मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालमा निःशुल्क उपचार गर्न कोष गठन

भरतपुर अस्पतालमा निःशुल्क उपचार गर्न कोष गठन


चितवन । भरतपुर अस्पताल विकास समितिले गरिब, विपन्न तथा असहायहरुको निःशुल्क उपचार गर्न ‘गरिब तथा विपन्न नागरिक उपचार कोष’ गठन गरेको छ । यो कोष गठन गरेको २ महिना पूरा भएको छ ।
 
‘दुई महिनाको अवधिमा १० लाख ५६ हजार रूपैयाँ जम्मा भएको छ । यो कोषमा रकम जम्मा हुने क्रम बढ्दो गतिमा छ’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले भने, ‘तनहुँका अति विपन्न परिवारका बिरामी कमानसिंह गुरूङको उपचारमा करिब ५० हजार कोषको रकम खर्च गर्नुपर्ने देखिन्छ ।’
 
डा मरासिनीका अनुसार सरकारले विपन्नको उपचारमा दिने निःशुल्क कार्यक्रमलाई नागरिक उपचार कोषले पूर्णता दिने बताए । ‘सरकारले दिने निःशुल्क उपचारको कार्यक्रम पूर्ण छैन । त्यो अपूर्ण कार्यक्रमलाई उपचार कोषले पूर्ण गर्ने छ’ डा मरासिनीले भने, ‘कुनै कारणवस् उपचार गर्दागर्दै बिरामीको खर्च सकियो र बीचमै उपचारको काम रोकियो भने त्यस्तो बेला कोषको रकम प्रयोग गरिन्छ ।’
 
कोषमा जम्मा हुने रकम अत्यन्तै पारदर्शी हुने डा मरासिनीले बताए । ‘कोषमा जम्मा हुने रकमको ‘पव्लिक अडिटिङ’ हुन्छ । कसले कति पैसा दियो र कति रकम कुन बिरामीमा खर्च भयो सबै छ्याङ्ग गरिन्छ’ डा मरासिनीले भने, जम्मा भएको रकम र खर्च गरिएको रकम अस्पतालको सूचना पाटीमा र वेभसाइटमा राखिन्छ ।’
 
कोषमा चितवन जापान समाजले ९ लाख, बेल्जियम सहयोग संस्थाले ९० हजार र अस्पतालका पूर्वअध्यक्ष विजय सुबेदीबाट व्यक्तिगत रुपमा २५ हजार ५०० रुपैयाँ सहयोग भएको अस्पतालले जनाएको छ ।