मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पानी अभावले निजी आवास पुनर्निर्माणमा सकस

पानी अभावले निजी आवास पुनर्निर्माणमा सकस


बुंकोट (गोरखा) । बुंकोट–४ की हिमकुमारी खनालले घर बनाउन काठ, ढुङ्गा, गिट्टी, बालुवा, इँट्टा, छड र काम गर्ने कामदारसहित ठेकेदार खोजिसक्दा पनि खुरुखुरु घर बनाउन पाएका छैनन् । 
 
‘घर बनाउने सबै सरसामान जुटाएँ । पानीको अभावले खै र घर बनाउन पाएको ?’, घर बनाउन किन ढिलाइ गरेको भन्ने प्रश्नमा खनालको भनाइ छ, ‘घर नबनाऊँ भने टहरोमा कतिन्जेल बसूँ ? बनाऊँ भने पानी छैन, कसरी बनाउने ?’, निजी आवास निर्माणलाई सरकारले दिएको रु ५० हजार पहिलो किस्ता बुझिसकेको भए पनि पानीको अभावले घर बनाउने आँट नआएको उनको भनाइ छ ।
 
पानी अभाव भए पनि घर बनाउन कम्मर कसेर लाग्नुभएका बुंकोट–४ का गुणकान्त खनाल आधाआधी घर निर्माण नहुँदै आजित भइसक्नुभएको छ । ट्याङ्करमा बोकेको पानीले घर बनाउन नसकिने जनाउँदै उनले भने, ‘एक तला घर बनाउँदा चार ट्यांकर पानी सकियो ।’ 
 
एक ट्यांकर पानी ल्याउँदा रु चार हजार पाँच सय बुझाउनुपर्ने खनालको भनाइ छ । एउटा घर निर्माण गर्दा कम्तीमा रु एक लाखको पानी खरिद गर्नुपर्ने भएपछि बुंकोटवासी समस्यामा छन् । 
 
वरपर खोलानाला नभएको सुख्खा डाँडामा बुंकोटका बस्ती छरिएर रहेका छन् । अधिकांश भूकम्पपीडित लाभग्राहीले पानीकै समस्याले गर्दा घर निर्माण सुरु नगरिएको जिकिर गर्छन् । बुंकोट–३ का मधुकर वन्तले पानीको समस्या हल नहुँदासम्म टहरामै दुःखजेलो गरी बस्ने अठोट लिएका छन् । ‘खानेपानी लिन पनि भिडभाड हुने धाराबाट पानी बोकेर घर कसरी घर बनाउने ?’, उनले भने, ‘जति हिउँद छिप्पिँदै गयो उति पानीको अभाव खड्किँदै जान्छ, घर थाले पनि पूरा गर्न सकिँदैन ।’ 
 
छिटो घर बनाएर बस्ने धोको भए पनि पानी कुर्दा केही महिना अझै टहरामै बस्नुपर्ने अवस्था देखिएको वन्तको भनाइ छ । बुंकोटका खाब्दी, पोखरीडाँडा, जोगीडाँडा र  मैलुङ क्षेत्रमा भूकम्पले घर ध्वस्त बनाएको थियो । यी भेगमा पानी समस्या पहिलदेखिकै हो । पानीको अभावले गर्दा भनेका बेला भूकम्प प्रभावितले घर बनाउने काम गर्न पाएका छैनन् ।
 
भूकम्पको केन्द्र बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, बुंकोट, बोर्लाङ, नाम्जुङ, फुजेल, ताक्लुङलगायत क्षेत्रमा पानीको अभाव चुलिँदो छ । पानीको अभाव टार्न भन्दै केयर नेपालले करिब रु तीन करोड ५० लाख लगानी गरी बारपाकमा खानेपानी योजना अघि बढाएको छ । 
 
नेपाल स्वास्थ्यका लागि पानी नेवामार्फत बर्खाको पानी घँैटोमा सङ्कलन गर्ने योजना पनि गाउँ गाउँमा विस्तार गरिएको छ । जिल्लाका ५८ हजार पाँच सय तीन भूकम्पपीडित लाभग्राहीमध्ये ५४ हजार जनाले रु ५० हजारका दरले निजी आवास निर्माण गर्न बैंकमार्फत अनुदान रकम बुझिसकेका छन् ।
 
अनुदान पाएका सबै भूकम्पपीडितले पानी, काठ, कामदार अभावले गर्दा घर बनाउन पाएका छैनन् । जिल्लाभर करिब तीन हजार  घर निर्माणाधीन रहेको र सोह्र सय जनाले दोस्रो किस्ता जिकिर गरेको जिल्लास्थित भवन डिभिजन कार्यालयले जनाएको छ । रासस