मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाभाइरस स्वास्थ्य विज्ञानका लागि नयाॅ चुनौती

कोरोनाभाइरस स्वास्थ्य विज्ञानका लागि नयाॅ चुनौती


अमेरिका– चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत महिना देखा परेको कोरोनाभाइरसको संक्रमणले अहिले संसार कै ध्यान खिचेको छ। पछिल्लो तथ्यांक अनुसार कोरोनाभाइरसका कारण ८० जना भन्दा ज्यादाको ज्यान चीनमा मात्र गैसकेको छ। यस अघि पत्ता नलागेको यो नितान्त नयाॅ भाइरस अब चीनमा मात्र सीमित छैन, यसले अमेरिकासम्म पहुॅच बिस्तार गरिसकेको छ। 
 
संक्रमणको केन्द्र रहेको चीनमा मात्र संक्रमितहरुको संख्या तीन हजार नाघिसकेको छ भने मृत्यु हुनेहरुको संख्या ८१ पुगिसकेको छ। र, यो दिन दिनै बढ्दो छ। शुरुमा वुहानसंगको आवत-जावतलाई नियन्त्रण गरेको चीनले अहिले दर्जनौं शहरहरुमा यातायात संजाललाई नियन्त्रण गरेको छ र पनि संक्रमणको फैलावट रोकिएको छैन। चीनले संक्रमण न्यूनीकरण गर्न र संक्रमितहरुको उपचारका लागि निकै ठूलो सक्रियता देखाएको छ। करीब हप्ता दिन मै निर्माण सम्पन्न गर्ने गरी दुईवटा दुई हजार शैयाको विशेष अस्पताल निर्माण थाल्ने चीनको तदारुकता असाधारण लाग्दो छ। भाइरसको संक्रमण फैलन नदिन भरमग्दुर प्रयासमा जुटेको चीनमा राष्ट्रपति सि जिन पिंग समेत उच्च चिनियाॅ नेतृत्व निकै सक्रिय देखिएको छ। 
 
बिरामीलाई निमोनिया गराउॅने कोरोनाभाइरस अहिले स्वास्थ्य विज्ञहरूका लागि चिन्ताको विषय भएको छ। विश्व स्वास्थ्य संगठनले संक्रमण थप फैलन र महामारीको रुपमा जान नदिन उच्च सतर्कता अपनाउन चीन लगाएतका देशहरुलाई अपील गरेको छ भने आवश्यक सहयोगको लागि तत्परता समेत देखाइसकेको छ। 
 
गएका बर्षहरुमा युगाण्डा, कंगो जस्ता अफ्रिकी देशहरुमा फैलिएको प्राणघातक इबोला भाइरस जस्तै कोरोनाभाइरस पनि हुने हो कि भन्ने शंसयले मानिसहरुलाई चिन्तित बनाएको पाइन्छ। र, डब्लुएचओ त्यस्तो अवस्था नआओस् भनेर निकै सक्रिय भएको देखिन्छ। 
 
अमेरिकामा कोरोनाभाइरस
केही दिन पहिले सियाटलमा पहिलो संक्रमण देखिएकोमा हिजो आइतवारसम्ममा अमेरिकामा पाॅचजनामा भाइरसको संक्रमण भएको पुष्टि सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) गरेको छ। ती सबै संक्रमितहरु हालसालै चीनको वुहानबाट फर्किएकाहरु भएको र उनीहरुलाई छुट्टै राखेर उपचार जारी राखिएको सिडिसीले जनाएको छ। हालै वूहान गएर आएका टेक्ससस्थित टेक्सस ए एण्ड एम यूनिभर्सिटीमा अध्ययनरत एक विद्यार्थीमा पनि संक्रमणको आशंका गरिएको छ। उनलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा परीक्षण र उपचार जारी राखिएको स्थानीय अधिकारीहरुले  जानकारी गराएका छन्। 
 
अमेरिका भरबाट संभावित संक्रमणको जोखिममा रहेकाहरुबाट सय भन्दा बढी रक्त नमूनाहरुको परीक्षण गरेको सिडिसीले पाॅच जनामा भाइरस संक्रमण भएको पुष्टि गरेको हो। ज्वरो, स्वास-प्रश्वासको समस्या, रुघा-खोकी लगाएतको लक्षण भएका र चीनको वुहान गएर आएकाहरुको निगरानीमा विशेष ध्यान दिन पनि सिडिसीले सुझाएको छ। अमेरिकाभित्र हालसम्म मान्छेहरुमा एकअर्काबाट संक्रमण सरेको कुनै तथ्य फेला नपरेको पनि सिडीसीले जनाएको छ। 
 
यसैबीच राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा आफूहरु चीनसंग निकट सम्पर्कमा रहिरहेको र चीनलाई आवश्यक परेमा आफ्ना उत्कृष्ट विशेषज्ञहरु मार्फत कुनैपनि खालको सहयोग गर्न अमेरिका तत्पर रहेको कुरा चिनीयाॅ राष्ट्रपतिलाई भनिएको भन्दै आज बिहान एक ट्वीट सन्देश सार्वजनिक गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्वीटमा अमेरिकामा निकै कम व्यक्तिमा मात्र संक्रमण फेला परेको पनि लेखेका छन्।
 
के हो कोरोना भाइरस?
 
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अहिले देखिएको नितान्त नौलो प्रकृतिको नोभेल कोरोनाभाइरसले चीनजस्तो बढी जनघनत्व भएको मूलुकका लागि निकै जोखिमयुक्त रहेपनि अन्य देशहरुका लागि ठूलो खतरा नभइसकेको भनेको छ। तर सबै देशहरुले संभावित संक्रमणको प्रसारबाट बच्न वुहान लगाएतका बढी संक्रमण पाइएका चिनीयाॅ शहरुहरुबाट आउने यात्रीहरुको जाॅच र शंकास्पद लक्षण देखिएकाहरुलाई छुट्टै राखेर उपचार गर्न सुझाएको छ। 
 
डब्लुएचओले गरेको शुरुवाती अध्ययनले संक्रमित व्यक्तिहरूबाट निकै कम मान्छेहरुमा मात्र भाइरस सरेको देखाएको छ भने चीनमा पनि पत्ता लागेका संक्रमितहरु मध्ये कमैको मात्र (२.७ प्रतिशत, करीब ३ प्रतिशत) ज्यान गएको छ। महामारीको रुप नलिइसकेकोले अहिले नै कोरोनाभाइरसलाई प्राणघातक भाइरस भनिहाल्नु हतार हुने डब्लुएचओले भनेको छ। चीनबाट फैलिएको भाइरस नेपाल लगाएतका केही एशियाली देशहरु र अमेरिकासम्म पनि पुगिसकेको अवस्थालाई भने चुनौतीको रुपमा लिनु पर्ने देखिएको छ। 
 
कस्ता लक्षण देखिन्छन् र कसरी बच्न सकिन्छ? 
 
आफूलाई परिवर्तन गर्न सक्ने गुणका कारण कोरोनाभाइरस प्रजातीय रुप नै बदलेर मानव शरीरमा प्रवेश गर्छन्। विशेषज्ञहरुले हाल देखिएको कोरोनाभइरस कुनै जनावरबाट मान्छेमा आएको हुनु पर्छ भन्ने अनुमान गरेका छन्। 
 
२००८ तिर निकै संक्रामक देखिएको सार्स भाइरस पनि सानो वन बिरालोबाट मान्छेमा सरेको भनिएको थियो। 
 
एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने गुण भएको कोरोनाभाइरसले मानिसहरुमा मुख्यतया श्वासप्रश्वास सम्बन्धी समस्या गराउॅदछ भने ज्वरो र रुघा-खोकीको लक्षण पनि देखा पर्दछ। 
 
स्वास्थ्य विज्ञहरूले कोरोनाभाइरसको संक्रमणबाट बच्न मानिसहरुसंगको अनावश्यक जमघटमा सरिक नहुन, बढी भिडभाडयुक्त ठाउॅहरुमा नजान, घर बाहिर निस्कॅदा मास्क लगाउन, र बेलाबेलामा साबुन-पानीले हात धोई रहन सुझाएका छन्।यसैगरी ज्वरो र रुघा-खोकी, श्वास-प्रश्वास सम्वन्धि समस्या देखिएमा तत्काल स्वास्थ्य उपचार गराइहाल्न सल्लाह दिएका छन्। 
 
तस्बिर: डब्लुएचओ, गेटी इमेज