जेनेभा । कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको संख्या एक करोड २९ लाख नाघेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार विश्वभर एक करोड २९ लाख २५ हजार ३३१ जना सङ्क्रमित भएका छन् ।
यस्तै, विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आइतबार रातिसम्म ५ लाख ६९ हजार ९७ पुगेको छ ।
त्यसैगरी सबैभन्दा धेरै अमेरिकामा ३३ लाख ८० हजार ४२९, दोस्रो धेरै ब्राजिलमा १८ लाख ४२ हजार १२७ र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कुल आठ लाख ७१ हजार ४९९ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी रुसमा सात लाख २७ हजार १६२, पेरुमा तीन लाख २२ हजार ७१०, चिलीमा तीन लाख १२ हजार २९, स्पेनमा ३ लाख ९८८, मेक्सिकोमा दुई लाख ९५ हजार २६८, बेलायतमा दुई लाख ८९ हजार ६०३, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार १८४ जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ ।
यसैबीच, भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घन्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ५१५ पुगेको अधिकारीहरुले जनाएका छन् ।
कोरानाभाइरसबाट प्रभावित हुँदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् । स्थानीय समयअनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ । सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४.६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् ।
भियतनाममा कोरोनाभाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ । एएनआई
प्रतिक्रिया