मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउन सुरु

काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउन सुरु


काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । 
 
पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरु भएको बताए । 
 
उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आमजनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे । 
 
प्रधानमन्त्रीले भने, “यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब सहर कुरुप हुँदैन, चिटिक्कको सहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।” विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट सुरु भए पनि यसलाई देशका प्रमुख सहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो । 
 
सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने पीर परेको बताए । “सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएकोमात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?” 
 
उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्नसमेत आग्रह गरे । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।