मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना संक्रमणका कारण थप तीनसहित ३८ जनाको मृत्यु

कोरोना संक्रमणका कारण थप तीनसहित ३८ जनाको मृत्यु


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।
 
मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँ महानगर १० शंखमुलका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौला रोगका बिरामीसमेत रहेका उनको फोक्सोमा पानी जमेपछि १६ असारमा पाटन अस्पतालमा भर्ना गरिएकोमा असार २६ गते मृत्यु भएको हो । 
 
यसैगरी, सिन्धुपाल्चोक, पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि असार १८ गते नै सोही अस्पताल भर्ना गरिएको थियो । क्षयरोगको उपचारका लागि अस्पताल भर्ना गरिएकामा२२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
उनको २५ गते पाटन अस्पतालमा मृत्यु भएको छ । यसैगरी, गोकर्णेश्वर ४ का ५४ वर्षीय पुरुषको मिर्गौलामा समस्या देखिएपछि उपचारार्थ केएमसी अस्पताल, सिनामंगलमा असार १९ गते भर्ना गरिएको थियो ।
 
श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिए पनि आईसीयूमा बेड खाली नभएपछि केएमसीमा उपचार गरिएको थियो । उनको २१ गते स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते नै उनको मृत्यु भयो । रिर्पोटमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 
थप तीनसहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ७० सहित कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ ।
 
जसमध्ये ८४४२ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म ५०.५ प्रतिशत बिरामी डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।