विचार / ब्लग

छोरा-छोरीहरु र अभिभावकको आकाङ्क्षा

प्रकाशित |
हामी विश्वभरीका मानिसहरु विगत ६ महिनादेखि कोभिड १९ नामक भाईरसको महामारीको कारण एकखाले त्रसित जीवन व्यतित गरिरहेका छौं ।  विकसित देखि विकासोन्मुख राष्ट्रहरु यस महामारीबाट बच्न प्रयासरत छन् । विश्वमा यस महामारीले लाखौ मानिसको मृत्यु पनि भईसकेको छ । महिनौको लकडाउनले मानिसका जीविकोपार्जनका श्रोतहरु पनि कम हुँदै जाँदैछ । विश्व एकप्रकारले महामारीको संकटमा छ । बालबालिकाहरु अझ विद्यालय उमेरकाहरुको पढाई लेखाईमै कमी आईसकेको छ ।
 
अभिभावकहरु आफ्ना माध्यमिक शिक्षा परीक्षा दिन नपाएका छोराछोरीप्रति उदासिन छने। कैयौं अभिभावकले आफ्ना छोराछोरीको लागि भविष्यमा होनहार व्यक्ति बनाउने आशामा सम्पूर्ण तागत लगाएका हुन्छन्, त्यो धन होस या बल अनि वुद्धि । चाहे  ती छोराछोरीको रुचि बा आमाले भने अनुसारको होस या नहोस्। छोराछोरीको सुन्दर भविष्य बनोस् भनेर निरक्षर र आर्थिकरुपले कमजोर अभिभावकले पनि रातदिन गरेर  पढाई सम्बन्धि आवश्यकतालाई पूरा गर्दै आईरहेका छन्।  
 
नेपाल सरकारले कोभिड महामारीको कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा नलिने घोषणा गर्यो । यसमा विद्यार्थीहरु तथा अभिभावकका आ-आफ्नै गुनासाहरु पनि छन् । जे होस्, अब भविष्यमा के बन्ने र के विषय पढ्ने, पढाउने, कुन कलेज पढाउने विषयतिर ध्यान मोडिएको छ । भविष्यको खातिर अहिले के पढ्ने भन्ने विषयमा थोरै मात्रै विद्यार्थीको रुचिलाई अभिभावकले स्वीकृति जनाएका हुन्छन्।  हामी अभिभावकहरु यस्तै चिन्तनले निर्देशित छौं । तर सहज रुपमा विद्यालय गईरहेका, आफ्ना पढाई विद्यालयमा नियमित गरिरहेका र सफल भईरहेका विद्यार्थीले अवश्य पनि त्यो लाईनलाई नछोडी आफ्नो गन्तव्यतिर लम्किरहेकै हुन्छन्। जो अलि कमजोर छन्, जसलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोगको जरुरी छ, उनीहरुलाई समुदाय, विद्यालय या राज्यस्तरबाट समेत सहयोग गर्नु पर्ने हुन्छ । छोराछोरीको भविष्यको लागि आमाबाबुको तिव्र आकाँक्षा सम्बन्धी एउटा घटना या ऐतिहासिक व्यक्तित्वको बारेमा पढेपछि सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरेको छु ।
 
वोरिस र सारा साईडिस युक्रेनियन आप्रवासी थिए । दुवै जना १९ औं शताब्दीका शुरुवाती दिनका धुरन्धर विद्धान थिए । उनीहरु जुविस धर्मावलम्बी थिए । राजनैतिक र धार्मिक कारणले उनीहरु अमेरिकाको न्यूयोर्क बसाई सरेका थिए । वोरिस साईकोलोजिस्ट थिए। सोही कारण उनले छिट्टै नै हिप्नोसिस तथा मेन्टल डिसअर्डर सम्बन्धी कार्यमा प्रसिद्धि हाँसिल गरे । उनकी जीवनसाथी सारा उनको समयको प्रचलित महिला डाक्टर थिईन् । मेडिकल डिग्री हाँसिल गरेका दुवै जोडी सफल करियरको उच्चतम बिन्दुमा थिए । आफ्नो नाम र दामसंगै ती जोडीलाई एक होनहार सन्तानको रहर भयो र उनीहरुले सोही योजना मुताविक सन् १८९८ मा पहिलो सन्तानको रुपमा विलियम जेम्स साईडिसलाई जन्म दिए ।
 
आमाबाबु नै पठित र विद्धान भएकोले विलियमलाई धर्तीमा आएदेखि नै सोही बमोजिम कोच गर्न थालियो । वोरिस र साराले विलियमको हुर्काईमा आवश्यक प्रोत्साहन, सिकाईको कुनै कसुर नै बाँकि राखेका थिएनन् । साथै वोरिसको नविनतम खोजमूलक साईकोलोजिकल टेक्निक आफ्नो छोरा विलियममाथि पनि प्रयोग गराईराखेका थिए । विलियमलाई सिकाउने कार्य उनी एक महिनाको हुँदा देखि नै शुरु गरियो । हुने विरुवाको चिल्लो पात भने झैं विलियम पनि विलक्षण नै निस्किएका थिए । विलियमलाई अक्षरहरु पढाउन र पहिचान गराउन एक महिनादेखि नै शुरु गरियो । विलियम ६ महिनाको हँदादेखि नै “डोर” जस्ता शब्द उच्चारण गर्न सक्ने भईसकेका थिए अनि ८ महिनाको हुँदा चम्चाले आफैं खाना खान शुरु गरिसकेका थिए  रे । विलियमका आमा बाबु सारा र वोरिस आफ्नो सन्तानप्रति निकै नै गौरवान्वित थिए । जोसुकै अभिभावक आफ्ना सन्तानप्रति गौरवान्वित हुन्छन् र विलियम त झन् बा-आमाले चाहे जस्तै विलक्षण थिए । विलियमका बाबु वोरिस त आफ्नो साईकोलोजीको सिकाईमा प्रयोग गरिएको ‘टेक्निक’ले काम गरेकोमा झन् प्रफुल्ल थिए ।  २ वर्षको उमेरमा विलियम न्यूयोर्क टाईम्स पढ्न सक्ने तथा अग्लो कुर्सीमा बसेर टाईपराईटरमा अक्षरहरु टाईप गर्न सक्ने भईसकेका थिए, त्यो पनि फ्रेन्च तथा अंग्रेजी भाषामा । विलियमका आमाबाबु आफ्नो तेजश्वी छोरालाई संसारले चिनोस भन्ने तीव्र महत्वाकांक्षा राख्दथे ।
 
हामी आई क्यू को पनि कुरा गर्छौ नि बेलाबखत । महान वैज्ञानिक आईन्सटाईनको आईक्यु १६० थियो अनि न्युटनको १९० थियो रे यो भनेको अधिकतम आईक्यु हुने वैज्ञानिक भनेर भनिन्छ तर विलियमको आईक्यु २६० थियो भनेर उल्लेख गरेको पाईन्छ ।
 
विलियमले ७ वर्षको उमेरमा माध्यमिक विद्यालयस्तरको पढाई सकाए ।  साथै ८ वर्षको उमेरमा उनी ७ भाषाका ज्ञाता भईसकेका थिए भने एउटा “भेन्डर गुड” भन्ने छुट्टै भाषाको आविष्कार पनि गरेका थिए ।
 
विलियम  ९ वर्षको उमेरमा हार्वर्ड विश्वविद्यालयमा भर्ना हुन् खोजे तर विश्वविद्यालयले उनी भावनात्मक रुपले अपरिपक्व भएकोले भर्ना हुन अनुमति दिएन। विलियमका अभिभावकले यो कुरालाई मिडियामा ल्याए । त्यतिबेलै विलियमलाई टुफ्टस कलेजमा दाखिला गराईयो र उनी त्यहाँ गणितका पुस्तकमा भएका त्रुटीहरुलाई सच्याउने साथै आईन्साटाईनको सापेक्षतावादको सिद्धान्तमा भएका गल्तीहरु पत्ता लगाउने काम गर्न थाले । विलियम जब ११ वर्षका पुगे उनी हार्वर्ड विश्वविद्यालयमा भर्ना भए । विलियमले सन् १९१० मा पहिलो पटक सार्वजनिक वहसमा भाग लिए । जुनबेला अरु बालबालिकाहरु डण्डिवियो खेलिरहेका थिए, आफ्नै संसारमा रमाईरहेका थिए, उनीहरुलाई डिग्रीका थेसिस कुन चराको नाम हो भन्ने थाहा नै थिएन, विलियम भने सार्वजनिक वहसको बक्ता बनाईसकिएका थिए । विलियमलाई व्यक्तिगत र सामाजिक गतिविधि खेलकुद, हाँसखेलको लागि विरलै समय मिल्थ्यो । १६ वर्षको किशोर उमेरमा विलियम हार्वर्ड विश्वविद्यालयबाट ग्राजुएटेड भईसकेका थिए ।
 
विलियम साईडिसको बायोग्राफर एमी वालेसको अनुसार जव विलियम कलेज भर्ना भए उनी भन्दा दोब्बर उमेरका युवती साथी भएका विद्यार्थीहरुले उनको निर्दोषपनलाई गिज्याउँथे । जब विलियमको ग्रयाजुएसनको बेला भयो त्यतिबेला रिपोर्टरहरुलाई विलियमले आफूले एउटा पर्फेक्ट जीवन विताउन चाहेको बताएका थिए र उनको लागि त्यो पर्फेक्ट जीवन भनेको एकान्त खालको जीवन थियो । उनी भीडलाई घृणा गर्ने बताउँथे । हार्वर्ड युनिभर्सिटीबाट ग्रयाजुएट सकेपछि विलियमले टेक्ससको है यूस्टनस्थित राईस युनिभर्सिटीमा म्याथमेटिक्स पढाउन थाले । उनको नाम र अन्य विद्यार्थी भन्दा जुनियर भएकोले उनलाई आफैंलाई त्यो वातावरणमा समायोजन हुन कठिन महसुस हुन थाल्यो । उनले केही समयपछि सो विश्वविद्यालयमा पनि राजिनामा गरेर पुन: बोस्टन फर्किए र फेरि कानूनमा डिग्रीको लागि हार्वर्डमा दाखिल भए तर छिट्टै नै सो अध्ययन पनि छोडे ।
 
विलियम विलक्षण क्षमता भएका नौजवान त थिए नै तर उनी आत्म पहिचानसंग संघर्ष गरिरहेका थिए । सन् १९१९ को मे मा उनी कम्युनिष्ठसंग सम्बन्धित संगठनको रिङ्ग लिडरको रुपमा प्रदर्शनमा समातिए  र जेलमा राखिए । त्यही बेला उनी एक आईरिस सोसियलिष्ट मार्था फोले नाम गरेकी युवतीसंग प्रेममा परे । उनीहरुको सम्बन्ध “जटिल”थियो ।  प्रेम, कला, यौन भनेका अपरिपक्व जीवनको कर्ता हुन भन्ने विलियमले  आफ्नो धारणा बनाएका थिए । जब विलियम जेलमा थिए उनले आफू धर्ममा विश्वास नगर्ने र सोही कारणले आफूले सोसियलिस्ट संगठनमा आवद्ध भएको बताएका थिए । विलियम १८ महिना जेल परेका थिए । उनका आमाबाबुको साखको कारणले उनी जेल मुक्त त भए तर उनले आफू एउटा स्वतन्त्र र शान्तिपूर्ण जीवन बाँच्ने निधो गरे ।
 
विलियम एउटा शहरबाट अर्को शहरमा घुमिरहन्थे । विलियमले छद्म नामबाट दर्जनौ पुस्तक लेखेका छन् भनेर पनि भनिन्छ। जसमध्ये एउटा चाँहि ब्ल्याकहोल सिद्धान्त बारेमा थियो रे  । विलियम स्ट्रिटकारको पनि सौखिन थिए ।
सन् १९२४ मा विलियम आफ्ना बाबुआमा तथा प्रियजनलाई पत्तै नदिई गायब भए ।  यसरी धुरन्धर दिमागी क्षमता भएका युवा अचानक पलायन हुँदा उनको परिवार तथा समाज, मिडियाले खोजविन तथा चर्को आलोचना पनि गरे । सन् १९४४ को जुलाई महिनामा विलियमलाई उनको बोस्टनको अपार्टमेन्टमा अचेत अवस्थामा उनको घरमालिकले फेला पारिन् । उनलाई स्ट्रोक आएको थियो । उनको चमत्कारिक दिमाग मृत प्रायः थियो । ४६ वर्षको उमेरमा विलियमको मृत्यु भयो । उनको मृत्यु हुँदा उनको पर्समा उनले मन पराएकी विवाहित युवती मार्था फोलेको तश्वीर मात्र थियो ।
 
विलक्षण विलियमले जन्मेर एक महिनादेखि जुन चमरत्कार देखाए,जुन आईक्यु उनमा देखियो त्यो असाधारण क्षमता सबै बालबालिकामा हुँदैन ।  सबै उच्च बौद्धिक क्षमता लिएरै जन्मने, सबै बैज्ञानिक, डाक्टर, ईन्जिनियर, पाईलट अन्तररिक्ष यात्री बन्ने पनि होईनन्।  तर पनि धेरै जसो सचेत आमाबाबु आफ्नो छोराछोरीबाट अलि बढी नै आशा गरिरहेका पनि हुन्छौं । यस्तो अवस्थामा बालबालिकाले आफ्नो स्व-पहिचान बनाउन पनि सकिराखेका हुँदैनन् । जसरी विलियमले आफ्नो अन्तरनिहित चाहनालाई पहिल्याउन सकिरहेका थिएनन् । छोराछोरी परिपक्व नहुन्जेल उनीहरुको सर्वोत्तम हितलाई ध्यानमा राख्दै उनीहरुका मार्गनिर्देशक बन्ने, मानवीयता र समाजबारे सिकाउने, आफैं उदाहरण बन्ने तर दवाव नदिने गर्नु बालबालिकाप्रति अभिभावकको दायित्व हुन आउँछ ।
 
सबै क्षमतावानहरु आईन्सटाईन र न्युटन नै बन्ने होईनन र क्षमताहरु जिन्दगीभर एउटै तवरले रहिरहन्छ भन्ने पनि छैन। यी विलक्षण प्रतिभाशाली तर झट्टै उदाएर गुमनाम अस्ताएका व्यक्तित्वको जिवनीले एक पटक आफ्नो बालबालिकाको बारेमा सोच्न बाध्य भने गराउँछ ।
 
 
(लेखक शर्मा सामाजिक विकासका क्षेत्रमा सक्रिय छिन्-सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया