मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा यो हो बडादशैंको अन्तरनिहित कुरो

अमेरिकामा यो हो बडादशैंको अन्तरनिहित कुरो


सन् २०१९ अप्रिल १९ तारिक अर्थात ठीक साढे ६ महिना अघि ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एउटा कार्यक्रम थियो । सो कार्यक्रम थियो–नेपाली बिक्रम सम्वत् २०७६ को क्यालेण्डरको विमोचन । अमेरिका रहेका नेपाली समुदायलाई सजिलो हुनेगरि, नेपाली पर्वहरुलाई समेत समावेश गरेर भित्तेपात्रोको विमोचन अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले गर्नुभएको थियो ।
 
विमोचन समारोहमा डयालसको नेपाली समुदायका थुप्रै गण्यमान्य, प्रतिष्ठितहरुको बाक्लो उपस्थिति थियो । नवस्थापित पृथ्बीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको मञ्चमा कुम जोडेर डा. भट्टराई, ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरका मुल पूजारी डा. शेखर पण्डित, मन्दिरका अर्का पूजारी मेघराज निरौला र डा. भट्टराईकी धर्मपत्नी तथा पूर्बमन्त्री कान्ता भट्टराई बस्नुभएको थियो ।
 
भरखरै बैशाख लागेकोले धेरैले क्यालेण्डरलाई तीन पाना पल्टाएर असोजसम्म पुगेनन् । पुग्नेले पनि दशैंको ख्याल गरेनन् । जसजसले दशैँलाई ख्याल गरे, उनीहरुले मनमनै गुने–‘अक्टोबर ७ तारिक सोमबार टीकाको दिन परेछ ।’ क्यालेण्डर हातमा पर्नेहरुले नेपालमा चाँही टीकाको दिन कहिले पर्छ भन्ने बारेमा ख्यालै गरेनन् ।
 
विमोचन कार्यक्रममा मन्दिरका मुल पूजारी डा. पण्डितले भन्नुभएको थियो–‘ग्रहहरु पश्चिमबाट पूर्बतिर जाने भएकोले पहिले त्यसैको आधारमा अमेरिका लगायत पश्चिमी देशहरुले तिथि पाउने रहेछन् । समय चाँही नेपाल लगायत पूर्बी देशहरुले पहिले पाउने रहेछन् ।’ डा. पण्डितको यो भनाईलाई त्यहाँ उपस्थित धेरैले ख्याल गरेनन् । किनकी सबैजना हातमा परेको क्यालेण्डरका पाना पल्टाउँदै तिथि र मिति हेर्दैमा व्यस्त थिए ।
 
उहाँकै भनाईलाई थप बल पुर्याउँदै प्रमुख अतिथि रहनुभएका डा. भट्टराईले अन्तिम वक्ताका रुपमा भन्नुभयो–‘पञ्चाङ्गमा सुधार गरेर लैजानुपर्ने धेरै कुराहरु रहेका छन् । पहिले विदेशमा नेपालीहरु धेरै थिएनन्, त्यसोहुँदा नेपालकै क्यालेण्डर, पञ्चाङ्गलाई हुबहु लागु गर्ने चलन थियो । गणना गर्दा अब त्यसरी सही तिथिमा कार्यहरु नहुने गरेको पाइयो ।’
 
 
क्यालेण्डर विमोचन पछि उहाँहरुको भनाईलाई गम्दै मैले मोबाइल एप्स हाम्रो पात्रो खोलेँ । नेपालमा भन्दा अघिल्लै दिन दशैंको टीका देखियो अमेरिकामा । तीजको ब्रत पनि त्यस्तै एक दिन अघि पाइयो ।
 
कार्यक्रमपछि मैले उहाँहरुसँग जिज्ञासा राखेँ । डा. भट्टराई, डा. पण्डित र निरौला तीनैजनाले एकस्वरले यो भन्नुभयो कि–‘अरु पर्वहरु भन्दा दशैको टीका र तीज यसपटक तिथिका कारणले अमेरिकामा पहिले हुने देखियो । यो गणना गरेरै गरिएको हो ।’
 
हिमालयखबरमा मैलेनै समाचार लेखेँ यो विषयमा । ‘अमेरिकामा हिन्दु चाडपर्वका विवाद समाधान’ मुल शिर्षक र ‘केही पर्व नेपालमा भन्दा पनि पहिले मनाउनुपर्ने’ उपशिर्षकमा बैशाख ३ गते मंगलबार दिउँसो ३ बजेर ११ मिनेटमा यो समाचार हिमालय खबरमा प्रकाशित भयो ।
 
क्यालेण्डर र समाचारले अमेरिकाका नेपाली समुदायमा केही तरंग स्वभाविक रुपमा पैदा गर्यो । तरंग यसअर्थमा कि पहिलेपहिले नेपालमा भन्दा १० देखि १४ घण्टा पछि सोही चाड मनाउँदै आएको नेपालमा भन्दा १०/१२ घण्टा पहिलेनै कसरी मनाउने ? ड्यालसको नेपाली मन्दिरसँग आवद्द, ज्योतिषशास्त्रमा चासो राख्नेले निकै चासो राखेको अनुभूति हुन्थ्यो । केहीले भन्थे–यसपटक जे जसो भएपनि नेपालमा मनाएपछि मात्र मनाउने हो । अर्को पटक मन्दिरको आधिकारिक क्यालेण्डर आएपछि सोही अनुसार चलौँला ।’
 
केहीले भन्थे–‘तिथि अनुसार मनाउनुपर्ने पर्वहरु त सोही समयमै मनाउनुपर्यो नि । मनाएको समयमा हुनुपर्ने तिथिनै छैन भने जहिले मनाएपनि त भैगयो नि ।’
 
ड्यालसको मन्दिर समिति यो विषयमा मौननै बस्यो लामो समयसम्म । मन्दिरका मुल पूजारी डा. पण्डित पहिलो धारणा लिएर बस्नुभएको थियो भने अर्का पूजारी निरौला दोस्रो तर्कबाड डेग चल्नुभएको थिएन । उहाँहरुबाट सामाजीक सञ्जालमा लेखिने धारणा, व्यक्त कुण्ठा, आक्रोशले ड्यालसको नेपाली समुदायमात्र नभएर ड्यालसलाई पछ्याउने अमेरिका भरिका नेपाली समुदायनै द्विविधामा पुगे । मन्दिरका दुई गुरुहरुको सामाजीक सञ्जाल जुधाईले उहाँहरु बीच व्यक्तिगत इगो, कुण्ठा, आवेग, वैमनस्यता छ कि भनेर धेरैले शंका, चर्चा परिचर्चा पनि नगरेका होइनन् ।
 
दशैं जस्तो पर्व आउनै लागेको र अमेरिकामा कुन दिन टीका लगाउने हो भन्ने विषयमा कहिँ कतैबाट ठोस पहल भएन । उल्टो गुरुहरु एक आपसमा सिँगौरी खेल्दै दुनियालाई हँसाउँदै हुनुहुन्थ्यो ।
 
म के कुरामा विश्वास गर्छु भने, आफूसँग राम्रो जानकारी नभएको विषयमा विज्ञता हाँसिल गरेकासँग कुरा गर्नु, राय लिनु ठीक हुन्छ । त्यस्ता विज्ञहरुबीच पनि विवाद भएमा सिनियरको धारणालाई मान्नु उचित ठान्छु । सिनियरहरुबीचमा पनि कहिलेकाँही मत बाझ्न सक्छ । त्यस्तो अवस्थामा संस्थाको नेतृत्वमा रहेका व्यक्तिको धारणालाई मैले आधिकारिक रुपमा लिन्छु ।
 
संयोगवशः यो विवाद थाँतीनै रहेको अवस्थामा डा. भट्टराई नेपाल फर्कने क्रममा ड्यालस आउनुभयो । उहाँ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष हुनुहुन्छ । यो विषयमा उहाँसँग किन साक्षात्कार नगर्ने ? किनकी गुरुहरुबीचनै पर्वका विषयमा विवाद सतहमा आइसक्यो । त्यही सोचेर नेपाल अमेरिका पत्रकार संघले अगष्ट १९ तारिक सोमबार युलेसको फिस्टेल रेस्टुँरामा साक्षात्कार कार्यक्रम राख्यो । नेजाको व्यानरमा यो कार्यक्रम गरेर पर्व विवादलाई बढाउने होइन, समाधान तर्फ लैजाने र ज्योतिषशास्त्रमा तिथिको गणना, अमेरिका र नेपालमा कसरी फरक पर्छ भन्ने बारेमा अमेरिकामा रहेका नेपाली समुदायलाई सुसूचित गराउने ध्येयले कार्यक्रम गरिएको थियो ।
 
सो कार्यक्रममा पनि मुख्य वक्ताका रुपमा रहनुभएका डा. भट्टराईले बडादशैंको टीका दशमी तिथिका दिन लगाउने चलन रहेको र अमेरिकामा अक्टोबर ७ मा मात्र दशमी रहेको उल्लेख गर्नुभयो । ८ तारिकको बिहान साढे चार बजेनै एकादशी तिथि लाग्ने भएकोले ७ तारिकमै बडादशैंको टीका थाप्नु उचित हुने उहाँको धारणा थियो । यो धारणासँग कार्यक्रममा उपस्थित डा. पण्डित र निरौलामात्र नभएर अन्य थुप्रै पनि सहमत हुनुहुन्थ्यो ।
 
 
अमेरिकामा दशैंको टीकाको विवादलाई हरेकले आ–आफ्नै स्वार्थले अनुमान लगाउँदैछन् । केही भन्छन्–यो मन्दिरको राजनीति हो । अर्कातिर अझै आफूलाई जान्नेसुन्ने देखाउन सामाजीक सञ्जाल रंगाउँदै लेख्छन्–भुटानीले खेलेको खेल हो यो । अर्काथरि उपबुज्रुकहरू भन्छन्-‘राजदरबारमा छँदादेखि माधब गुरु र शेखर गुरुको जुँगाको लडाई हो यो ।’
 
एकथरिले आरोप लगाएका छन्–‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिमा आफू हुन नपाएको र मेघराज निरौला मनोनयनमा परेपछि शेखर गुरुले मच्चाएको रँडाको हो यो ।’ यो तर्क गर्नेले अप्रिल १६ मा डा. भट्टराईले क्यालेण्डर विमोचन कार्यक्रममा बोलेको कुरालाई आधार मानेका छन् । डा. भट्टराईले त्यतिखेर भन्नुभएको थियो–‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समिति गठन हुँदैगर्दा शेखर गुरु पनि नेपाल पुग्नुभएको रहेछ । म त्यतिखेर साउथ इण्डिया गएको थिएँ । उहाँ मेघराजजीभन्दा पछि जानुभएछ । म आउँदाखेरि शेखरगुरु यता आइसक्नुभएछ ।’
 
डा. भट्टराईको अघिल्तिर रहेसम्म शेखरगुरुको धारणामा कुनै तलमाथि हुँदैन । सँगै मञ्चमा रहँदा उहाँले बोल्नुभएका कुरामा दुई जनाबीच कुनै विवाद छ भन्ने कहिँकतै देखिँदैन । तर अलग हुँदा शेखरगुरुको धारणामा १८० डिग्रीको फरक आउने गरेको भुक्तभोगीहरुको अनुभव छ ।
 
‘चाडपर्व मान्ने कहिले मान्ने र कसरी मान्ने भन्दा पनि यो इस्युलाई स्थापित गर्ने र विस्थापित गर्नेमा मन्दिरका पूजारीहरु विभाजित छन् । सोही कारण दुई महिना अघि दशैं कहिले मान्ने भन्नेमा मन्दिरका पुजारीहरुबीच राय लिइएको थियो । त्यतिखेर भोटिङमा ७ तारिक दशैं मान्नुपर्छ भन्नेमा एक जना पूजारी निरौलामात्र हुनुहुन्थ्यो । बाँकी सबैजना ८ तारिकको पक्षमा थिए ।
 
तर पछि एकाएक यो समिकरण फेरियो । अन्त्र्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अमेरिका लगायत देशका लागि कुन दिन टीका लगाउने भनेर निर्णय गरेपछि असोज ८ को पक्षमा शेखर गुरुमात्र बाँकी हुनुहुन्छ ।
 
ज्योतिषीहरुले भन्दै आएका छन्–देवी विसर्जन गरेपछि दशैंको टीका पूर्णिमाको दिनसम्म लगाउन मिल्छ । कुनै साइत कुरिरहनु पर्दैन । तर बडादशैंको टीका लगाउने दशमी तिथिको दिन हो । अमेरिकामा ७ तारिक बिहान दशमी तिथि सुरु भएर ८ तारिक बिहान साढे ५ः३४ बजेसम्म रहने ज्योतिषीहरुले बताएका छन् । अमेरिकामा ७ तारिक बिहान ४ः२२ मा दशमी तिथि सुरु हुँदा नेपालमा त्यतिखेर ७ तारिककै बेलुकी  भैरहेको हुन्छ । नेपालमा ७ तारिक दिउँसो ३ः०६ मिनेटमा दशमी तिथि सुरु भएर ८ तारिक बेलुकी ४ः१९ मा समाप्त हुने ज्योतिषीहरुले बताउँदै आएका छन् । नेपाललमा ७ तारिक दिन ढल्कीसकेपछि मात्र दशमी तिथी सुरु हुने भएको र भोलीपल्ट ८ तारिक पनि उक्त तिथि रहेकाले ८ तारिकमै मनाउनु परेको ज्योतिषीहरुको भनाई छ ।
 
यदी अमेरिकाको हकमा ८ तारिक बिहानसम्म दशमी तिथी बाँकी रहन्थ्यो भने स्वभाविक रुपमा ८ तारिकमै लगाउँदा पनि फरक पर्ने थिएन । तर अमेरिकाको सेन्ट्रल टाइम अनुसार ८ तारिक बिहान ५ः३४ मै दशमी तिथि सकिएर एकादशी लागिसकेको हुन्छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका पदाधिकारीहरुका अनुसार अमेरिकाको सेन्ट्रल टाइम अनुसार ७ तारिक बिहान ४ः१९ मा दशमी सुरु भएर पुरै २५ घण्टा १२ मिनेटसम्म दशमी तिथीले व्यतीत गर्छ । उहाँहरुका अनुसार ८ तारिकको सूर्योदय हुनुभन्दा झण्डै दुई घण्टा पहिलेनै दशमी तिथीले बिदा लिइसकेको हुन्छ ।
 
यस्तो हिसाब एकजना व्यक्तिले मात्र निकालेर विवादको विषारोपण गरेको हो भन्नेमा म पटक्कै विश्वास राख्दिन । व्यक्ति गलत हुनसक्ला, तर प्रतिष्ठित दुनियाले मानेका व्यक्तिहरु भएको संस्थाले दिएको निर्णय गलत हुन्छ भन्नेमा म विश्वास गर्दिन । यदी निर्णय गलत छ भन्ने लाग्नेले गणना गरेर, तर्क गरेर हिसाब गरेमा त्यसलाई सार्वजनिक गर्दा पनि समाजको भलोनै हुनेछ ।
 
मेरो बुझाईमा ज्योतिषशास्त्रमा गालीले जित्न प्रयास गर्ने होइन, गणनाले प्रमुखता पाउँछ ।
 
म तथ्य र प्रमाणलाई आधारमा मानेर कलम चलाएर आएको हुँ। तथ्य र प्रमाण बिना अरुलाई आरोप लगाउने र दोषी करार गर्नु अपराधनै हो । त्यसो हुँदा डा. माधब भट्टराई र मेघराज निरौला, मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेललाई दोषी करार गर्न खोजिदैछ । यो नबुझेर उहाँहरु माथि जवरजस्ती आरोप थोपरिएको मात्र हो । यो विषयलाइ उचाल्नुमा उहाँहरूको व्यक्तिगत स्वार्थ केही होला भन्नेमा म चाँही विश्वास गर्दिन । 
 
नेपालीको मात्र होइन । शताव्दीदेखि अमेरिकामा बस्दै अएका भारतीय समुदायका धेरै मन्दिरहरुका क्यालेण्डरहरुमा पनि दशैंको विवाद छ । धेरैले ७ तारिकलाई दुर्गापुजाका रुपमा लिएका छन् । भारतीयले टीकाको रुपमा नभै दुर्गापूजाका रुपमा मनाउँछन् । टेक्ससकै ड्यालसको भारतीय मन्दिरले ८ तारिक र फोर्टवर्थको मन्दिरले ७ तारिकमा मनाउँदैछन् । मिचीगन र हुस्टन, अस्टिन, सिकागो, इण्डियाना, क्यालिफोर्नियाको भारतीय मन्दिरले ७ तारिक मनाउँदैछन् । नेपालीमा यसपटक देखिएको द्विविधा अवश्य पनि पछिल्ला वर्षहरूमा हट्नेछ । यो विवादले सकारात्मक र सुखद् नतिजा निकाल्ने छ ।
 
दशैंको टिका दशमीदेखि पूर्णिमासम्म जहिले लगाएपनि हुन्छ । टिका कहिले लगाउने भन्ने बारेमा नेपालभित्रै पनि फरक फरक चलन रहिआएको छ । कतै दशमीको दिनमात्र लगाइन्छ भने कतै एकादशीलाई गिद्दे एकादशी भनेर लगाइदैन । कतै दशमीको दिन चाँही दिनभरि लगाएर भोलीपल्टदेखि बिहानमात्र लगाइन्छ । तर कतै भने पूर्णिमासम्मै दिनभरिनै लगाइन्छ । अमेरिकामा पनि आफ्नो अनुकुलतामा लगाए केही फरक पर्दैन । ७ तारिकमा लगाउन मन हुनेले त्यही दिन लगाए हुन्छ । ८ तारिकमा मन लाग्नेले त्यही दिन लगाए केही फरक पर्दैन । यो विषयलाई उरालिरहनु भनेको चियाको कपमा तुफान ल्याउन खोज्नुमात्र हो ।
 
मैले असाध्यै सम्मान गर्ने गरेको प्रदीप भट्टराई दाईले आफू आवद्द अनलाइनमा दिनहुँ जसो यो विषयलाई प्रमुखताका साथ उछालिरहनुभएको छ । मिडिया मार्केटिङलाइ राम्रोसँग अनुभव गर्नुभएका, प्रयोग गरेरै यहाँसम्म अइपुग्नुभएका प्रदीप दाइले यो विषयलाइ दिनहुँ उचालेर, ड्यालसको नेपाली समुदायलाइ विभाजित गरेर नवस्थापित अफ्नो मिडियाको टिअारपी बढाउने अवसरका रूपमा प्रयोग गर्नुलाइ म पनि मास मिडियाको विद्यार्थी भएकाले अन्यथा रूपमा लिन्न ।
 
अनि उहाँका तर्कहरु पुर्ण रुपमा वेठीक छन् भन्ने पक्षमा म छैन । तर पनि उहाँका लेखहरु तिथि पर्व र तर्कहरुमा आधारित भएर भन्दा गाली, कुण्ठा, आक्रोशले भरिएका हुन् कि भन्नेमा मेरो निष्कर्श छ। माफ गर्नुहोला प्रदीप दाइ, तपाइ र डा. माधब भट्टराइका बीचमा पुर्ख्याली वैमनस्ता थियो कि भन्ने भन्ने धेरैको अनुमान छ । तर त्यसो नहोला । प्रदीप दाइ,जसरी तपाइ र उहाँबीच राजनीतिक विचारधारा मिल्दैन, मेरो पनि मिल्दैन । तर राजनीतिक धार मिलेन भन्दैमा उहाँहरूले लिएका हरेक बाटो गलत हुन्छन् भन्ने मान्यता म चाँही बोक्दिन । तपाइले लिएको राजनीतिक धारमा हिँडेका व्यक्तिहरू स्खलित भएको, पतीत भएका घटना दिनदिनै देखिरहेका छ। अर्को धार लिएका व्यक्तिहरूले समाजमा गतिलो छाप छोडिरहेको पनि हामीले देखिरहेकै छौ ।
 
कमसेकम तपाइजस्तो पत्रकारिताको गुरु, लामो समय पत्रकारितामै व्यतीत गरेको व्यक्तिबाट मैले गालीगलौज र आक्रोशले भरिएका भन्दा तर्कको अपेक्षा राख्दछु । दशैंलाइ सांस्कृतिक पर्वमात्र मान्ने पक्षमा म चाँही छैन । यो हाम्रो हिन्दु धर्म, सनातन धर्मबाट निर्देशित पर्व हो ।
 
मैले सानैदेखि जानेको र बुझ्दै आएको के हो भने दशैं पर्व साउने संक्रान्ति, माघे संक्रान्ति जस्तो होइन । यो तिथिका आधारमा मनाइन्छ । त्यही भएर कहिले असोज, कहिले कार्तिकमा पर्छ । कि ज्योतिषीहरु भन्दा यो विषयमा आफू जानकार भएर गणना गर्न सक्नुपर्यो, होइन भने ज्योतिषीहरुले भने अनुसार चल्नैपर्यो ।
 
राजनीतिमा तर्कले जित्न सकिएला, गालीले स्थापित हुन मध्दत पुग्ला र ज्योतिषशास्त्र जस्तो शुध्द विज्ञानमा संभव छैन । मलाइ लाग्छ  यसपटकको यो विवादले अागामी दिनमा परिपक्वता ल्याउनेछ । टीका ७ तारिकमा लगाउनुस् या ८ मा । अाफैँ निर्णय गर्न स्वतन्त्र छौ। जसरी निधारमा सानो टीका लगाउने कि निधारभरि भन्ने विषयमा अाफू निर्णय गर्न स्वतन्त्र छाैँ, त्यसैगरि कुन दिन लगाउने भन्ने विषयमा विवाद उरालिरहनुको मूल्य छैन । सबैलाइ बडादशैंको हार्दिक मंगलमय शूभकामना ।
 
यो पनि पद्नु होला: