साहित्य सिर्जना

खान लाउन नजान्ने

प्रकाशित |
‘अमेरिकामा पनि यस्ता लाउन, खान नजान्ने मान्छे देखिँदो रहेछ ।’
 
साउण्ड सिस्टमको चर्को आवाजबीच कसैले बोलेको यो वाक्य कविराजको कानमा ठोक्किन आइपुग्यो । बडादशैंको अवसरमा न्यूयोर्कको नेपाली संस्थाको अायोजनामा त्यो पार्टी  भएको थियो । त्यही पार्टीमा कविराज तीन महिना अघिमात्र अमेरिका आइपुगेकी आफ्नी पत्नी सुमित्रालाई लिएर पुगेका थिए ।
 
सामान्य कुर्ता सुरुवालको पहिरनमा सल ओढेर सुमित्रा सहभागी थिइन् पार्टीमा । उनी कुर्सीमा बसेर प्लेटमा खाना खाँदै थिइन् । घरिघरी मासुको टुक्रालाई हात प्रयोग गरेर टोक्दैथिइन् । चम्चा र काँटा प्रयोग गरेर खानको लागि उनलाई निकै सकस परिरहेको थियो ।
 
आफ्नै पत्नीलाइनै संकेत गरेर ती दुई महिलाले कुरा काटेको अनुमान गर्न कविराजलाई कुनै गाह्रो परेन । पाँच वर्षदेखि उनी अमेरिकाको यो शहरलाई आफ्नो कर्मथलो बनाएर बनाएर बसेका छन् । पत्नीलाई भने तीन महिना अघिमात्र ल्याएका हुन् ।
 
‘हेर सुमी, अमेरिकामा लाउन खान पनि जान्नुपर्छ । नत्र हेप्छन् । यहाँ गोराहरुले अरुका व्यक्तिगत कुरामा चियो निन्दा गर्दैनन् । तर नेपालबाट आएका हाम्रो समाजका सदस्यहरुलाई भने अरुले के खायो, के लगायो ? कहाँ काम गर्छ ? कस्तो काम गर्छ ? घर हो कि अपार्टमेन्टमा बस्छ ? गाडी कस्तो चढ्छ भन्ने कुरामा निकै चियोनिन्दा हुनेगर्छ’ राति घर आएपछि कविराजले भने ।
 
गाउँमा हुर्किएकी र आधुनिकताको छायाँमा नपरेकी सुमित्रालाई लोग्नेका कुराले आश्चर्य लाग्यो । ‘हामीले जस्तो लगाएपनि, जे खाएपनि दुनियालाई के चासो ? हामीले उनीहरुको के बिगार गरिदिएका छौँ र ?’ उनले घोसेमुन्टो लगाउँदै भनिन् ।
 
त्यसरात अमेरिकामा कसरी हिँड्ने, बोल्ने, खाने, लगाउने लगायतका विषयमा पति–पत्नीबीच लामै छलफल भयो । भोलीपल्ट दिउँसो पत्नीलाई लिएर कोल्स स्टोर पुगे । त्यहाँ सुमित्राका लागि उनले स्कर्ट, जिन्स लगायत वानपिस किने । गहनादेखि लिएर स्यान्डल्ससम्म किने ।
 
गाउँमा हुर्किएकी केटी सोझी हुन्छन् । लप्पन छप्पन जान्दैनन् । अझ उच्चशिक्षा अध्ययनका लागि अभिभावकबाट टाढा नभएकी केटी भयो भने त सबैभन्दा वेश ठानेर कविराजले सुमित्रालाई रोजेको हो । डिभी परेको केटो भएकोले एकसे एक युवतीहरुको प्रस्ताव नआएको होइन । तरपनि उसले गाउँकी छोरी सुमित्रालाई चयन गरेको थियो ।
 
नेपालबाट ल्याएको कुर्ता सुरुवाललाई क्लजेटको कुनामा थन्काएर सुमित्रा पार्टीहरुमा वानपिसमा प्रस्तुत हुन थालिन् । कपडा अनुसारको सेट मिलाएर गहना पहिरिएर हिँड्न सुरु गरिन् । चाडपर्वहरुमा कपडा र गहना दोहोर्याउन छाडिन् । पार्टीहरुमा सुमित्रा र उनको पहिरनले सबैको ध्यान खिच्न थाल्यो ।
 
‘यस्तो स्मार्ट केटी पनि के यस्तो कालो, हुटिट्याउँ जस्तो बुढोसँग बसिराख्या होला’ केही महिनापछि फेरि एउटा पार्टीमा कसैले कुरा काटेको कविराजको कानमा आयो । कविराज रातो वर्णको थियो । उसको वंशाणुगत गुणनै दुब्लो पातलो थियो । उसले समाजका कुरामा ध्यान दिएन ।
 
सुमित्रालाई उसले पढ्नका लागि प्रेरणा दियो । आफू दिनमा १६ घण्टासम्म बंगालीको स्टोरमा खटिएर उसले पत्नीलाई कुनै अभाव हुन दिएन । मन लागेको गहना, मन परेको कपडा, मन लागेको मनोरञ्जन, घुमफिर, भोजभतेरमा कुनै अभाव हुन दिएन उस्ले । गाउँमा हुँदा कफी नपिएकी सुमित्रा क्याब्रनेट वाइन नभएसम्म डिनरमा बस्न छाडिन् । आइस राखेको क्राउन रोयल र बंगुरको मासु उनको प्रिय खानेकुरा हुन थाले ।
 
काममा भएको समयमा एउटा युवक दिनहुँ अपार्टमेन्टमा आउन थालेको कुरा कविराजले सुन्न थाले । केही दिन अघि सुमित्राले भनेको उस्ले सम्झियो–‘हजुर मलाई लिन दिनदिनै कलेज आउनुपर्दैन । बेकारमा एक घण्टा किन दुःख पाउनुहुन्छ । एकजना भाइ भेटेको छु । उनले भिनाजुलाइ दुःख दिनुपर्दैन भनेका छन् ।’
 
उनले युवकलाइ माइतीगाउँको भाइ हो भनेर दावी गरिन् । सोझीका रूपमा चिनिएको हुँदा कविराजले पत्नीका कुरालाइ पुरै विश्वास गर्छन् । उनी त्यही केटासँग दिनहुँ कलेजबाट अाउने गर्न थालिन् । कलेजबाट अपार्टमेन्टमा ल्याएर युवक दिन बिराएर एकडेढ घण्टा त्यही बिताउन थाल्यो । पत्नी र एउटा बच्चा नेपालमा भएको युवक पनि सुमित्रासँग लहसिन थाल्यो । युनिभर्सिटीबाट ग्राजुएट भएर उ अोपिटी अन्तरगत एउटा कम्पनीमा काम गर्दैछ ।
 
‘माइतीगाउँको भाइ कस्तो एक्टिभ छ । सामाजीक काममा पनि त्यतिकै सहयोगी रहेछ’ सुमीले युवकका बारेमा प्रशंसाका पुलिन्दा बेलामाैकामा फुकाउने गर्थिन् ।
 
एक दिन रातिको शिफ्टमा काम गर्ने भाई नआइदिँदा कविराजले त्यो शिफ्ट पनि कभर गर्नुपर्यो । उनले फोन गरेर पत्नीलाई खबर राति नआउने खबर गरे ।
 
भोलीपल्ट दिउँसो अपार्टमेन्टमा आइपुग्दा पल्लो अपार्टमेन्टमा काम गर्ने बुढीआमाले सोधिन्–बाबु राति किन ओहोर दोहोर गरिरहेको ? कसैलाई सञ्चो भएन कि ?’
 
उसले केही नभएको भन्दै कुरा टार्यो । मनमा शंका बढ्यो । उ तुरुन्तै बेस्टबाइ पुग्यो । सानो सिसी क्यामरा ल्याएर कसैले पत्तो नपाउने गरि कोठामा जडान गर्यो । आफ्नो मोबाइलसँग क्यामरालाई जोड्यो ।
 
भोलीपल्टदेखि कविरावले जे जस्तो दृश्य क्यामरामा देख्न थाल्यो उसको जीवनमा त्यतिसम्म सुमीले गर्लिन भनेर विश्वास गरेको थिएन । कविराज माथि, उसको सिधापन माथि ठूलो धोकाघडी, अनैतिकताको पराकाष्टा देखियो सिसी क्यामराको फुटेजमा । केही थाहा नपाए जसरी सुमित्रालाई सम्झायो । उ आफैँले कलेज लैजाने र ल्याउने सुरु गर्यो ।
 
एक साँझ कामबाट थाकेर घर आउँदा ढोकाको क्लिपमा एउटा कागज झुण्डिरहेको थियो । अपार्टमेन्टको मेनेजमेन्टले सूचना दिनका लागि राखेको त्यो क्लिपमा अघिपछि पनि कागज झुण्डिरहेकै हुन्थे । कविराजले सामान्य ठान्दै हातमा त्यो कागज लिएर भित्र पस्यो ।
 
उ सोफामा पल्टिएर पत्र पढ्न थाल्यो । लेखिएको थियो–‘कवि, तिमीसँग मेरो स्तर, उमेर, पढाई केही म्याच भएन । कहाँ म नर्स, कहाँ तिमी बंगालीको कामदार ? स्तर पनि मिलेन । साथीहरुका अघिल्तिर लोग्ने भनेर परिचय गराउन पनि मलाई अप्ठेरो भयो । खान लगाउन, मनोरञ्जन गर्न नजान्ने, मस्ती गर्न नसिकेको तिमीसँग मेरो जीवन खल्लो हुनेभयो । त्यसैले मैले मेरो जीवन आफ्नै हिसाबले जिउनका लागि स्तर मिल्ने साथी रोजेँ । मलाई सम्झेर दुःखी हुनुपर्दैन । तिमी र म दुबै स्वतन्त्र छौँ । मलाई भुलेर पनि नखोज्नु । उही सुमी ।’
 
पत्र पढीसक्दा कविराजलाई भाउन्न भयो । सुमीलाई फोन गर्न फोन हातमा लियो । अघिनै टेक्स्ट मेसेज आइसकेको रहेछ–‘ढोकामा पत्र झुण्डाएको छु । त्यो पढ्नु । अबदेखि यो फोन नम्बरले सदाको लागि काम गर्नेछैन । म र सुब्रत सदाका लागि यो स्टेट छाडेर टाढाटाढा जाँदैछौँ ।’
 
कविराजको दिमागमा एउटा प्रश्न घुमिरह्यो–‘खान लगाउन नजान्ने म कि सुमी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया