अमेरिका समाचार

जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा जो बाइडेन फेरि विजयी

प्रकाशित |

वासिङ्टन । चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाएपछि त्यहाँ हातैले दोहोर्‍याएर मतगणना गरिएको हो । बाइडेनले यस जितसँगै राज्यबाट १६ निर्वाचक प्रतिनिधि [इलेक्टोरल मत] प्राप्त गरेका छन् ।  

बाइडेनले पेन्सिल्भेनिया, मिचिगन र विस्कन्सिन राज्यमा विजयी भएसँगै गत नोभेम्बर ७ मै अनौपचारिक रुपमा विजयी घोषणा गरिएको छ । र, जोर्जियाको मतपश्चात् बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पको भने २३२ मत छ । अमेरिकाको राष्ट्रपतिमा विजयी हुन २७० मत आवश्यक हुन्छ । 

सन् २०१६ मा जोर्जियामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भन्दा ट्रम्पले ५ प्रतिशत बढी मत ल्याएर विजयी भएका थिए । तर, यस वर्षको चुनावमा डेमोक्रेट पार्टीले जोर्जिया राज्यमा निकै बढी ध्यान दिएको थियो । 

जोर्जियाका सिनेटका दुबै पदमा यसपटक चुनाव भएको थियो तर दुबै पार्टीका उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि आगामी जनवरीमा पुनः चुनाव हुँदैछ । 

जोर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेट उम्मेदवार बाइडेन विजयी भएका हुन् । सन् १९९२ मा यहाँबाट बिल क्लिन्टनले विजय हासिल गरेका थिए । एपी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया