मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कालोबजारी सिर्जना गरे ११४९ मा फोन गर्न अनुरोध

कालोबजारी सिर्जना गरे ११४९ मा फोन गर्न अनुरोध


काठमाडौँ । सरकारले कालोबजारी र कृत्रिम अभाव सृजना गरेको चाल पाए टोल फ्रि नम्बर ११४९ नम्बरमा फोन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । कोभिड–१९ फैलने सम्भावनालाई मध्यनगर गरी यही चैत ११ गतेदेखि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको अवस्थामा उपभोक्तामा सहज आपूर्तिको व्यवस्था गर्न सरकारले व्यवसायीलाई आग्रह गरेको छ । 
 
“कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुको अभाव पार्ने गरेको देखिएमा तत्कालै खबर गर्न अनुरोध छ”, गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । वर्तमान जटिल घडीमा कुनै समस्या परे त्यसको समाधानका लागि गृह मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोल फ्रि नम्बर ११४९ मा फोन गर्न आग्रह गरिएको छ । 
 
नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न छ बुँदे निर्णय गर्दै काठमाडौँ उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य बस्तु सबै विक्रेताले आआफ्ना डेलिभरी सवारीमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यसका लागि सवारी पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।  
 
पसल सञ्चालन, माग सङ्कलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्नेछ । माग सङ्कलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न सबै विक्रेताले आआफ्नो नम्बर उपलब्ध गराइ प्रचारप्रसार गर्नसमेत भनिएको छ । फोन, अनलाईन र अफलाइनमार्फत माग सङ्कलन गरी आवश्यक दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न व्यवसायिलाई अनुरोध गरिएको छ । 
 
दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनसबै वडा कार्यालयबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिकाले मिलाउने जनाइएको छ । 
 
उपत्यका बाहिर रहेका अत्यावश्यक बस्तुका हकमा बिक्रेताले आवश्यक व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले सहयोग गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।