मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता

परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् रोल्पाका जनता


रोल्पा । यस जिल्लामा अझै पनि कतिपय दम्पती परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् । 
 
लिबाङ नगरपालिका–५ देउरालीकी ४१ वर्षीया गौसरी वली र उनका श्रीमान् ४८ वर्षीय खटकलाल वलीले छोराको आशमा १२ सन्तानको जन्म दिइसकेका छन् । तीन सन्तानको सानैमा मृत्यु भएको भए पनि वली दम्पतीका ९ सन्तान छोरीहरु जीवितै छन् । कमजोर आर्थिक अवस्था रहेका वली दम्पतीले अझैपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमानेको महिला स्वास्थ्य स्वयंसेविका सुनिता महराले जानकारी दिए । 
 
उनका अनुसार वली दम्पतीका जेठी छोरीको करिव ४ वर्ष पहिले विवाह भइसकेको छ । हाल उनबाट छोरा जन्मिसकेको छ । तर पनि वली दम्पतीबाट सन्तान जन्मने प्रकृया रोकिएको छैन । 
 
“आमाछोरी सँगसँगै सुत्केरी हुन्छन्,” वली परिवारका छिमेकीले भन्छन् । वली दम्पतीले छोराको आशमा परिवार नियोजनका साधनहरु प्रयोग नगरेको महिला स्वास्थ्य स्वयंसेविका महराले जानकारी दिए । 
 
त्यसैगरी, लिबाङ–१ रोल्पाका ४० वर्षीया कली रोका र उनका श्रीमान् ४५ वर्षीय गने रोकाले परिवार नियोजनका साधन प्रयोग नगर्दा नौ सन्तानको जन्म दिइसकेका छन् । तीमध्ये तीन सन्तानको मृत्यु भएको भएपनि हाल रोका दम्पतीका छ सन्तान जीवितै छन् । उहाँहरुको पनि जेठी छोरीको विवाह भएर दुई सन्तान ९नातिनातिनी० जन्मिसकेका छन् । यता, रोका दम्पतीको सन्तान जन्माउने प्रकृया रोकिएको छैन । गतः मङ्सिर महिनामा कली पुनः सुत्केरी भएक छन् । यसरी कली लगातार सुत्केरी हुन थालेपछि महिला स्वास्थ्य स्वयंसेविकाले उनीहरुको घरमै पुगी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । कलीले तीनमहिने सुइ डिपो लगाए तर सुइले असर गरेको भन्दै साधन प्रयोग गर्न छोडेपछि कलीको पछिल्लो गर्भ रह्यो र छोरीे जन्मियो । 
 
महिला स्वास्थ्य स्वयंसेविकाका अनुसार रोका दम्पतीलाई पटकपटक घरमै पुगी परिवार नियोजनका साधनको प्रयोग गर्न सल्लाह दिँदै आएको भए पनि उनीहरुले त्यसमा विश्वास गरेका छैनन् । 
 
करिव २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी कलीले परिवार नियोजनका साधन प्रयोग नगर्दा दुई–दुई वर्षको अन्तरालमा बच्चा जन्माउदै आएकी छन् । 
 
लिबाङ–४ रोल्पाकी ३९ वर्षीया विष्णु रावत र उनका ४० वर्षीय श्रीमान् हर्कबहादुर रावतका पनि ४ भाइ छोरा र ३ बहिनी छोरी गरी ७ जना सन्तानले घर भरिएको छ । जेठी छोरीको दुई वर्ष पहिले विवाह भइसकेको भए पनि रावत दम्पतीले परिवार नियोजनका साधन प्रयोग नगर्दा उनीहरुको पनि बच्चा जन्मने प्रकृया रोकिएको छैन । 
 
जेठी छोरीको विवाह भएको करिव एक वर्षपछि विष्णुले कान्छी छोरीको जन्म दिएको महिला स्वास्थ्य स्वयंसेविका अनिता रावतले जानकारी दिए । उनका अनुसार हुर्किसकेका सन्तानले बाबुआमालाई अब बच्चा नजन्माउन सल्लाह दिँदै आएका छन् । तर पनि रावत दम्पतीमा साधन प्रयोग नगर्दा बिरामी परिने डर रहेको छ । ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका रावतका श्रीमान् हर्कबहादुरमा साधनको प्रयोगबाट स्वास्थ्य कमजोर पो भइहाल्ला कि भन्ने चिन्ता छ । 
 
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वार्षिक प्रतिवेदन अनुसार २०७०/७१ मा ४७ प्रतिशत, २०७१/७२ मा ३९ प्रतिशत र २०७२/७३ मा ३७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनहरुको प्रयोग गर्दै आएका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि हुँदै जानुको साटो घट्दै गएको देखिन्छ । 
 
यस जिल्लामा सन् २०१७ सम्ममा परिवार नियोजनको प्रयोगदर ६० पु¥याउने सरकारको लक्ष्य रहे पनि हालसम्म यो सङ्ख्या आधाआधीकै हाराहारीमा छ । 
 
यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी वैदेशिक रोजगारीमा श्रीमान्हरु जाने भएकाले परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउँछन् । डाँगीका अनुसार मदिरा सेवन र छोरा जन्माउने लालसा सङ्ख्या कमी हुनुका अन्य कारण हुन् । रासस