मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो


काठमाडौँ । नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएका परीक्षणमा २०१ जनामा संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ । 
 
मन्त्रालयका प्रवक्ता डा विकास कोइरालाले दिएको जानकारीअनुसार थपिएका संक्रमितहरुमा २२ महिला र १७९ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । 
 
मन्त्रालयका अनुसार दोलखाका ७६ वर्षीय पुरुषको काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १३ गते उपचारका लागि भर्ना भएका ती पुरुषमा  ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि शल्यक्रिया गरिएको थियो ।
 
जेठ १५ गते स्वाब परीक्षण गरिएपछि कोरोना संक्रमण देखिएपछि थप उपचारका त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ । 
 
मन्त्रालयका अनुसार बुधबकार थप १२ जना व्यक्ति कोरोनालाई पराजित गरी घर फर्किएका छन् । यससँगै हालसम्म निको भई घर फर्किनेको संख्या २७८ पुगेको छ । 
 
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै परीक्षण पनि तीव्र पारिएको मन्त्रालयले जनाएको छ । गत चौबिसघन्टामा देशभर पिसिआरबाट ४ हजार ९२४ र आरडिटीबाट ४ हजार ३४ जनाको परीक्षण गरिएकामा २०१ जनाको नतिजा पोजेटिभ आएको हो । 
 
नेपालमा बुधबारसम्म कोरोनाको प्रकोप ६४ जिल्लामा फैलिएको छ । देशभर कुल एक लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार १३ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।