मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ट्रम्पले सेना र समाजबीच झुठो द्वन्द्व सिर्जना गरे : पूर्व रक्षामन्त्री म्याटिस

ट्रम्पले सेना र समाजबीच झुठो द्वन्द्व सिर्जना गरे : पूर्व रक्षामन्त्री म्याटिस


वासिङ्टन । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच झुठो द्वन्द्व सिर्जना गरेको बताएका छन् । 
 
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गरेका म्याटिसले भने, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”
 
राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन् । तर, प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोयडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । 
 
म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्त्व दिइएको प्रतिक्रिया दिए । उनले मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन भनेका छन् । 
 
म्याटिसले अगाडि भनेका छन्, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उनी हामीलाई विभाजन गर्न चाहन्छन् । हामीले तीन वर्षदेखि यही शैली पाएका छौँ । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौँ ।” 
 
म्याटिसले ट्रम्पबाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् । एपी