मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

शिक्षा, स्वास्थ्य र विकासमा उल्लेखनीय उपलब्धि : प्रदेश प्रमुख ‘प्यासी’

शिक्षा, स्वास्थ्य र विकासमा उल्लेखनीय उपलब्धि : प्रदेश प्रमुख ‘प्यासी’


विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । 
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रदेश नंं १ को सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त किताब विमोचन गर्दै उनले सरकारले मुख्यमन्त्री युवा उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पु¥याउनु सरकारको ठूलो उपलब्धि भएको बताए । 
 
प्रदेश प्रमुख अधिकारीले शान्ति सुरक्षा र शिक्षामा सूचना प्रणालीले सरकारको काममा पारदर्शिता बढेको चर्चा गर्दै लोकतन्त्रिक मूल्यमान्यातामा आधारित समाजवादोन्मुख सरकारको नीति तथा कार्यक्रमले प्रदेशका जनता सुखी एवं समुन्नत बन्ने विश्वास व्यक्त गरे । 
 
नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले जनताको आवश्यकता, समानता र समतामूलक समाज निर्माण गर्न प्रदेश सरकार अघि बढिरहेको आफूले पाएको बताए । 
 
मुख्यमन्त्री शेरधन राईले संरचनाविहीन अवस्थामा खडा भएको प्रदेश सरकारले विभिन्न चुनौती, अप्ठ्यारालाई पार गर्दै अवसरको रूपमा प्रयोग गरेको बताए । 
 
उनले सिंहदरबारमा केन्द्रित शासन स्थानीय तहमा पुगेको चर्चा गर्दै सरकार प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लगेको बताए । 
 
सरकार सुदूरभविष्यका लागि दीर्घकालीन योजना र कार्यक्रमका साथ अघि बढिरहेको बताउँदै ७३० दिनमा सरकारले ठूलो उपलब्धि हासिल गरेको धारणा राखे । 
 
जनताका असीमित चाहनालाई पूरा गर्न पर्याप्त समय भए पनि जनताका न्यूनतम आवश्यकता प्रदेश सरकारले सम्बोधन गरेको छ भन्दै मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारले ३९ वटा कानून बनाइसकेको जानकारी दिए ।
 
उनले प्रदेश राजधानी तोक्नु, स्वीस सरकारको रु एक अर्ब अनुदान सहयोग प्राप्त गर्नु, आयोजना बैंक स्थापना गरी २६ परियोजना समावेश हुनु सरकारको ठूलो उपलब्धि भएको बताए । 
 
मुख्यमन्त्री राईले सहमति र सहकार्यको अनुपम नमूना प्रदेश सरकारले देखाएको चर्चा गर्दै आगामी वैशाखमा लगानी सम्मेलन गर्नलाई सरकारले तयारी गरिरहेको जानकारी दिए ।
 
उनले सरकारले सन्तुलीत विकास नीतिलाई अपनाएको प्रसङ्ग उल्लेख गर्दै २७ किमी बाटो कालोपत्र भएको, १२९ किमी ग्राभेल बाटो बनेको र १० मोटरेबल पुल निर्माण हुनु खुशीको कुरा भएको बताए । 
 
जनता आवास कार्यक्रमअन्तर्गत १७१ घर निर्माण भएको र विकासमा २५ प्रतिशत खर्च हुनु सकारात्मक हो भन्दै मुख्यमन्त्री राईले विकास र सुशासनमा जनताको भरोसा बढाउने धारणा राखे । 
 
उनले स्वस्थ एवं वस्तुनिष्ठ आलोचनालाई प्रदेश सरकारले स्वागत गर्ने भन्दै विकास र समृद्धिको यात्रामा सबैले सहयोग गर्नुपर्ने अपिल गरे ।
 
मुख्यसचिव दिनेश भट्टराईले प्रदेश सरकारले दुई वर्षको अवधिमा रचनात्मक काम गरेको र यसबाट प्रदेश सरकारप्रति जनताको विश्वास बढेको बताए ।