मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

ट्राभल एजेन्सीले मनोमानी भाडा लिएपछि कूटनीतिकबाहेक सबै उडानमाथि रोक

ट्राभल एजेन्सीले मनोमानी भाडा लिएपछि कूटनीतिकबाहेक सबै उडानमाथि रोक


काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु¥याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा  दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।
 
विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनोमानी भाडा असुल्न थालेपछि प्राधिकरणले आजैदेखि चार्टर्ड उडानमा रोक लगाएको हो । 
 
प्राधिकरणले शनिबार राति जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको  छ । नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने सूचनामा भनिएको छ ।
 
निगमको पूर्वनिर्धारित चार्टर्ड उडानमा भने असर नपर्ने निगमले उल्लेख गरेको छ । निगमको यात्रु चार्टर्ड गरिएको वाइडबडी जहाज आज बेलुका ९ बजे जापानको नारिता र सोमबार अष्ट्रेलियाको क्यानबेरामा चार्टर्ड उडान गर्ने तालिका रहेको छ । 
 
बन्दाबन्दीमा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीमध्ये निगमले सर्वाधिक चार्टर्ड उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
 
बन्दाबन्दीको समयमा चार्टर्ड उडानले पछिल्लो समय वित्तीय सङ्कट बेहोरिरहेको नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा पनि केही राहत मिलेको थियो । विपद्को उडान सारथि बनिरहेको नेपाल एयरलाइन्सले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडान गर्दै आएको थियो ।
 
प्राधिकरणको निर्णयले अब कार्गो उडान मात्र गर्न पाउनेछ । व्यावसायिक चार्टर्ड उडान गर्न पाइँदैन । नेपाल एयरलाइन्सपछि कतार एयरले सबैभन्दा धेरै चार्टर्ड उडान गरेको थियो ।
 
निगमका एक उच्च अधिकारीका अनुसार प्राधिकरणको निर्णयले निगमलाई सबैभन्दा मार पुगेको बताए । उनले “बन्दाबन्दीको अवधिमा चार्टर्ड उडानको अभिभारा बोकेको निगमलाई पछिल्लो प्राधिकरणको निर्णयले सबैभन्दा बढी असर गरेको छ, किनकि पछिल्लो समय उल्लेख्य सङ्ख्यामा हँुदै आएका चार्टर्ड उडान अब गर्न नपाइने भएको छ ।” 
 
निगमले बन्दाबन्दीको अवधिमा नौ कार्गोसहित २३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान तथा आन्तरिकतर्फ ११ चार्टर्ड उडान गरेको जनाएको छ । निगमले अन्य मुलुकमा पनि चार्टर्ड उडानका लागि पहल गरिरहेको थियो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले व्यावसायिक प्रकृतिका चार्टर्ड उडान प्रतिबन्ध गरिएको तर कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडान भने यथावत रहने जानकारी दिए । 
 
सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो । त्यस्तै चैत ११ देखि आन्तरिक उडान पनि स्थगन गरिएको थियो । 
 
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ । पछिल्लोपटक जेठ समान्तसम्म बन्दाबन्दीलाई निरन्तरता दिइएको छ । आगामी असार १६ सम्म हवाई उडान स्थगन गरिएको छ ।
 
सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर्ड हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर्ड उडानमा कडाइ गर्न निर्देशन दिएको थियो । चैत १० देखि जेठ २४ सम्म ११० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । रासस