मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

प्रवासमा कोरोनाबाट २६६ नेपालीको मृत्यु, ९२ प्रतिशत कोरोनामुक्त

प्रवासमा कोरोनाबाट २६६ नेपालीको मृत्यु, ९२ प्रतिशत कोरोनामुक्त


काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् ।

 संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ ।  समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ ।

यस साता स्पेन, भारत, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।  

यस्तै नेपालमा मात्र ८६ हजार ८२३ जना कोरोना भाइरसबाट सङ्क्रमित तथा ६४ हजार ६९ जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७३ दशमलव ७९ प्रतिशत हो । हालसम्म नेपालमा ५३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।  

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २६ हजार ३५१ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये ९९ हजार ९८५ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

संघको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डा सापकोटाले कोरोना सङ्क्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् । उनले कोरोना सङ्क्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । 

शेयर गर्नुहोस:

243
Shares