जीवन एक - मोड अनेक

आँट र लगनले "लिकर क्वीन" बनेकी यमुना

प्रकाशित |
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  - सम्पादक )
 
ग्रेटर डालासको अर्भिङ्गबाट २० मिनेटको ड्राइभमा पुगिन्छ  कोलीभिलको ५५०९ मन्टिक्लेयर ड्राइभ । बिहान १० बज्दै थियो हामी त्यो आलीशान घरको मूख्य गेटबाट भित्र प्रवेश गर्दा । तीन एकडमा फैलिएको त्यो घरको अघाडि र पछाडि हरियो चौर , स्विमीङ पुल अनि सप्रिएका रुखका छहारीले हाम्रो ध्यान तान्दै थियो , मैले मुल ढोका छेउमा भएको घण्टी बजाँए । हिमालयखबरको हाम्रो टीममा मसंग बिटु केसी र डोल्मा लामा थिए । मेरो स्तम्भ जीवन एक मोड अनेककालागि उपयुक्त पात्रको खोजी गर्दै हामी त्यहाँ पुगेका थियौं । 
 
स्तम्भकी मूल पात्र यमुना भट्टराइले ढोका खोलिन् । उनका पति नन्दिकिशोर भट्टराइ पनि हामीसंग सामेल भए । 
 
एकछिनको भलाकुसारी पछि यमुनाको जीवन यात्रामा हामी समाहित हुनथाल्यौं । उनी आफ्नो जीवनका आरोह अवरोह बताउन थालिन् । झापा, दमकदेखिको उनको यात्रा अमेरिकाको टेक्सास आइपुग्दा पनि थामिएको छैन । यो अविचल यात्रामा यमुनाले सयौं मोडहरू छिचोलिन् । धेरै अप्ठ्याराहरुसंग जुधिन् र यतिबेला त्यही उनको संघर्षपूर्ण जुझारुपनले सफल नेपाली महिला व्यवसायीको स्थानमा यमुना पुग्न सफल भइन् । 
 
यमुनाका धेरै रुप छन् । कहिले उनी समाजसेवी बनेर चिनिन्छिन् त कहिले राजनीतिकर्मी । तर जहाँ सफलताको प्रसङ्ग आउँछ , त्यहाँ उनलाई एउटी सफल व्यवसायी भनेर चिनिन्छ । यमुनाले छिचोलेका यीनै मोडहरुमा उनका कथा व्यथा खोज्छौं , उनको जीवनको उकाली ओराली नाप्ने प्रयास गरेका छौं । 
 
उनको आलीशान घरको बैठक कोठामा झन्डै दुइ घण्टा अन्तरङ्ग कुराकानी भयो । त्यसैको पटाक्षेप हो यो प्रस्तुति । 
 
डोकोमा बसाइँ/जनवादी शिक्षाको भोक 
पूर्व धनकुटाको कुरुले , तेनुपामा २०२७ जेठमा जन्मिएकी यमुना त्यहाँ एकवर्ष मात्र बसिन् । बुबा डिल्लीराम बराल र आमा झमक सेरा बराल तराई झर्ने निर्णयमा पुगिसकेका थिए । एक वर्षकी सानी यमुना डोकोमा बसेर झापाको दमक आइपुगिन् । 
 
त्यसपछि उर्वर झापाली भूमीमा यमुना बरालको जीवनचर्याले रफ्तार लिन थाल्यो । २२/ २५ बिगाहा जमीन थियो । गाईभैंसी टन्न थिए गोठमा । घरभित्र बाहिर काम गर्ने मान्छे थिए । चार दाजुभाइ र चार दिदी बैनीको त्यो परिवार हुनेखाने नै हो , तर छोरी पढाउनु हुदैन भन्ने मान्यताले बाँधिएका थिए बुबा । छोरी पहिलोपल्ट महिनावारी हुँदा रूने बुबा,  आफ्ना छरछिमेक र त्यहाँको  अग्रगामी सामाजिक परिवेशले गर्दा यमुनालाई स्कुलको बाटो खुल्यो । स्थानीय सरस्वति माध्यमिक विध्यालयमा उनको शिक्षा शुरु भयो । त्यही स्कुलबाट यमुनाले २०४४ सालमा एसएलसी गरिन् । 
 
झापा , त्यसमा पनि दमक, कम्युनिष्टको अखडा मानिन्थ्यो त्योबेला । स्कुल कलेज सबैतिर त्यही राजनीति प्रभावित थियो । यमुनाको दिमागमा जनवादी शिक्षाको सुलसुले खेल्न थालेको थियो । बुर्जुवा शिक्षाको विरोध गर्ने बहानामा उनी बिस्तारै कम्युनिष्ट बनेको उनलाई पत्तै भएन । स्कुल सकेर दमक क्याम्पससम्म आइपुग्दा यमुना खाँटी कम्युनिष्ट भैसकिछन् । 
 
पढाइमा अब्बल यमुना उच्च अध्ययनलाई थाँति राखेर नेपाल दुरसंचार संस्ठानमा जागिरे बनिन् । 
 
प्रेम /बिहाबारी अनि अमेरिका 
आठ कक्षा पढ्दै गर्दा प्रेमको नशा जागिसकेको थियो यमुनामा । दमकको छिमेकमा उर्लाबारी र त्यहींको एउटा सुन्दर, सुशील र पढाइमा तेज युवकले उनको मन चोरेछन् ।  संयोग, आफूसंगै पढ्ने साथी ती युवकको भतिजि । के चाहियो, उसलाई भेट्ने बहानामा आफूले मन पराएको युवकसंग भेटघाट बाक्लो हुन थाल्यो । 
 
प्रेम कथा सुनाउँदै यमुनाले भनिन् - गोरो र ह्यान्डसम केटा देखेपछि मन तरङ्गित हुन्छ नै ।  त्यसमा पनि उहाँमा जुन सादगी थियो ,पढाइमा तेज , आकर्षण गर्यो । हामी दुबै मायामा जोडिन पुग्यौं । 
 
नन्दिकिशोर भट्टराइ शालीन थिए , राम्रा विध्यार्थी थिए तर आर्थिकरुपले कमजोर थिए । यमुनाका बुबामा एउटा अहम् थियो आफ्नो सम्पन्नताको । छोरीले मनपराएको केटो सबै कुराले अब्बल भएपनि उसको गरिबी स्वीकार गर्ने पक्षमा थिएनन् बुबा । प्रेम चल्दै थियो, नन्दिकिशोरले बिहेको प्रस्ताव गरे । अंकल भन्दा भन्दै प्रेम गहिरो भैसकेको थियो । यमुनाले नाँइ भन्ने कुरै थिएन । परिवारको अनुमति बिनै उनीहरुको नयाँ यात्रा शुरु भयो । काठमाण्डुमा डेराको बसाइ, दूरसंचारको जागीर - सजिलो कहाँ थियो र ! घरबाट बारम्बार दवाब आउन थाल्यो । यमुनाले झापामा बुबाका साथीहरुलाई गुहारिन् । बुबाले पनि छोरीको इच्छा र साथीहरुको सल्लाह माने , काठमाण्डु आएर टीकाटालो गर्दिए । अब सामाजिक बन्धनले वैधता पायो । 
 
सन् १९९४ मा यमुनाका पति अमेरिका आए उच्च शिक्षाकालागि । सल्टलेक सिटीमा उनको पढाइ थियो । उता नेपालमा ठूली छोरी जन्मेकि थिइन्। अब दुबैमा हुटहुटी थियो ,कतिन्जेल अलग्गै वस्ने ! नन्दिकिशोरले यमुनालाई अमेरिका बोलाउने प्रयास थाले । भाग्यले साथ दियो , सन् १९९६ मा उनी अमेरिका आइपुगिन् । 
 
आफ्ना पति असाध्य सहयोगी र पत्नीलाई स्वाबलम्बी बनाउनु पर्छ भन्ने मान्यता राख्ने हुनाले यमुनालाई अमेरिका अरुलाई जस्तो गारो भएन । गाडी सिकेर लाइसेन्स लिइन् । रेष्टुराँमा काम थालिन् , त्यो उनलाई जचेन । शुरुशुरुमा निक्कै रोइन् । शायद नियतिलाई त्यो मान्य थिएन । उनले त्यो काम छोडिन् । कान्छी छोरी त्यहीं जन्मिन् । अब त खर्च पनि बढ्न थाल्यो । सल्टलेक सिटीबाट टेक्सास सर्ने निधो गरे । अलिअलि पैसा हातमा थियो । बरु कुनै व्यापारमा लगाउँदा फाइदै होला भन्ने सोच बोकेर उनीहरु सन् २००४ मा टेक्सास आइपुगे । 
 
 
पहिले बसेको ठाउँ भन्दा टेक्सास गर्मी थियो तर सस्तो । तीनवटा स्टोरमा ३५% शेयर हाले । ग्रोसरी र ग्यास स्टेसनको अनुभव थिएन नन्दिकिशोरलाई । साथीहरुको विश्वासमा लगानी त गरे तर उनको १ लाख ५० हजार डलर गुम्यो ।
 
सुत्केरी अवस्था मै थिइन् यमुना । कमाएको पैसा स्वाहा भैसकेको थियो । उनीहरुले सल्लाह गरे , सल्टलेक सिटी फर्केर पुरानो साहुकोमा काम गर्ने , अलिकति पैसा जम्मा भएपछि फेरि टेक्सास फर्केर नयाँ व्यवसाय शुरु गर्ने । 
 
सन् २००६ मा उनीहरु सल्टलेक फर्किए । पुरानो साहु असल थियो । दुबैजना काम गर्न थाले । एक वर्षमा झण्डै ४५ हजार डलर जम्मा गरे भट्टराइ दम्पतिले । टेक्सासको स्वाद मरेको थिएन, २००७ मा डालस सरे । दुबैजनाको अथक परीश्रम र लगन थियो । काम गरे, दुइवर्ष । अनुभव भयो , पैसा पनि हातमा आयो । यमुनामा रिस्क लिनसक्ने खुबी थियो । आफ्नै स्टोर नगरी अघाडि बढ्न सकिन्न भन्ने सोचमा दुबैले मन्थन गरे । सन् २००९ मा एउटा स्यानो ग्यास स्टेसन लिए । अपराध धेरै हुने ठाउँमा थियो स्टोर । डराएर भएन , काम शुरु गरे - दुइवर्षमा त्यसले राम्रो आर्जन दियो । यमुनाको हिम्मत र   नन्दिकिशोरको व्यवस्थापन मिलेपछि नहुने के थियो ! आफू बसेको ठाउँदेखि ९० माइल टाढा अर्को स्टोर शुरु गरे । 
 
पछाडि फर्किने शुर थिएन ,गर्दै जाँदा उनीहरु पाँचवटा स्टोरका मालिक बने । समस्या एउटै थियो , बसेको ठाउँबाट सबै स्टोर टाढा । मेट्रोप्लेक्स भित्रै स्टोर चलाउने सल्लाह गरे । सन् २०१३ मा १ लाख ५० हजार खर्च गरेर फोर्टवर्थमा पहिलो लिकर स्टोर शुरु भयो । त्यसले सन्तोषजनक परिणाम दिन थाल्यो । यमुनालाई भने अझै अरु  स्टोर खोल्ने आँट आयो ।उनी अर्को लोकेसन खोज्न थालिन् । तर उनका पति हतार नगरौं ,बिस्तारै गरौं भन्ने सोच राख्थे । यही विषयमा कुरा नमिल्दा कति दिन दुबैको बोलचाल बन्द हुन्थ्यो । नन्दिकिशोर नै फकाउन आउँथे । लोग्ने स्वास्नीको मनमुटाव धेरै टिक्ने कुरा पनि थिएन । 
 
टेक्ससकि लिकर क्विन 
यमुनाभित्रको हुटहुटीले उनलाई आँटिलो बनाएको थियो । यहीबेला हो गर्ने ,समय घर्केपछि चाहेर पनि केही गर्न सकिन्न भन्ने अठोट नै उनको सफलताको कसी मान्नुपर्ने हुन्छ । यथेष्ट पैसा नहुँदा व्यवसाय अघि बढाउन बैंकर्सहरु हुन्छन् , त्यस्लाई उपयोग किन नगर्ने ! यो उपाय उनले अपनाइन् । उनको उपाय सफल भयो - ट्रिनिटिमा भव्य लिकर स्टोर खुल्यो । खुलेकै दिन ३ हजार डलरको बिक्री भयो । त्यसपछि यमुनाले पछाडि फर्किनु परेको छैन । 
 
अहिले उनको व्यवसाय टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको छ । ट्रिनिटिको लिकर स्टोर अमेरिका कै ठूला एकसय स्टोरमा गनिन्छ जस्को बिक्रीले समेत उच्च स्थान पाउने गरेको छ । यतिबेला यमुनासंग सातवटा लिकर स्टोर पूर्ण रफ्तारमा चलेका छन् । नौवटा ग्यास स्टेसन साझेदारीमा चलेका छन् । 
 
यतिले मात्र यमुनाको व्यवसायिक फड्को कहाँ थामिन्थ्यो ! जग्गा , एपार्टमेन्ट र सपिङ्ग कम्प्लेक्समा उनको लगानी छ । 
 
तर मलाई यो मोडसम्म ल्याइपुर्याउने लिकर स्टोर नै हो - उनी निर्धक्क स्वीकार गर्छिन् । सायद त्यसैले टेक्सासमा नेपालीहरु बीच यमुना लिकर क्विन भनेर पनि चिनिन्छिन् । 
 
सिग्नेचर लेडी यमुना 
यमुनाको लिकर स्टोरको  संचालन र व्यापारको वजन देखेर अमेरिकी ठूला लिकर कम्पनीहरु प्रभावित भएका छन् । विलियन डलरको व्यापार गर्ने व्यवसायीलाई खुशी बनाउन लिकर कम्पनी र डिस्ट्रिब्युटर हानाथाप गर्छन् । त्यसैको प्रतिफल टेनेसी स्थित Jack Daniel Distilary को भित्तामा यमुनाको नाम लेखिएको देखिन्छ । त्यति मात्र हैन केण्टुकीको Maker Mark 46 व्हिस्कीको बोतलमा यमुनाको हस्ताक्षर छापिएको छ । यो Single Barrel Whisky , Maker’s Mark ले नै उनलाई  हस्ताक्षरकोलागि अनुरोध गरेको हो । 
 
टेक्सासकि लिकर क्विन र सिग्नेचर लेडी आफू चैं के पिउँछिन् त ? 
 
मेरो यो प्रश्नमा यमुनाको सटीक जवाफ आयो - म वाइन मात्रै पिउँछु । अरु चैं सुँघेर टेस्ट गर्छु । 
 
उनको पसलमा सबैभन्दा बढी भोड्का बिक्री हुन्छ । किन त ? 
 
उनका  ग्राहकहरु धेरै कामदार छन् । 
 
भोड्का सस्तो र  पारखीहरुकालागि स्वादिलो पनि , सायद यही कारण हुनुपर्छ भोड्काको डिमान्ड धेरै छ - यमुनाले बताइन् । 
 
चाहेर पनि छोड्न नसकेको नेपाली राजनीति 
स्कुलदेखि नै अखिलको प्रभावले यमुनालाई छोपिसकेको थियो । उता आफ्नो प्रेमी पनि मोरङको विध्यार्थी राजनीतिमा सक्रिय थिए । तत्कालिन माले पछि एमाले बनेको कम्युनिष्ट पार्टीमा उनको सक्रियता बाक्लियो । विध्यार्थी, कर्मचारी हुँदा लागेको त्यो लत अमेरिका आएर पनि उनले छोड्न सकेकि छैनन् । उनलाई थाहा छ ,नेपाली राजनीतिको खेलमा अमेरिकी नेपाली समाज विभाजित भएको छ । 
 
अहिले यमुना नेपालको तत्कालिन एमालेको प्रवासी संगठन प्रवासी मन्च अमेरिकाको उपाध्यक्ष छिन् । 
 
व्यवसायिक सफलताको यो स्थानमा पुगेर पनि किन उताको राजनीति छोड्न नसकेको ? राजनीति नै गर्नु छ त यतैको मूलधारमा पसे हुंदैन ? 
 
यो पंक्तिकारको प्रश्नमा एकछिन् नबोलेकि यमुनाले मुख खोलिन् - हैन आफ्नो समूहलाई समर्थन त गर्छु तर राजनीतिक कुटनीति भने जान्दिन । 
 
यमुनासंग सबैथोक छ - परिवार ,सामाजिक अभियान अनि सफल व्यवसाय । तर उताको विकॢत राजनीतिक नशा चटक्कै त्याग्ने हिम्मत अझै देखिदैन । 
 
सामाजिक सक्रियता 
अमेरिकामा आफ्नो समुदायलाई आवश्यक परेको बेला यमुनाको सहयोगी मन सधैं उदार देखिन्छ । नेपाल त उनी वर्षमा तीनचोटिसम्म पुग्छिन् । त्यहाँ पुगेर गरीब बालबच्चाहरुलाई लुगा बाँड्छिन्  , एउटा छोरो बच्चा पढाउँदैछिन् झापाको बुधबारेमा । उनले पढ्न सहयोग गरेका तीन जना मास्टर सकेर आआफ्नो पेशामा लागिसकेका छन् । बुबा आमाको नाममा दमक , शान्तिनगर टोलस्थित मन्दिरको एकतल्ला भवन एघार लाख रुपैयाँमा निर्माण गरेकि छन् । 
 
हालै टेक्सासको डालसमा सम्पन्न नेपाल अमेरिका पत्रकार संघको साधारण सभामा ३ हजार डलर सहयोग, पत्रकारिताका विध्यार्थीलाई  छात्रवॢत्तिकालागि उपलब्ध गराउने घोषणा गरिन् यमुनाले । त्यो सहयोग प्रत्येक वर्ष प्रदान गर्ने उदेश्य राखेकि छिन् । 
 
डालस वरिपरिका सामाजिक संस्थाहरुलाई उनी हरसंभव सहयोग गर्छिन् । यमुनाकोमा पुग्दा खाली हात फर्किनु पर्दैन भन्ने धारणा त्यहाँको नेपाली समुदायमा छ । अमेरिकामा वार्षिक ५०/ ६० हजार डोनेसनमा जान्छ यमुनाको । 
 
नेपाल फर्किने दोधारमा 
 
अमेरिकामा पन्ध्र वा त्यो भन्दा बढी बसेका नेपालीहरु नेपाल फर्किनु पर्छ भन्ने मान्यता राख्छिन् यमुना । तर आफैं भने दोधारमा छिन् । किन त ? 
 
श्रीमान अहिले हतार किन ,परिस्थिति हेरेर निर्णय गरौंला भन्नुहुन्छ । त्यसैले म त्यही परिस्थितिको पर्खाइमा छु । - यमुनाले आफ्नो अप्ठ्यारो यसरी पोखिन् । 
 
उनको विचारमा नेपाली जोपनि अमेरिका आए पैसाकालागि आए । यत्तिका वर्षमा पैसा पनि कमाइन्छ । त्यो पैसाले यहाँको सुविधा नेपाल मै पाउन सकिन्छ भन्ने यमुनाको सोचाइ रहेछ । 
 
संसारको जुनसुकै ठाउँमा पुगेपनि नेपालजस्तो सुन्दर र मायालु देश कतै छैन - यमुनाले यसो भन्दै गर्दा उनीभित्रको नेपाल प्रेम अनुहारमा प्रष्ट झल्किन्थ्यो । 
 
छुच्ची, हठी तर आत्मीय 
यमुनाको स्वभाव खरो छ । उनको हठलाई कसैले छुच्ची भन्छन् । तर उनको मनमा आत्मीय भाव पनि उत्तिक्कै देखिन्छ । 
 
यमुना अमेरिका आएको ८ महिनामा बुबाको निधन भयो । उनलाई एउटा तीतो अफसोचले बारम्बार घोच्ने गर्छ । 
 
बुबाले मेरो संघर्ष र  सफलता देख्न पाउनु भएन । आमा बुबालाई यहाँ ल्याएर छोरीले के गरेकि रैछे भनेर देखाउन सकिन ।  यो कुराले मेरो मन पिरोलिन्छ - यमुनाको पीडा उनको आँखाबाट छछल्कियो । 
उनलाई एउटा घटनाले  सधैं पछ्याइ राख्छ ।
 
मेरी ठुली छोरीलाई बुबाले एकदिन तानेर भन्नु भएछ  - तेरी आमालाई भन्दिनु उसका दाजु भाइ दिदी बैनीहरुले दुख पाउँदा तिनीहरुको हेरचाह गर्नु । सायद बुबाले उहाँकि छुच्ची छोरी अब व्यवहारिक र मनकारी भैछ , आफ्नो जीवनलाई सही मार्गमा लान सकिछ भन्ने विश्वास भएर होला त्यस्तो अपेक्षा राखेको - यमुनाको यस्तो स्मरण आफैंमा अत्यन्त मार्मिक थियो । 
 
उनले भनिन् - मलाई पश्चताप छ , मैले आफ्नो कर्तव्य पुरा गर्न सकिन । 
 
अहिले उनीसंग खुशहाल परिवार छ । आफूले गुरु (Mentor) मानेको श्रीमानको छत्रछाया छ , दुइटी छोरी र एउटा छोराको माया प्राप्त छ । छैन त केवल आफ्नो बुबाआमाको आशीर्वाद । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया