्याड कति हेरिरहेको भनेर गाली गर्न पाइयोस् । 

मानिसहरु अनेक कानेखुसी गर्छन् । उनीहरुको बच्चा नभएको विषयमा अनेक अनुमान, टिप्पणी गर्छन् । हरेक पार्टीमा बच्चा हुने आमाहरु मिलेर एउटा कुनामा बसेर कानेखुसी गर्छन् । 

‘सुरूमा बच्चा नजन्माउने भनेर तीन महिने सुई लगाएकी होला । अनि बच्चा बस्छ त ?’

‘गर्भ बस्न त अलि छरितो ज्यान पनि त हुनुपर्यो ।’

‘भगवान्ले सबैलाई सन्तानसुख कहाँ दिन्छन् र ?’

‘प्रार्थनाको त पाठेघरनै छैन रे नि त ।’

अनुमानका भरमा यस्तायस्तै बकबास गफ गरेर समय बिताउने गर्छन् उनीहरु । प्रार्थनाको कानसम्म पनि खुसुक्क ती कुराहरु आइपुग्छन् । उनलाई यस्ता कुराको जवाफ दिँदै हिँडेर पो के साध्ये ?  

सन्तानको लागि कतिमात्र अस्पताल धाएनन् उनीहरुले ? क्यालिफोर्नियादेखि न्यूयोर्क, बोस्टन, डेनभरका नामी अस्पतालमा उनीहरुले चेक गराइसकेका छन् । तर प्रार्थनाको पाठेघरभित्र समस्या रहेकोले गर्भवती हुन नसक्ने रिपोर्ट डाक्टरहरुले दिएपछि उनीहरुसँग विकल्प नभएको हो ।

मातृत्व दिन लालायित प्रार्थनाको चाहना बुझेर बद्रीले टेस्ट ट्युब प्रक्रियाबाट अघि बढ्ने सोच पनि राखेका हुन् । तर उनी अघोर डराएकी छिन् । पहिलो कुरा लामो समयसम्म डाक्टर र अस्पतालको निगरानीमा रहनुपर्ने, दोस्रो सफल हुन्छ नै भन्ने निश्चित पनि नभएको र त्यतिकै खर्चिलो भएको हुँदा उनको त्यसमा खासै चासो छैन ।  

दुवै जनाको राम्रो कमाइ हुने जागिर, यत्रो घर, सम्पत्ति कसले चैन गर्ला ? अप्रत्यक्ष रुपमा मानिसका कानेखुसी, चर्चा बक्ररेखा पार गर्दै प्रार्थनाको कानसम्म आइहाल्थे । आफ्ना लागि भन्दा पनि दुनियाँको मुख टाल्नकै खातिर पो बच्चा चाहिन ेनै रहेछ ।

एक्काइसौँ शताव्दी, अमेरिकाजस्तो देश देखेका, भोगेका मानिसहरु नै टीकाटिप्पणी गर्दै ‘अपूतो’ भन्दै कुरा काटेको चर्चाले उनको मुटु भत्भती पोल्छ । उनले सोचिन्– बद्रीलाई अर्को बिहे गर्न लगाउँछु । सौता भित्र्याएर भए पनि एउटा बच्चा घरमा पैदा गरिछाड्छु । विद्यार्थी भिसामा आएर अमेरिकामै व्याचलर अध्ययनरत बहिनी पर्ने सुमीलाई सौता बनाएर भित्र्याउने योजनामा उनी पुग्छिन् । 

‘के भयो र ? ती बहिनीको भविष्य पनि राम्रो हुने । मलाई पनि काखमा बच्चा खेलाउने रहर पुग्ने’ रातभरि उनी सोचाईमा डुब्छिन् । 

‘तिमी बौलायौ कि क्या हो ? अमेरिकामा दुईवटी श्रीमती राख्न कानुनीरुपमा मिल्दैन भन्ने तिम्लाई अझै जानकारी नभएको कि तिमी पागल भएकी ? मलाई जेल पठाउन खोजेकी ?’ लोग्नेको हप्काईले उनी सोचमग्न हुन्छिन् । 

‘म डिभोर्स दिन्छु तपाईंलाई । तर, मलाई मेरो काखमा खेलाउने बच्चा चाहियो । कसैले अपूतो भनेको र दुनियाले अनेकथरी कुरा काटेको सुन्ने धैर्य मेरो छैन’ प्रार्थनाले रुँदै भनिन् । डिभोर्स दिइसकेपछि अर्की ल्याउन मिल्छ भन्ने कानुनी तथ्यलाई पनि प्रार्थनाले जानकारी लिइसकेकी छिन् । 

‘पागल कुरा नगर तिमी । बरु नेपालमै कुनै टुहुरोलाई पालौँ । उसैलाई धर्मपुत्र बनाऊँ । के गर्नु त भगवान्ले हामीलाई दिएनन् । सबैका सन्तान कहाँ हुन्छन् र ? मनलाई बुझाउन सक्नुपर्छ’ लोग्नेले सम्झाउने प्रयास गर्छ ।

बेलाबखतमा अनलाइनमा देखिने जन्माएर जिउँदै बच्चा फालेको, भ्रूण हत्या गरेको, जन्मिएलगत्तै हत्या गरेर फालेको खबरले उनको मन झनै बेचैन हुन्छ । उनी सोच्न पुग्छिन्– किन त्यस्ता पापीहरुलाई भगवान्ले बच्चा दिनुपरेको होला ? तिनका कोखचाहिँ बरु बाँझो हुनु नि ! 

‘हामी टेस्टट्युब बच्चा जन्माऊँ अब’ एक बिहान ब्रेकफास्टको समयमा प्रार्थनाको प्रस्तावले बद्री झसङ्ग हुन्छ । उसले पहिलेनै राखिसकेको प्रस्ताव हो । तर, प्रार्थना नै डराएकीले मात्र अघि बढ्न नसकेको थियो । 

अब ३५ वर्षको हाराहारीमा किन त्यो दुःख गर्ने भनेर बद्रीले सम्झाउने प्रयास गर्छ । उमेरका कारणले समस्या हुनसक्ने कुरा दर्शाउँछ बद्री । स्वास्थको जोखिम, सफल हुने नहुने जोखिम सबै देखाउँछ । चिकित्सक जाँचबाट पनि उनी टेस्ट ट्युब बच्चा पैदा गर्न असमर्थ रहेको प्रमाणित हुन्छ । 

सुन्दर र सुविधायुक्त घर छ । संसारको भौतिक सुख, सयल सबै छ प्रार्थनासँग । तर केही कुराको अभाव खड्कि रहन्छ । 

आखिर जन्मिने एक्लै हो । मर्ने एक्लै हो । जीवनको बीचमा भेटिनेहरुसँग कुन बेला बिछोड हुन्छ निश्चितता छँदैछैन । परिवार, नातागोता, इष्टमित्र सबै मानिसको जन्मपछि जोडिएका नाता त हुन् । बद्री र प्रार्थनाले संसारलाई यसरीनै बुझ्न थाले । जीवनसाथीका रुपमा रहेका उनीहरु मध्यनै को पहिले यो संसारलाई त्यागेर जान्छ कुनै निश्चितता छैन । 

तरपनि बालबालिका रोएको, उनीहरुको आँखाबाट आँशु झरेको दृश्य विशेषगरि प्रार्थना हेर्नै सक्दिनन् । सपिङका लागि जाँदा स्टोरमा साना बच्चाहरु देख्दा उनको मन यसैयसै कल्पिन्छ । मन्दिरमा जाँदा भेटिने अभिभावकहरुसँगै आएका साना बच्चाहरुलाई उनी क्याण्डी दिएर आफूतिर आकर्षित गर्छिन् । 

‘जसरी भए पनि मैले काखमा बच्चा खेलाउन पाउनुपर्यो । तपाईंले अर्को बिहे गर्नैपर्छ’ राति बिस्तारामा पल्टिँदै गर्दा प्रार्थनाले बद्रीसँग दोहोर्याइन् । 

‘होइन, तिमी के भन्दैछौ फेरि यो सम्भावना नै नभएको कुरा ?’

‘कानुनी फन्दाबाट मुक्ति पाउन म डिभोर्स दिन्छु । हजुरले सुमीलाई बिहे गर्नुस् । दिउँसो उनलाई घरमा बोलाएकी थिएँ । अलि लजाएकी छिन् । बडी ल्याङग्वेजले तयार छिन् जस्तो बुझ्दैछु’ प्रार्थना धेरै अगाडि बढिसकेकी रहिछन् । 

बद्री धेरै सम्झाउने प्रयास गर्छन् । कानुनी र व्यावहारीक समस्या, सौताका रुपमा भित्रिएपछि दुईबीच हुने कलहका अनेक दृष्टान्त दिन्छन् । 

प्रार्थना आफ्नो अडानबाट टसमा मस हुँदिनन् । ‘मलाई हजुरको तु निर्णय चाहियो । बिहे गर्न नमान्ने हो भने मलाई पनि तपाईंले गुमाउनुपर्नेछ’ उनी धम्कीको भाषा बोल्छिन् ।

भोली बिहान ठण्डा दिमागमा निर्णय दिने भन्दै बद्री उनलाई सम्झाउँछन् ।

प्रार्थनालाई गुमाउनुभन्दा एउटा टाउकोमा दुई वटा नाम्लो बोक्नु नै ठीक ठान्छन् उनी । प्रार्थना निदाइरहेकी थिइन् । उनी उठेर किचनमा जान्छन् । कफी पिउँदै प्रार्थनाको मोबाइलमा मेसेज गर्छन्– ‘तिम्रो खुसीका लागि जे गर्न उचित लाग्छ त्यही गर ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Neupane
२ आश्विन २०७७, शुक्रबार
test