मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

उत्तर कोरिया ‘कोरोना फ्रि’ रहेको स्वास्थ्य अधिकारीको दाबी

उत्तर कोरिया ‘कोरोना फ्रि’ रहेको स्वास्थ्य अधिकारीको दाबी


सियोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई  ‘कोरोना फ्रि’ घोषणा गरेको छ ।
 
विश्वमा झण्डै एक मिलियन (१० लाख) मानिसमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको दाबी गरेको हो ।
 
उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन् ।
 
तर, पनि उत्तर कोरियाले आफ्नो देशमा यसका बिरामीहरु भेटिए पनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ । तर, उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ । 
 
उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए । 
 
उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिएका छन् । 
 
तर, दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक बिरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाइ थियो ।
 
दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् । 
 
उनले उत्तर कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन एक पत्र पठाएका थिए । तर, त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् । एएफपी