मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु


लन्डन । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ । 

केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो । 

खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिएलगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले गत मंगलबार जनाएको थियो । 

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका कम्पनी अहिले खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधि समेत निर्माणको प्रयास जारी राखेको छ । 

अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रहरुबाट खोप दिन थालिएको उल्लेख छ । बेलायती नियामक निकायहरुले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ । 

अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिएका थिए । 

ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन । अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकाय दुवैबाट स्वतन्त्र छानबिन पश्चात खोप परीक्षण पुनः सुरु गरिएको हो । 

संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानकले खोप परीक्षण पुनः सुरु भएकामा त्यसलाई स्वागत गरेका छन् । उनले खोप परीक्षण पुनः थालनी भएको समाचार सबैका लागि खुसीको कुरा हो भने । 

अक्सफोर्ड विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर करिब १८ हजार व्यक्तिले खोप लगाइसकेका छन् । बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र अमेरिका समेतका सर्वाधिक असर परेका मुलुकमा खोप परीक्षण कार्य भइरहेको छ । 

ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले अक्सफोर्ड खोप ब्राजिलमा पुनः शुरु गर्न अनुमति दिइसकेको जनाएको छ । 

अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो । हाल अक्सफोर्ड र अस्ट्राजेनिका बाहेक अमेरिकाको मोडर्ना र पिफाइजर तथा जर्मनीको बायोएनटेक तेस्रो चरणको खोप परीक्षणमा जुटेका छन् । 

यस्तै रुसले स्पुतनिक भी बनाइसकेको दाबी गरेको छ भने चीनले समेत खोप परीक्षण तेस्रो चरणमा पुगेको जनाएको छ ।