मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको व्यवहार निष्पक्ष भए संगठनकै छवि उच्च हुन्छ : महानिरीक्षक थापा

प्रहरीको व्यवहार निष्पक्ष भए संगठनकै छवि उच्च हुन्छ : महानिरीक्षक थापा


काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने संगठनकै छवि उच्च रहने बताएका छन् । उनले आमनागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालित ११८०औँ समूहको दीक्षान्त समारोहमा महानिरीक्षक थापाले दीक्षित भई कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीले देश र जनताको पक्षमा क्षमता देखाउने बेला आएको बताए ।  

उनले भने, “तपाईंहरु नाम वा व्यक्तिमात्र नभई संस्था एवम् सार्वजनिक व्यक्ति हुनुभएको छ, संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गर्दछु ।” कहिलेकाहीँ चुनौती अवसरको रुपमा पनि आउने र ती चुनौती तथा समस्याको समाधानका प्रयासले दीक्षित हुने प्रशिक्षार्थीको आगामी दिन निर्धारण गर्ने उनले बताए ।  

जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्नसमेत दीक्षित प्रशिक्षार्थीलाई उनले निर्देशन दिए । 

समारोहमा कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, शारीरिक व्यायाम तथा आत्मबल अभिवृद्धि प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक निरबहादुर बानियाँ, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक धर्मराज खत्री र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक प्रवेश कार्कीलाई उनले पुरस्कार प्रदान गरे । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन डा हरिप्रसाद अधिकारीले प्रहरीलाई थप दक्ष एवम् सक्षम बनाउन समयानुकूल पाठ्यक्रम अबलम्बन गर्नुपर्ने बताए । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई सपथ ग्रहण गराएका थिए ।  

विसं २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा आठ महिलासहित कुल १०८ जना प्रहरी निरीक्षकको सहभागिता थियो । प्रशिक्षार्थीले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको थियो । रासस