साहित्य सिर्जना

'निरान्जी'

कथा

प्रकाशित |

मलाई लाग्थ्यो, उसले मलाई माया गर्छ । उसले मलाई अरूलाई भन्दा विशेष तरिकाको व्यवहार गर्थ्यो, सँधैं आफ्नो जस्तो हक जताएर कुरा गर्थ्यो । हरेक सानाठूला कुराहरू मसंग बाँड्थ्यो । म मात्र हैन कलेजका मेरा नजिकका साथीभाईहरूले पनि हामीलाई जोडीकै रूपमा हेर्थे । तर हामीले कहिल्यै पनि एक अर्कालाई प्रेमको प्रस्ताव भने राखेका थिएनौ ।

समय बित्दै गयो । अचानक उ चार, पाँच दिन हरायो । अनि जुन दिन फर्किएर आयो , त्यो दिन उसको हातमा विवाहको निमन्त्रणा कार्डहरू थिए ।

“सब भन्दा पहिलो तिमीलाई” भन्दै एउटा कार्ड मतिर बढायो । मैले प्रश्न सहितको हेराईले हेरें । उसले मन्द मुस्कान सहित “खोल” भन्ने संकेतको टाउको हल्लायो । मैले खामबाट निकालेर झुलुक्क हेर्दा उसको नाम देखिहाले । मुटु ढक्क फुल्यो , रिगंटा लागे जस्तो भयो । तर हतार हतार संम्हालिए र “ अहिले जान्छु ल , जरूरी काम छ “ भन्दै हात हल्लाएर हिंडिहाले । कसरी घर आईपुगे आफैलाई थाहा भएन । कोठाभित्र छिरेपछि फेरी अघिको खाम खोले र पढ्न थाले । त्यहाँ लेखिएको थियो “ हाम्रो चिरन्जीवी छोरा दर्शन थापाको शुभ विवाह आयुष्मती सुश्री शकुन बुढाथोकीसंग यही आउदो मिती ...., हुन गईरहेछ ।....” त्यहा देखि उता पढ्न सकिन । आशुले कार्ड भिजीसकेछ ।

धेरै बेर रोईसके पछि लामो सास फेरें अनि सोच्न थाले । के उसले साच्चै मलाई धोका दिएको हो त ? तर कसरी धोका दियो , जब कि उसले त मलाई प्रेमको प्रस्तावसम्म पनि राखेको थिएन । मैले आफै पो उसको मिठो बचन र सहयोगी व्यवहारको ग़लत अर्थ लाए कि ? यो कुराले एक किसिमको लाज र ग्लानी लागेर आयो ।

जे भए नी मैले भने उसलाई प्रेम गरेकी थिएँ । एकोहोरो नै सही उ मेरो पहिलो प्रेम थियो । भुल्न खोजेर पनि नसकिने ।

त्यो निमन्त्रणा कार्डमा भएको “चिरन्जीवी ” शब्द आँखाभरी नाचिरह्यो । अनि त्यही दिन मैले आफ्नो लागि एउटा शब्द बनाए “निरान्जी”..।

मलाई थाहा छैन यो शब्द नेपाली शब्दकोशमा छ कि छैन । यसको अर्थ पनि के हुन्छ, हुदैन । तर मैले आफै यसको अर्थ ‘ चिरन्जिवी’ को उल्टो अर्थमा बनाएकी हुँ । निरान्जी अर्थात् छोटो आयु । मलाई बाँच्नु बेकार लाग्यो । भगवानसंग छोटो आयुको लागि प्रार्थना गरीरहें । तर आत्महत्या गर्नु सकिन । किनकी आत्महत्या गरेको मान्छेहरू सहज मरण मर्ने भन्दा झन् धेरै बाचेको देखे । हाम्रो समाज नौनी दलेको जस्तो गरेर नुनचुक छर्नु सिपालु छ । बाटोमा हिडिरहेको पिडीत परिवारलाई औलाएर ‘ उ अस्ति झुन्डिएर मर्नेको फलानो ’ भन्छ । अझ कोही त ," तपाई फलानोको आफ्नो मान्छे हैन ? ” समेत भन्न पछि पर्दैन । यसरी मरेर बर्षौ बितिसक्दा पनि मानिसको मानस पटलमा त्यो आत्महत्या गरेको मान्छे बाँचिरहन्छ ।

झन् दुख लाग्दो कुरा त उ सधैं बाँचिरहन्छ ,परिवारको दुख्ने घाउ बनेर ..! त्यसैले मैले स्वयम् मृत्युवरण गर्ने सोच कहिले बनाईन । यद्यपि बाँच्ने रहर मरिसकेको थियो । त्यसैले म ‘ निरान्जी ’ हुन चाहन्थे र भगवानसंग मृत्युको भीख मागिरहन्थे ..। यसरी बर्षौ बित्यो , तर आजसम्म पनि मेरो फरियादको सुनुवाई भएन ।

निर्मला राई

निर्मला राई -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया