मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रदेशको नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल

प्रदेशको नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल


बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने जानकारी दिएका छन् । प्रेस सङ्गठन नेपाल, प्रदेश नं ५ को प्रथम भेलालाई बुटवलमा सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानीका विषयमा मुख्यमन्त्रीको निजी विचार छैन भने ।

राजधानीका लागि साझा मनोविज्ञानको निर्माण आवश्यक भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञानलाई परिवर्तन गर्न जरुरी भएको औँल्याए ।

उनले प्रदेशका जनताको राय र प्रदेशसभाका सदस्यको कार्यदेश आधारमा प्रदेशसभाको नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय हुने जानकारी दिँदै त्यस्तो हुन नसके प्रक्रियामा गई सहमतिकै आधारमा टुङ्गो लाग्ने बताए ।

मुख्यमन्त्री पोखरेलले भने, “अब विद्रोहको मानसिकतालाई परिवर्तन गरेर अघि बढ्न जरुरी छ ।” सो अवसरमा पार्टीका इञ्चार्ज राजेन्द्र गौतम, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, सङ्गठनका नेता राजेन्द्र अर्याल, मनोज घर्तीमगर, मौसम रोका, अमृत गिरी लगायतले सङ्गठनको काँधमा अवसर र चुनौती भएको बताएका थिए ।

भेलाले बुटवल घोषणपत्र जारी गर्दै पत्रकारकारको क्षमता अभिवृद्धि र यसको अध्ययन अनुसन्धानका लागि प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठनको माग गरेको छ ।

सङ्गठनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेबमोजिम तोकिएको पारिश्रमिक पत्रकारले नपाएको गुनासो भएकाले कार्यान्वयन गर्नसमेत माग गरेको छ ।

प्रदेशस्तरीय मिडिया विकास कोष स्थापनाका लागि माग गर्दै घोषणापत्रमा समाचार लेखेकै विषयलाई लिएर रुपन्देहीका प्रहरी उपरीक्षक हेम थापाले भैरहवामा कार्यरत पत्रकार माधव न्यौपानेलाई मानसिक यातना दिने काम गरेकोप्रति खेद व्यक्त गर्नुका साथै पेशागत सुरक्षाको प्रत्याभूति गर्न माग गरेकोसमेत उल्लेख छ ।

भेलाले प्रदेशभरका १२ जिल्लाको प्रेस सङ्गठनको जिल्ला नेतृत्वलाई अनुमोदनसमेत गरेको छ ।