मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

डा. संजीव भन्छन् : ‘नेपालको हड्तालले विदेश ल्याइपुर्यायो

डा. संजीव भन्छन् : ‘नेपालको हड्तालले विदेश ल्याइपुर्यायो


हिमालयखबर संवाददाता-
चालीस वर्षअघिको कुरा । ललितपुरस्थित सेन्टजेभियर्स स्कुलबाट एसएलसी पास गरेपछि आईएस्सी पढ्दा कलेजमा हड्ताल भयो । पढाईलाई निरन्तरता दिन उनी संयुक्तराष्ट्र संघमा कार्यरत बुवासँगै पढ्न पाकिस्तान गए । पाकिस्तानवाट डाक्टर बनेर वीर अस्पतालमा काम गर्न सुरु गर्दा त्यहाँ पनि हड्ताल भयो । 
 
डा संजीव श्रेष्ठमा केही गरौँ भन्ने युवा जोस थियो नेपालमा हड्तालले विथल्यो । अमेरिकामा दिदी थिइन्, उनैलाई पछ्याउँदै डा संजीव अमेरिका आइपुगे । अमेरिकामा आएर आफ्नो पढाइ र पेसालाई निरन्तरता दिए । अहिले उनी टेक्ससस्थित वेयदरफोर्ड अस्पतालमा ग्यास्ट्रोलोजी केयर कन्सल्ट्यान्ट (पेट विशेषज्ञ) छन् ।
 
नेपालमा हड्तालले डा संजीवलाई मातृभूमिमा आफ्नो कामलाई निरन्तरता दिन दिएन । तर, टेक्सस ड्यालसमा नेपाली समुदायलक्षित प्रत्येक ६ सातामा हेल्थ क्याम्प आयोजना गरेर उनले निःशुल्क सेवा दिइरहेका छन् । हेल्थ क्याम्पमा डा संजीवमात्र होइन, उनको समूह नै हुन्छ । 
 
ड्यालस नेपाली मन्दिरमा नेपाली समाज टेक्ससको सहयोगमा संचालन हुने यस क्याम्पमा प्रत्येक पटक ५०/६० जना नेपालीले स्वास्थ्य परीक्षण गर्दै आएका छन् । हेल्थ क्याम्प सञ्चालन गर्दा पाएको अनुभव सुनाउँदै डा संजीव भन्छन,–‘अमेरिकामा बसोबास गर्ने आफूले जाँच गरेका नेपाली वयस्कका कोलस्ट्रोलको मात्रा बढी देखिएको छ, यसबाहेक रक्तचाप र डायवेटिज पनि धेरैमा पाइएको छ ।’ 
 
‘यसको मुख्य कारण खानपान र नियमित व्यायाम नहुनु हो’, डा संजिवले भने– ‘हामी तेल हालेको चिल्लो खाना खान्छौँ, खसीको मासु पनि मन पराउँछौ यसले कोलस्ट्रोल बढाउँछ ।’ 
 
उनको सुझाव छ– ‘स्वस्थ्य रहन नियमित शारीरिक व्यायाम र स्वस्थ्य खानपानमा ध्यान दिनैपर्छ । स्वस्थ्य रहन खानामा अन्य तेल ध्यूको सट्टा ओलिभ आइल राख्न र सातामा ६ दिन कम्तीमा आधाघण्टा व्यायाम गर्नुपर्छ ।’   
 
स्वास्थ्य परीक्षणमा आउनेबाट १० अमेरिकी डलर लिएर विभिन्न प्रकारका ल्याब टेस्ट पनि गरिन्छ, यसकै आधारमा डा संजीवले उक्त सुझाव दिएका हुन् । 
 
काठमाडौँको सेन्ट जेभियर्समा स्कुल पाकिस्तानमा एमबीबीएस पढेर २६ वर्षअघि अमेरिका आएका डा संजीव भन्छन्, ‘हामीजस्ता व्यवसायीले विदेशमा गर्ने भनेको आफ्नो समुदायलाई जानेको सेवा दिने नै हो यसैले नेपाली समाज टेक्सससँग मिलेर हेल्थ क्याप सञ्चालन गरिरहेका हौँ । हामी नेपाली समुदाय जहाँ छौँ त्यहाँ आफूले जानेको दक्षता वा विज्ञताअनुसारको सेवा दिन सकियो भने पनि धेरैलाई फाइदा पुग्छ’, उनले भने, ‘स्थानीय नेपालीका संघसंस्थामार्फत यो काम गर्न सकिन्छ ।’ 
 
उनको अहिलेको चाहना भने छ सातामा हुने हेल्थ क्याम्पलाई दुई साताको अन्तरमा झार्नेछ । यो हेल्थ क्याम्पले विशेष गरी पर्यटक भिसामा आफ्ना परिवारसँग केही समय विताउन आउने नेपाली बा–आमालाई सहयोग पुगेको छ । नेपालबाट यसरी परिवारसँग विताउन आउनेले नियमित चाहिने औषधि पर्याप्त मात्रामा ल्याएका हुँदैनन् । अमेरिकामा डाक्टरको सिफारिसबिना कुनै पनि औषधि किन्न पाइँदैन । हामीले यस्ता व्यक्तिहरुलाई जाँचेर औषधि सिफारिस गर्दा धेरैलाई फाइदा पुगेको छ,’ डा संजीवले भने । 
 
तर, उनको सुझाव छ केही समयका लागि पर्यटकका रुपमा विदेश आउँदा पर्याप्त रुपमा औषधि लिएर आउनु नै उपयुक्त हुन्छ । किन नेपाललगायत विभिन्न देशवाट बिरामी अमेरिकामा उपचार गर्न आउँछन् रु अमेरिकाको स्वास्थ्य क्षेत्रसँग झण्डै साढे दुई दसक बिताएका डा संजीव भन्छन्– ‘अलि जटिल एडभान्स उपचारका लागि विश्वमै अमेरिका सबैभन्दा राम्रो हो, नेपाल भारतजस्ता देशवाट मात्र होइन यस्तो उपचार चाहनेहरु युरोप र क्यानडाबाट समेत अमेरिका आउँछन् ।’ क्यानडा आधारभूत स्वास्थ्यमा राम्रो भए पनि एड्भान्स उपचार चाहिने अमेरिका नै आउने उनले बताए । 
 
करिब दुई वर्षअघि नेपालमा ठूलो भूकम्प जाँदा डा। संजीव चिकित्सकको समूहको नेतृत्व गर्दै नेपाल गएका थिए  त्यसबेला डा। संजीवको टोलीले काठमाडौँ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, गोरखा पुगेर दुई सातामा करिब दुईहजार पाँचसयलाई उपचार गर्यो । तर, उनी यसरी सहयोगका लागि जाँदा पनि सरकारका तर्फबाट खासै सहयोग नभएको अनुभव सुनाउँछन् । 
 
‘हामी उत्साहित भएर भूकम्पबाट प्रभावितका लागि हेल्थ क्याम्प लिएर गएका थियौँ । तर, काम गर्न सजिलो भएन बाधाहरु आए’, उनले भने । 
 
विदेशमा विज्ञता र दक्षता भएकालाई कसरी नेपाल लैजान सकिन्छ रु यो प्रश्नमा उनका आफ्नो गुनासो छ । ‘विदेशमा बसेर दक्षता हासिल गरेका सफल व्यक्तिबाट कसरी फाइदा लिने, कसरी नेपालमा ल्याउने भन्ने नेपाल सरकारमा इच्छा नै देखिँदैन’ डा संजीवले भने, ‘त्यहाँ सबैमा हामीनै जान्ने छौ भन्ने भएर हो कि किन हो ।’ 
 
हामीले नेपालमा जति काम गरेका छौँ, व्यक्तिगत प्रयासमा मात्र हो उनले भने हामी नेपालमा काम गर्न जाँदा केही सहुलियत त दिनु प¥यो नि । तर, सरकारवाट कुनै उत्प्रेरणा थप्ने कामै भएको छैन । सरकारबाट पनि विदेशमा भएका दक्ष नेपाली आएर काम गरोस् भन्ने चाहना हुनुपर्यो अब गैरआवासीय नागरिकता दिने भनिएको छ केही हुन्छ कि,’ डा संजीवले भने –‘नेपालबाट कसैले डाक्यो भने मिलाएर हामी जानसक्छौँ ।’ 
 
अमेरिका र नेपालको स्वास्थ्य क्षेत्रमा के फरक छ ? डा संजीव भन्छन्– ‘यहाँ आधुनिक प्रविधि छ, उच्च गुणस्तरका प्रयोगशालाहरु छन् उपकरणहरु छन् यी उपकरण महंगा हुन्छन नेपालमा कम उपलव्ध छन् । मैले पोखराको गण्डकी अस्पतालमा जाँदा इण्डोस्कोपी गरेको हेरेँ जम्मा एकहजार रुपैयाँमा पेटको इण्डोस्कोपी भयो । यही इण्डोस्कोपी अमेरिकामा गर्दा कम्तीमा पनि दुई हजार अमेरिकी डलर (२ लाख नेपाली रुपैयाँभन्दा बढी) पर्छ ।’ 
 
‘इण्डोस्कोपी उस्तै हो तर, अमेरिकामा अलि बढी संवेदनशील भएर गरिन्छ’,  उनले भने, ‘खर्च पनि महंगो पर्छ ।’ नेपालमा आम नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन सरकारले अनुदान दिएर भए पनि बीमा व्यवस्था गर्दा उपयुक्त हुने उनको सुझाव छ । काठमाडौमा धेरै डाक्टर छन् उनीहरुलाई बाहिर जिल्लामा पनि पठाउन सक्नुपर्यो उनले भने । 
 
विदेशमा लामो समय बस्दाको अनुभव सुनाउँदै उनी भन्छन्–‘आफू जन्मेको ठाउँको सम्झना त आइरहन्छ साथीभाइ इष्टमित्र टाढा हुन्छन् गुमाएको यही हो । जहाँ छोराछोरी जन्मेहुर्के त्यही बस्नुपर्ने रहेछ ।’
 
यहाँ पनि हाम्रो समुदायको संख्या बढिरहेको छ । मन्दिर छन्, चाडपर्व मानिन्छ, जात्रा हुन्छन् । सबैका जस्तै अमेरिकामा सुरुका केही वर्ष उनका पनि चुनौतीपूर्ण रहेका थिए । ‘मैले अमेरिकामा तालिममा मात्र १० वर्ष बिताएँ होला, १३ ठाउँमा बसाइँ सरें,’ डा संजीव भन्छन्– ‘आफ्नो करियरलाई फाइदा हुन्छ भने यही ठाउँमा बस्छु भनेर हुँदैन ।’
 
डा संजीव आफू बस्ने पार्कर काउण्टी मेडिकल सोसाइटीका अध्यक्ष पनि भएका थिए । दुई सन्तानका पिता डा संजीव संगीतका सौखिन पनि हुन् । उनी गितार बजाउँछन् । व्यायाम गर्नुपर्छ भनेर अरुलाई भन्ने होइन आफू पनि गर्छन् ।