मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राहतको घोषणा

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राहतको घोषणा


नयाँ दिल्ली । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका बिरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पीडित परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने भएको छ ।
 
मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहतस्वरुप एक करोड रुपैयाँ दिने घोषणा बुधबार गरेका हुन् । 
 
“यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ,” उनले भने । 
 
कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मानस्वरुप सो रकम दिइने उनले बताए । 
 
मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारेका छन् । 
 
“मलाई थाहा छ तपाईंहरूको सेवा अमूल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मानस्वरुप यो रकम उपलब्ध गराइने भएको हो,” उनले भने । 
आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिएका सबैप्रति जति सम्मान व्यक्त गरे पनि कमी हुने उनको भनाइ छ । 
 
मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठकसमेत गरेका थिए । उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । 
स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पिपिई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए । 
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६३७ पुगेको छ । तीमध्ये एक हजार ४६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी, अन्य ४५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । एएनआई / तस्बिर : गेट्टीइमेज