मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अब एक हजारको नोटमा चितवन निकुञ्जका राम–लक्ष्मणको तस्बिर

अब एक हजारको नोटमा चितवन निकुञ्जका राम–लक्ष्मणको तस्बिर


काठमाडौँ । नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । 
 
नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् । 
 
यस अघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो । आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्द्रमा पालैपालो रोमियो र ध्रुवेले प्रजनन् गराउँदै आएका छन् । 
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार विसं २०६५ कात्तिक २१ गते यो जुम्ल्याहा जोडी जन्मिएको हो । हात्तीको जुम्ल्याहा दुर्लभ हुने गर्दछ । रुपाखेतीले भनृ, “मैले थाइल्याण्डमा जुम्ल्याहा जन्मिएको तर बचाउन नसकिएको सुनेको थिएँ, अरु ठाउँमा सुनेको छैन ।” उनको भनाइमा जुम्ल्याहा जन्मिएर बाँचेको सम्भवतः यो पहिलो र एकमात्र हो । 
 
हाल राम सौराहाको हात्तीसार र लक्ष्मण कसराको हात्तीसारमा रहेका छन् । उनीहरुलाई तीन वर्ष छ महिना पुगेपछि विनोद चौधरी नाम गरेका दुई जना कर्मचारीले तालिम दिएका हुन । तालिमपछि निकुञ्ज सुरक्षामा यी दाजुभाइ जुटिरहेका छन् । राम दाजु हुन् भने लक्ष्मण भाइ हुन् । १२ वर्ष हुन लाग्दा यी दाजुभाइको फोटो नेपाली एक हजार रुपैयाँको नोटमा छापिएको छ । 
 
अहिले छापिए पनि झण्डै सात वर्षअघि उनीहरुको फोटो खिचिएको हो । त्यतिबेला करिब पाँच वर्षको उमेरका राम–लक्ष्मणको फोटो अहिलेको नेपाली नोटमा आएको बताइएको छ । यी दुवै भाले हात्ती हुन । हात्तीको भालेलाई गज र पोथीलाई कली भनिन्छ ।