मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’


काठमाडौँ । यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । 
 
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त बनाउन योगदान पु¥याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उनलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ । 
 
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरे । 
 
नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नास्टले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो । 
 
नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो । 
 
कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे । 
 
विसं २०७३ भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको विद्युत्भार कटौती अन्त्य गरेका थिए । 
 
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणको वित्तीय र प्रशासनिक सुधार तथा पुनःसंरचनामार्फत त्यसपछिका आवहरु २०७३÷७४ मा रु एक अर्ब ५० करोड, २०७४/७५ मा दुई अर्ब ९० करोड र २०७५/७६ मा रु सात अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । 
 
विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । आव २०७२/७३ मा विद्युत् प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई १०.४६ प्रतिशत बिन्दुले घटाएर आव २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको हो । 
 
प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महसुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको स्तरोन्नति तथा सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइरहेको छ ।