मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

म वकिल किन बने ? – लीलामणि पौडेल

म वकिल किन बने ? – लीलामणि पौडेल


"मेरो पुरख्यौली घर पर्वत जिल्ला त्यहीँ जन्मे, हुर्के |कक्षा एकदेखि दशसम्मको अध्ययनमा सधैँ प्रथम भएँ | तत्काल साइन्स वा इंजिनियरिंग पढ्न चाहन्थेँ म | मेरो पिताजी घनराज उपाध्यायको व्यापार व्यवसाय थियो | उहाँ त्यतिबेला गाउँको जिम्मुवाल समेत हुनुहुन्थ्यो | 
 
अड्डा अदालतका काम कार्वाहीमा जानकारी राख्नुहुन्थ्यो | केहि जग्गा जमीन सम्बन्धी मुद्दा मामिलाहरु परेको थियो उहाँलाई | मैले एसएलसी जाँच दिइ रहेको बेला पिताजीको अचानक स्वर्गारोहण भयो | वाध्यतावश उहाँलाई परेको मुद्दा मैले सकार्नै पर्ने अवस्था थियो | यसरी म आफ्नो चाहना विपरित कानून विषय अध्ययन गर्न थालें | 
 
हुन त पिताजी छदै उस बखतका एकजना नामूद ज्योतिषले यी बाबु भविष्यमा ठूलो वकिल र न्यायाधीश हुन्छन् भनेका रहेछन | मेरो तादात्म्य उस्तै पर्यो ! 
 
कानून पढि सकेपछि पनि घरायसी कारणले गर्दा लोकसेवा पास गरी न्याय सेवामा काम गर्ने इच्छा र तयारी थियो | तर मेरा गुरु प्रोफेसर ,वरिष्ठ अधिवक्ता डा. युवराज सङग्रौंलाले तिमी जागीरमा जाने होइन वकालतबाटै राम्रो गर्न सक्छौ भन्नु भएको थियो | उहाँकै सुझावमा लागेर लोकसेवाको जाँच भन्दा पाँच दिन अगाडि सबै तयारी छोडी आफैले ल फर्म खोली सञ्चालन गरेको थिएँ | यी घटनाहरु मेरो जीवनमा अविष्मरणीय र प्रेरक बनेको छ | "
 
भर्खरै नेपाल बार एशोसिएशन महासचिवको पद भार सम्हालनु भएका लीलामणि पौडेलको चाखलाग्दो जीवनकथा नेवाएको कार्यकक्षमा सुनेपछि मैले प्रतिप्रश्न गरें – उसोभए जीवनको यो मोडमा आएर तपाईंलाई आफ्नो पेशाप्रति पछुतो छ कि , गर्व छ  ? 
नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेल
 
उहाँले वडो निर्धक्क साथ भन्नुभयो – " पश्चाताप छैन | खुशी छु | सही निर्णय गरेछु भन्ने लागेको छ | " 
 
२०२६  सालमा जन्मिनु भएका लिलामणी पौडेलले नेपाल ल क्याम्पस काठमाण्डौंबाट कानूनमा बीएल गर्नुभयो | उहाँले २०५१ देखि निरन्तर अनामनगरमा धवलागिरी कानूनी सेवा सञ्चालन गर्दे आउनु भएको छ | श्रीमती एक छोरा र छोरी सहित हाल उहाँ काठमाण्डौंमा बसोबास गर्नुहुन्छ | 
 
पौडेल IME General Insurence company, हिमालय सहकारी संस्था, आम्बा नेपाल (Association of Medical Doctors) र अन्य बैंक तथा वित्तिय संस्थामा कानूनी सल्लाहकार हुनुहुन्छ |
 
पच्चीस जनाको नेपाल वार एसोशिएसनको कार्य समितिमा जम्मा तीन सदस्य प्रजातान्त्रवादी बाहेक अरु सबै पदमा प्रगतिशील कानून व्यवसायीहरु निर्वाचित हुनुभएको छ |
 
पछिल्लो समय बार र बेन्चको मात्र कुरा होइन देशको सिङ्गो न्याय क्षेत्र धरमरयाई रहेको अवस्था छ | देशको तेस्रो ठूलो अंग स्वतन्त्र न्यायपालिका हो | केहि कानून व्यवसायी र न्यायाधीशहरुको भ्रष्ट कृयाकलापले न्याय क्षेत्र धमिलो बन्दै गएको छ | राजनीति चलखेलले गर्दा सिंगो न्यायपालिकामा राजनीति हावी भएको प्रष्ट देखिन्छ | जसले गर्दा जनताको अगाध आस्था र विश्वासको साटो अब अनास्था र निराशाहरु व्याप्त हुँदै गइरहेको स्थिति छ | 
 
यस्तोमा तीसौं वर्ष कानून व्यवसायको अनुभव हासिल गर्नु भएका नव निर्वाचित महासचिव लीलामणि पौडेलसँग यो  पंक्तिकारले नेपालमा हुँदा समसामयिक प्रसङ्गमा केहि प्रश्नहरु राखेकी थिएँ |
 
नेपाल बार एशोसिएशनको नयाँ कार्यसमितीलाई हेर्दा राजनीतिक भागबण्डा स्पष्टै देखिन्छ | अबको समयमा काम गर्न कत्तिको सजिलो छ ?
 
लीलामणि- विभिन्न राजनीतिक दलमा आस्था राख्नेले निर्वाचनको समयमा चुनाव लड्छन | तर परिणाम पछि जुनसुकै दलमा आस्था राख्ने भएपनि बार हामी सबैको साझा घर हो भनी भेदभाव नगरी काम गर्नु पर्छ | कानून व्यावसायीको हक हित, स्वतन्त्र न्यायपालिका, लोकतन्त्रको संरक्षण, मानव अधिकार र विधिको शासन को पक्षमा काम गर्ने हो | यी काम गर्दा आफु कुन समुहबाट निर्वाचित भएको थिएँ भन्ने कुराले खास फरक नपर्नु पर्ने हो | तर सरकारले गरेका अलोकतान्त्रिक र असंवैधानिक जनसरोकारका विषयमा सरकार समर्थक कानून व्यवसायीहरुको नेतृत्व रहँदा सरकारका विरूद्व बोल्न नसक्ने वा नखोज्ने प्रवृति नभएको होइन | यस्तो नहोस भन्ने मेरो मान्यता हो | 
 
तर व्यवहारमा त यो लागु छैन नि  ?
 
लीलामणि- कानून व्यवसायीलाई आवद्ध गरेर , विश्वासमा लिएर काम गर्ने निरन्तर प्रयासमा छौं | तर कहिलेकाहीँ अपवादकोरुपमा आफ्नो आस्थाको दल सरकारमा रहदा केहि प्रवाभहरु नपरेका होइनन | जस्तो अर्को दलका साथीहरुको मुद्दामा ध्यान नदिने भएको छ | समग्रमा यस्तो गरिनु हुँदैन | 
 
बार र बेन्चको सम्बन्ध किन झन बिग्रदो छ ? 
 
लीलामणि- बार र बेन्चलाई एकै सिक्काको दुई पाटा भनिन्छ | दुबैबाट जनताले सुलभ र सरल न्याय पाउन भन्ने समान उद्देश्य हुनुपर्छ | प्रायजसो दुवैको व्यक्तिगत नेतृत्वको टकरावले यस्तो भैरहेको छ | जस्तै न्यायाधीश नियुक्ति , अदालतको कामकार्वाहीबाट जनता र कानून व्यवसायीलाई  दुःख हैरान दिने , बारको भवन निर्माण सम्बन्धमा , अदालत प्रवेश गर्ने प्रसंग र बारलाई अदालतबाट टाढा राख्न खोज्ने जस्ता हेपाह प्रवृतिहरु छन | कहिलेकाहीँ कानून व्यवसायीहरुका तर्फबाट बाधा व्यवधान पुर्याएको कुरा आउँछ | सबै कानून व्यवसायी असल छन भन्ने पनि होइन | दुवै समुह आफ्नो आफ्नो अडानमा रहँदा विवाद हुने हो | सबैले पेशागत आचार संहिता राम्रोसँग पालना गर्ने हो भने त्यस्ता समस्या आउँदैनन |
महसचिवको पदभार ग्रहण गर्दै पौडेल 
 
हालै न्यायपरिषदबाट गरिएको न्यायधीश नियुक्तिको चौतर्फी आलोचना भएको छ  , नेपाल बार एशोसिएशनले यसलाई कसरी हेरेको छ ?
 
लीलामणि- अत्यन्तै उच्च नैतिक चरित्र , ज्ञान , अनुभव साथै दृढ , स्वतन्त्र र तटस्थ रहन सक्ने व्यक्ति मात्र न्यायधीश पदकोलागि उपयुक्त हुन्छ | हालै नियुक्त भएका उच्च र सर्वोच्चका केहि न्यायाधीशहरुको सामाजिक र व्यक्तिगत छवि पनि राम्रो नरहेको , ज्ञान र अनुभवको पनि कमी रहेको देखिन्छ | जसबाट सक्षम निष्पक्ष न्याय सम्पादनको आशा गर्न गारो हुन्छ | संविधानले तोकेको न्यूनतम योग्यतालाई परिचालन गरिएको छ | जबकि उच्चतम योग्यता पुगेका व्यक्तिहरू मध्येबाट नियुक्ति हुनुपर्ने हो | त्यसैले नेवाएले नियुक्ति प्रकृयाको विरोध गरेको हो |
 
यसमा व्यक्ति विशेषको विरोध भन्दा भोलिको लागि न्यायपालिका स्वतन्त्र , सक्षम , निर्भिक र उत्तरदायीपूर्ण नहोलाकि  , लोकत्रन्त नै खतरामा पर्लाकि भनेर हामीले विरोध गरेका हौं | 
 
यस अघिको बारले सुशीला कार्की प्रकरण , दिपक राज जोशी र गोपाल पराजुली प्रसंग लगायतमा आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको प्रष्ट देखिन्छ | तपाईं के भन्नुहुन्छ ?
 
लीलामणि – न्यायपालीकामा राजनीतिले स्थान नपाउनु पर्ने हो | विगतका न्यायधीश नियुक्तिमा राजनीतिक छायाँ परेका कारण कोही न्यायधीश विशेषका पक्ष वा विपक्षमा बारका सदस्यहरु विभाजित हुन पुगेका कारण त्यस्तो हुन गएको जस्तो लाग्छ | यसो हुनुमा नेपालको अन्तरिम संविधान 2062 मा व्यवस्थित न्याय परिषदको संरचना जुन हाल पनि कायम छ | साथै दोस्रो संसोधनबाट थपिएको संसदीय सुनुवाईको व्यवस्था मार्फत न्यायपालिकामा राजनीतिको सोझो हस्तक्षेप शुरू भएको देखिन्छ | राजनीतिबाट न्यायपालिकालाई अछुतो राख्न संवैधानिक प्रावधानमै संसोधनको आवश्यकता देखिन्छ | संविधान संसोधन नहुँदासम्म न्याय परिषदका अधक्ष सम्माननीय प्रधान न्यायाधीशले राजनीतिक हस्तक्षेप मुक्त न्यायपालिका बनाउन आफ्ना काम , व्यवहार र आचरणबाट न्यायधीश नियुक्ति , सरुवा , बढुवा र न्याय प्रशासनको विषयमा गम्भीर भएर काम गर्नु  जरुरी छ |
 
न्यायपालीकाको धमिलो छवि अब कसरी सङ्लेला ? आम जनताको वितृष्णा र नैराश्यताको समाधान के हो ?
 
लीलामणि – अदालत सधैँ जनताको आस्था र विश्वासमा टिक्ने संस्था हो | अदालतबाट न्याय नपाइने भए यहाँ कोहीपनि आउँदैन | अदालतले मात्र नभई हामी कानून व्यवसायीले पनि अदालतको मर्यादा राख्ने  र जनआस्था अभिवृद्दी गर्ने काम गर्नुपर्छ | 
 
कोही कानून व्यवसायीले अतिरिक्त खर्च लगायत वकिलको फी का नाउँमा ठूला रकम लिनु उचित होइन | फाँटवालादेखि न्यायधीशसम्म आर्थिक प्रलोभनमा पर्ने उदाहरणले गर्दा जनताको वितृष्णा बढेको हो की जस्तो लाग्छ | 
 
सँगसँगै संचार र सूचना प्रविधिमा भएको विकास र प्रेस स्वतन्त्रताको कारणले अदालतमा विचाराधीन कुनै मुद्दाको सम्बन्धमा सञ्चार माध्यमले नै अदालत वा न्यायाधीशलाई प्रभाव पार्ने किसिमको समाचार सम्प्रेषण गरिदिदा न्यायकर्ताले स्वतन्त्र भएर काम गर्न नसक्ने अवस्था छ | 
 
"मिडिया ट्रायल " को कारणले गर्दा आम मानिसमा सहि सूचना नपुगेको अर्थात भ्रमपूर्ण समाचार प्रकाशन भएका कारण अदालतप्रति वितृष्णा बढ्नुको त्यो पनि कारण हो | यसको निराकरणको लागि बार र बेन्च मात्र होइन सञ्चार माध्यम पनि उत्तिकै जिम्मेवार रहनु पर्छ | 
 
मिहेनती , शालीन र शिष्ट व्यक्तित्वले गर्दा लीलामणि पौडेल साथीभाइवीच प्रिय हुनुहुन्छ | आशा गरौँ उहाँको कार्यकालमा नेवाएले अवश्य नै प्रशंसनीय कामहरू गर्नेछ  | उहाँलाई सफल कार्यकालको शुभकामना !
 
(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www.himalyakhabar.com / [email protected] )