मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘फोहोरी र असत्य समाचार पत्रकारिताका समस्या’ वरिष्ठ पत्रकार दाहाल

‘फोहोरी र असत्य समाचार पत्रकारिताका समस्या’ वरिष्ठ पत्रकार दाहाल


ड्यालस (टेक्सस) – चर्चित पत्रकार पुरुषोत्तम दाहालले पत्रकारितामा अराजकता बढिरहेको उल्लेख गर्दै त्यसबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्नेहरुलाई बल पुगिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । 
 
शनिबार ड्यालसमा नेपाल अमेरिका पत्रकार संघले आयोजना गरेको संक्षिप्त भेटघाट कार्यक्रममा दाहालले पत्रकारिता उत्ताउलोपन हुन नहुनेमा जोड दिए । अमेरिका भ्रमणमा रहेका दाहालले भने–‘पत्रकारले आत्म–अनुशासन पालना नगर्ने हो भने नियन्त्रण गर्ने शैलीलाई मात्र मद्धत पुग्छ । पत्रकारितालाई त्यसले कहिँ कतैबाट पनि मद्धत पुर्याउँदैन ।’
 
संबिधानले दिएको मौलिक हक प्रेस स्वतन्त्रताको दुरुपयोग गरेर अराजकता र स्वच्छन्दतालाई बढावा दिइयो भने त्यसले स्वतन्त्रतालाई बहिष्कार गर्ने र निषेध गर्नेलाई सहयोग पुग्ने हुँदा जिम्मेवार पत्रकारिता हुनुपर्नेमा पनि दाहालको जोड थियो ।
 
४२ वर्ष पत्रकारितामै व्यतीत गरिसकेको दाहालले आफुले चन्द्रलाल झा, होमनाथ दाहाल र किशोर नेपालसँग काम गर्दा पत्रकारितका आयामहरुका बारेमा धेरैनै जान्ने, सिक्ने अवसर मिलेको पनि चर्चा गरे । देशमा २०४६ को परिवर्तन पछि रेडियो नेपालको त्यतिखेरको लोकप्रिय समाचार र विचारमुलक कार्यक्रम ‘घटना र विचार’ का प्रमुख सञ्चालक रहेका दाहालले आफ्नै नेतृत्वमा पत्रिका सञ्चालनदेखि लिएर ब्रोडशीट दैनिकको सम्पादक, सरकारी सञ्चारमाध्यममा व्यबस्थापकीय जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
 
दाहालले पञ्चायतकालमा पनि शक्तिकेन्द्रले पावरलाई दुरुपयोग गरेर प्रेसलाई नियन्त्रण गर्ने गरेको र पछिल्ला समयमा पनि फेरि त्यस्तै संकेतहरु देखापरेकोले पत्रकारहरु स्वयम पनि जिम्मेवार हुनुपर्ने धारणा राखे । ‘तपाई जति फोहोरी कुरा, असत्य कुरा पत्रकारितामा लेख्नुहुन्छ त्यतिनै पत्रकारितालाई निषेध गर्ने बाटो खुल्छ । त्यसले पत्रकारितालाई कुनै कोणबाट पनि मद्धत पुग्दैन,’ उनले सुझाव दिँदै भने । 
 
अमेरिकामा रहेर समय निकालेर नेपाली पत्रकारिता गरिरहेकाहरुलाई पनि दाहालले सुझाव दिए । ‘यहाँ अनलाईन चलाउँदा कन्टेन्ट मात्र दिएर दिगो रुपमा चल्न सकिन्छ कि सकिदैन ? नियमितता दिन कठिनाई रहेको मैले देखेँ,’ उनले भने । 
 
दाहालले जुनसुकै सत्ता आएपनि उसले मिडियाबाट सुझाव, आलोचनाभन्दा सपोर्टको अपेक्षा गर्दै आएको तथ्यलाई समेत दाहालले औँल्याए । ‘सत्तालाई मिडियाबाट एकसय प्रतिशत सपोर्ट होइन, उसले दुइसय प्रतिशत सपोर्ट चाहन्छ । जुनसुकै सत्ताले पनि त्यही चाहने रहेछ । हाम्रो धारणा भनेको त सबैको कुरा आउनुपर्यो नि । एकसय प्रतिशत सरकारलाई सपोर्ट गरेपछि बाँकी के गर्ने ?’ उनले प्रश्न गरे । 
 
तत्कालिन समयमा घटना र विचार कार्यक्रम सञ्चालन गर्दा सरकारले विपक्षी दललाई धेरै स्थान दियो भनेर वयानका लागि बोलाउने गरेको र पिपक्षी दलले भने सरकारको गुणगान ज्यादा गायो भनेर नयाँसडकमा आफ्नो पुत्ला समेत जलाएको प्रसंग दाहालले उल्लेख गरे । सरकारको समर्थन ज्यादा नगरेर तथष्ट हुन प्रयास गरेकै कारण २०५१ मा दाहाल सहितको टीमलाई तत्कालिन सरकारले घटना र विचारबाटै हटाएको थियो । दाहालको टीमलाई हटाएर देवप्रकाश त्रिपाठीलाई प्रमुख सञ्चालकको जिम्मेवारी दिएको थियो । 
 
दाहालले नेपाली पत्रकारिता, राजनीति, सामाजीक सञ्जालले ल्याएका चुनौति लगायतका विषयमा एक घण्टासम्म आफ्ना धारणा र अनुभव सुनाएका थिए । 
कार्यक्रममा नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य सञ्जय घिमिरे, तारा रावल, सुरेशचन्द्र पोखरेल, प्रभात दीक्षित, विमल बराल, शिव शर्मा, बाबुराम दाहाल लगायतले दाहालसँग जिज्ञासा राखेका थिए । 
 
दाहालले विकसित देशमा भित्रिएका नयाँ प्रविधि, पत्रकारिताको नयाँ ट्रेण्डका बारेमा नेपाली पाठकहरुलाई जानकारी गराएर सहयोग गर्न समेत अमेरिकाका पत्रकारसँग आग्रह गरेका थिए ।