मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुलुकभर २९ विपद्जन्य घटना : १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन

मुलुकभर २९ विपद्जन्य घटना : १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन


काठमाडौँ । पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा बिहीबार राति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परेर २२ जना घाइते भएका छन् ।
 
कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङ्कोटमा बिहान पहिरोमा परेर चार जनाको मृत्यु भएको तथा नौ जना घाइते भएका छन् । पहिरो झरेर घर पुरिँदा जन्मदिन मनाउन आएका व्यक्ति परेको जनाइएको छ । 
 
यस्तै, कास्कीको छोरेपाटनमा पहिरोमा परी तीन जना घाइते भएका छन् । कास्कीकै हेम्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पैतेडाँडामा एक घर पहिरोमा पुरिँदा एक व्यक्ति बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 
 
लमजुङ्को बेँसीशहर नगरपालिका–७ स्थित एक घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा पहिरो आएर दुई घर पुरिंँदा १० जना सम्पर्कविहीन भएको र अन्य दुई घरमा क्षति पुगेको जनाइएको छ ।
 
धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अबरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ । 
 
यसैबीच, सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बिहीबार खरेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ । 
 
आज कोशी, नारायणी नदीको बहाव उल्ल्ेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ । कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ । 
 
त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ । पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्दो रहेको तर आज खतराको तहभन्दा तल नै रहनेछ । प्रदेश नं १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरुमा आकस्मिक रुपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ । 
 
अन्य प्रदेश तथा पहाडी क्षेत्र र सम्भावित जोखिम क्षेत्रका समुदायलाई सावधानी अपनाउन र सुरक्षित रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ । रासस