मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थपिए ४६४ संक्रमित, थप पाँचसहित ७० जनाको मृत्यु

नेपालमा थपिए ४६४ संक्रमित, थप पाँचसहित ७० जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७९२६ जनाको पिसिआर परीक्षणका क्रममा ४६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमा ६३३० जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ ।
 
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । 
 
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानागरपालिका–९ का ४५ वर्षीय पुरुषको साउन २२ गते सोही महानगरपालिका–११ का ८९ वर्षीय पुरुषको गत साउन २० गते निधन भएको थियो । सोही वडाका ५७ वर्षे पुरुषको पनि मृत्यु भएको छ । 
 
 
यस्तै, सिराहा गोलबजारका नगरपालिका १२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । सर्लाही वसन्तपुरका ४५ वर्षीय पुरुषको पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 
नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० जना पुगेको छ ।
 
काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ९४५ पुगेको छ ।
 
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ४ लाख २७ हजार ९२६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार २०७ जना देशभरका क्वारेन्टाइनमा र ६३३० जना आइसोलेसनमा रहेका छन् ।
 
त्यस्तै, शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई ४२५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८१५ पुगेको छ । जुन कुल संक्रमितको ७०.८ प्रतिशत हो ।