मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा एनआरएन अमेरिकाको साधारण सभा सुरु

ड्यालसमा एनआरएन अमेरिकाको साधारण सभा सुरु


ड्यालस (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएन) काे पाँचाै साधारण सभा शनिवार अमेरिकाको ड्यालसमा सुरु भएकाे छ । साधारण सभाकाे परराष्ट्रमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका छन् ।  
 
झण्डै साढे दुइलाख नेपालीहरूको बसाेबास रहेकाे अमेरिकाकाे एनअारएनलाइ निकै महत्व दिँदै मन्त्री महत अमेरिका अाएका हुन् । उनी अमेरिका अाएकाे विषयमा नकारात्मक चर्चा समेत भएकाे थियो । 
 
'अमेरिकामा साढे दुइ लाख नेपाली पुग्नु हाम्रा लागि गाैरवको विषय हाे,' मन्त्री महतले भने । 'संसारमा रहेका धेरै देशहरूमध्य कतिपयकाे जनसंख्या यहाँ (अमेरिकामा) रहेका नेपालीको भन्दा पनि थाेरै छ,' उनले भने ।  
 
नेपालीहरूकाे संख्या धेरै भएका स्थानहरूमा कन्सुलेट कार्यालय स्थापना गर्नेतर्फ सरकारले केही गृहकार्य सुरु गरिसकेको पनि उनले बताए । 'विशेष रूपमा टेक्सस र क्यालिफोर्नियामा अावश्यकता महसुस भएको छ,' महतले सञ्चारकर्मीहरूसँगको अन्तरकृयामा भने । 
 
त्यस अवसरमा मन्त्री महतले  नेपालीहरू बाहिरिनु देशका लागि ठूलो घाटा रहेको समेत उल्लेख गरे । 'रेमिटेन्सले देश चल्न सक्छ । तर उच्च अार्थिक वृद्धि हुनसक्दैन । हामी चाहन्छाै, ठूलो संख्यामा रहेका तपाइहरू नेपालमै गएर नेपालकै समृद्दिमा लाग्नुहुनेछ,' भावुक हुँदै डा. महतले भने ।  
 
विशेष गरि युरोप, अमेरिका, अष्ट्रेलियामा नेपालबाट दक्ष र क्षमतावान जनशक्तिको पलायन भएकाेमा मन्त्री महतले दुख जनाए । उनले नेपाल सम्पन्न भएपछि विदेशमा रहेका सबै नेपालीहरू फर्कने अाशा समेत व्यक्त गरेका थिए ।  
 
कतै पनि झुकेका छैनाै :  
नेपाल सरकार चीनलाइ छाडेर भारततर्फ झुकेको भनेर जनस्तरमा अालोचना भइरहेको सन्दर्भमा मन्त्री डा. महतले कतै  पनि नझुकेको स्पष्ट पारे । 'न त चीन, नत भारत कतैपट्टी पनि झुकेका छैनाै । हामी नेपालतिरै झुकेका छाैं,' उनले भने ।  
 
माअोबादीतर्फ संकेत गर्दै मन्त्री महतले २०५२ सालमा जनयुद्ध थाल्दा प्रचण्ड लगायत बाबुराम भट्टराइले बुझाएको ४० बुँदे मागमा भारतीय सवारी साधन, चलचित्रको प्रदर्शनमा प्रतिवन्ध लगाउने माग गर्नेले प्रधानमन्त्री भएपछि भारतीय पूँजीको संरक्षण गर्नुपर्छ भनेर अावाज उठाएको समेत उल्लेख गरे ।  'हाम्रो चीनसँगको संबन्ध, भारतसँगकाे संबन्ध दाँजिन सक्दैन, सम्बन्ध दाँजिरहनु पर्दैन,' उनले भने ।  
 
ग्रीनकार्ड र पिअारको विषय चर्को रूपमा उठाउनु पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले यो एउटा सहज रूपमा अावतजावत र बस्ने सुविधामात्र रहेको बताए ।  
 
कार्यक्रममा  न्यूयोर्कस्थित नेपाली बाणिज्यदूत कृशु क्षेत्रीले युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका एनआरएन र खाडी, मलेसियामा रहेका एनअारएनका बीचमा रहेर एजेण्डा तय गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए । 'हरेक दिन भित्रिरहेका नेपालीहरू जोसँग कुनै कागज छैन, उनीहरूलाइ पनि एनअारएनले खोजी गर्नुपर्छ,' उनले भने ।  
 
एनआरएन अन्तर्राष्ट्रय समितिका उपाध्यक्ष कुमार पन्तले हरेक देशमा छरिएर रहेका र हरेक भाषा बोल्ने नेपालीलाइ समेटेर जानुपर्ने अवस्था रहेको बताए ।  
 
कार्यक्रममा इनिस शहरकी मेयर एन्जिलिन जुनिमेन, नेपाली राजदूत अर्जुनकुमार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङ, एनआरएन अाइसीसी अमेरिकाका सोनामा लामा, नेपाली जनसम्पर्क समितिका अध्यक्ष अानन्द विष्ट, डा. यादव पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा अायोजकका तर्फबाट स्वागत गर्दै एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले नेपालीका साझा मुद्दामा  वकालत गर्न र सवल सक्षम बनाउन साधारण सभा सफल हुने बताएका थिए । 
 
पोखरेलले ड्यालस नेपालीहरूका लागि अाकर्षक गन्तव्य हुँदै गएकाे र लगानीका लागि सबैभन्दा सुरक्षित अनि सहज क्षेत्र भएकाे पनि उल्लेख गरे । एक दिने सम्मेलनका क्रममा विगतका कार्यहरूका समिक्षा र अागामी कार्यकालका लागि  योजना बनाउने लक्ष रहेको छ ।  
 
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पाैडेलले डेढ वर्षको अवधिमा नेपाली समुदायका लागि धेरै कार्य गरेकाे चर्चा गरेका थिए ।  
 
उद्घाटनका अवसरमा एनआरएन टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला अाचार्य, एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  
 
कार्यक्रममा एनआरएन मिचिगन च्याप्टरका तर्फबाट गोरखामा निर्माणाधिन वस्ती विकासका लागि चार हजार तीन सय डलर एनअारएनका उपाध्यक्ष कुमार पन्तलाइ हस्तान्तरण गरिएको थियो ।