मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कोरोना भाइरसले लिखुरे बनाइदिएको अमेरिकी पासपोर्ट

कोरोना भाइरसले लिखुरे बनाइदिएको अमेरिकी पासपोर्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरसले संसारका सबै ठूला शक्तिहरुलाई पनि निकै कमजोर साबित गरिदिएको छ। विश्वभर मानिसहरुको आवात-जावतलाई झण्डै प्रतिबन्धकोस्तरमा सीमित बनाइदिएको छ, कोरोना भाइरस अर्थात कोभिड-१९ ले।
 
कुनै देशको पासपोर्ट बाहकले अन्य देशहरु जान चाहेका बेला सम्बन्धित देशले प्रवेश बिन्दुमा पाउने आवागमनको सुविधाका आधारमा त्यस देशको पासपोर्टको महत्व झल्कने गर्दछ। जति धेरै देशमा बिना भिसा जान वा प्रवेश नाकामै पुगेपछि भिसा प्राप्त हुने सुविधा (अन-अराइभल भिसा) प्राप्त हुन्छ, त्यति नै धेरै सम्वन्धित देशको पासपोर्टलाई शक्तिशाली मानिने चलन छ। हालसालै मात्र (जुलाई २०२०) हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक र सामरिकरुपले सबभन्दा शक्तिशाली मुलुक अमेरिकाको पासपोर्ट सातौं शक्तिशाली रहेको देखिन्छ। अमेरिकी पासपोर्टधारीहरुले १८५ मलुकमा भिसा नलिएर वा अन अराइभल भिसा सुविधाका आधारमा जान पाउने अवस्था छ भने त्यस्तो सुविधा पाउने देशहरुमा पहिलोमा जापान (१९१) , दोश्रोमा सिंगापुर (१९०) र तेश्रोमा दक्षिण कोरिया र जर्मनी (१८९) रहेका छन्। पहिलो तीन वटै मुलुकहरु एशियाली मुलुक हुन्। तसर्थ, देशको आर्थिकस्तर र जनताको खर्च गर्न सक्ने सामर्थ्य नै त्यस देशका पासपोर्ट बाहकहरुलाई अरु देशको अध्यागमन (इमिग्रेसन) अधिकारीहरुले गर्ने व्यवहार निर्धारण हुने गर्दछ भन्ने थाहा हुन्छ।
 
प्राय सबैजसो यूरोपियन देशहरुका नागरिकहरुले खुल्ला किसिमको भ्रमण सुविधाको उपभोग गरिरहेका छन् भने अधिकांश अफ्रिकन र एशियन मुलुकका नागरिकहरुले त्यस्तो सुविधा प्राप्त गर्न सकिरहेका हुँदैनन्।
 
तर अहिले अवस्था फरक छ। समय बदलियो। जतिसुकै शक्तिशाली देशको पासपोर्ट बाहक नागरिक भएपनि अहिले पहिले जस्तो स्वच्छन्दता छैन-अरु देशमा प्रवेश गर्न। प्राय सबै देशहरुले अहिले यात्रा अनुमतिमा कडाई गरेकाछन् र जतिसुकै शक्तिशाली देशका भएपनि त्यस देशमा हाल कोरोना भाइरस संक्रमणको अवस्थाले सम्बन्धित देशका नागरिकलाई दिइने प्रवेशाज्ञा निर्भर गरेको छ।
 
अहिले संसारलाई नै ‘अदृष्य शत्रु’ भनिने कोरोना भाइरसले आक्रान्त पारेको छ। आज अगष्ट १, २०२० का दिनसम्म आइपुग्दा कोरोना भाइरसले संसारभर झण्डै १ करोड ८० लाख मानिस संक्रमित भैसकेका छन् भने करीब सात लाख मानिसले ज्यान गुमाइसकेका छन्। धन र सामरिक शक्ति दुबैमा एक नम्वरमा रहेको अमेरिका कोरोना भाइरस संक्रमित देशको सूचिमा पनि एक नम्वर मै छ र ४७ लाख बढी मानिस संक्रमित भैसकेका छन्। हालसम्म १ लाख ५१ हजार भन्दा बढी अमेरिकनहरु कोरोना भाइरस संक्रमित भएर मरेका छन् भने २३ लाख बढीले भाइरसलाई जितेर संक्रमण मुक्त हुन सकेका छन्।
 
गर्मीयाम र क्रिष्टमस-नयाॅवर्ष अमेरिकीहरुको मात्र होइन संसार भरकै मानिसहरुले धेरै भ्रमण गर्ने समय हो। गएको बर्ष करीब आठ करोड ३० लाख अमेरिकीहरुले देश बाहिर भ्रमण गरेका रहेछन् भने यो संख्या २०१८ मा करीब नौ करोड ३० लाख जति थियो। अमेरिकीहरु सबभन्दा धेरै जाने मेक्सिको र क्यानडा हो। देश बाहिर जाने अमेरिकीहरु मध्ये आधा भन्दा धेरै त मेक्सिको र क्यानडा मात्र जान्छन्। बर्षेनी तीन करोड भन्दा धेरै अमेरिकीहरु मेक्सिको र करिब डेढ करोडले क्यानडाको भ्रमण गर्छन्, जहाँ जानका लागि उनीहरुलाई भिसा लिइरहनु पर्दैन।
 
तर अहिले परिस्थिति बदलिएको छ। बर्षेनी झण्डै १३५ अर्ब डलर त देश बाहिर भ्रमण गरेर सकाउने अमेरिकीहरुको भ्रमण खर्च यो बर्ष निकै कम हुने निश्चित छ। उनीहरुको भ्रमणको दायरा तालिका खुम्चिएको छ। केही सीमित देशहरु बाहेक अधिकांशले अमेरिकीहरुलाई प्रवेश निषेध जस्तै गरेका छन्। युरोपले यात्रा अनुमति खुल्ला गरेको १४ देशहरुको सूचिमा अमेरिका छैन। अमेरिकी पर्यटकहरुलाई स-सम्मान स्वागत गर्न लालयित देशहरु सबभन्दा बढी कोरोना भाइरस संक्रमित भएको देशका नागरिकलाई स्वागत गर्न डराएका छन् र यात्रा अनुमतिमा रोक लगाएका छन्।
 
यतिखेर इतिहास मै अमेरिकी पासपोर्ट बाहकहरुको यात्रा क्षमता अस्थायी रुप मै भएपनि सबभन्दा कमजोर भएको छ। ताजा विवरण अनुसार यतिबेला डोमिकन रिपब्लिक, मेक्सिको, सर्विया, ट्यूनिसिया, टर्की र माल्दिभ्स सहितका ६ वटा मात्र यस्ता देश हुन् जहाँ जान अमेरिकीहरुका लागि कुनै विशेष कडाइ गरिएको छैन। यस बाहेक बेलायत, क्रोयसिया, इक्वेडर, युक्रेन, इजिप्ट, क्याम्वोडिया, रुवाण्डा, तान्जानिया लगायतका देश र सामुद्रिक टापुहरु भएका क्यारिवियन मुलुकहरुले भने केही कडाइका साथ अमेरिकीहरुलाई प्रवेश दिइरहेका छन्। बहमास, बेलिज, जमैका, सेन्ट लुसिया जस्ता तटीय स्थानहरुमा कोरोना भाइरस नभएको प्रमाण सहित अमेरिकीहरुलाई यात्रा अनुमति दिइन थालिएको छ।
 
तसर्थ अहिले अनौपचारिक कुराकानीका सन्दर्भमा मान्छेहरु भन्न थालेका छन्- अमेरिका भन्दा कोरोना शक्तिशाली। साँच्चै हो पनि, कोरोनाले थिलथिलो पारेको अमेरिकी अर्थतन्त्रको आउने बर्षहरु कसरी अघि बढ्ने हो अहिले भनि हाल्न गाह्रो छ। विश्वभर आफ्नो आर्थिक र सामरिक शक्तिका कारण दबदबा कायम राखेको अमेरिकी साख आउने दिनमा कसरी अघि बढ्छ अनुमान गर्न सकिने अवस्था छैन। र, अमेरिकी पासपोर्ट भएपछि जतापनि जान सकिन्छ भन्ने अवस्था अहिलेका लागि चाहिं छैन। शक्तिशाली अमेरिकी पासपोर्टलाई कोरोना भाइरसले ‘लिखुरे’ बनाइदिएको छ। संसार कै नियम हो, बलियाहरु स्थापित हुने र लिखुरेहरु हेपिने। परिस्थितिले लिखुरे बनाएको अमेरिकी पासपोर्ट कहिले पहिले जस्तै बलियो हुने हो भन्ने कुरा अब कोरोना संक्रमणको अवस्थामा निर्भर हुने पक्का छ।