मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन २७ हजारमा कोरोना पुष्टि, संक्रमितको संख्या आठ लाख ४४ हजार पुग्यो

भारतमा एकैदिन २७ हजारमा कोरोना पुष्टि, संक्रमितको संख्या आठ लाख ४४ हजार पुग्यो


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख ४४ हजार ७७७ पुगेको छ । शनिबार रातिसम्म संक्रमितको संख्या आठ लाख ४४ हजार ७७७ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
 
तीमध्ये २७ हजार ७६१ जना पछिल्लो २४ घन्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित  भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै उच्च हो ।  
 
पछिल्लो २४ घन्टामा भारतभर कोरोना भाइरसका कारण ५२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 
 
देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८९ हजार ६५६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ३२ हजार ५३२ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार ५८९ जनाको मृत्यु भएको छ । भारतका प्रदेशअनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । 
 
महाराष्ट्रमा मात्रै दुई लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुदाँ दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा एक लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख नौ हजार १४० जना सङ्क्रमित भएका छन् ।
 
विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित रहेका छन् । 
 
यसैबीच, भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले जनाएको छ । मृत्युदर २.७२ प्रतिशतमा झरेको बताइएको छ । 
 
देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । 
 
निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाबमा ६९.२६ प्रतिशत, बिहारमा ७०.४० प्रतिशत, गुजरातमा ७०.७२ प्रतिशत, मध्य प्रदेशमा ७४.८५ प्रतिशत, हरियाणामा ७४.९१ प्रतिशत, त्रिपुरामा ७५.३४ प्रतिशत, राजस्थानमा ७५.६५ प्रतिशत, दिल्लीमा ७६.८१ प्रतिशत, चण्डीगढमा ७७.०६ प्रतिशत, छत्तीसगढमा ७८.९९ प्रतिशत, उत्तराखण्डमा ८०.८५ प्रतिशत, लद्दाखमा ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेशमा ७४.२१ प्रतिशत रहेको छ । 
 
त्यस्तै, सङ्क्रमितको मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, सिक्किम, त्रिपुरा, दादरालगायत रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणा रहेका छन् ।
 
भारतभर एक हजार २१८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३०१ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा विगत २४ घन्टामा दुई लाख ८३ हजार ६५९ शङ्कास्पद नमेनाको परीक्षण भएको र अहिलेसम्म एक करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । एएनआई